माछापुच्छ्रे बैंकले ग्राहकलाई थप स्मार्ट, सहज तथा ग्राहकमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले नयाँ ग्राहक सेवामुखी च्याटबोट ‘माया’ सार्वजनिक गरेको छ।
बैंकले आफ्नो निरन्तर प्रविधिमैत्री सेवाअनुरूप नयाँ ग्राहक सेवामुखी च्याटबोट ‘माया’ औपचारिक रूपमा सार्वजनिक गरेको हो। बैंकको आधिकारिक वेबसाइटमा ‘माया’ को आइकन राखिएको छ। सोहीमार्फत ग्राहकले आफ्ना जिज्ञासा च्याटमार्फत राख्न सक्नेछन्।
ग्राहकलाई प्राथमिकतामा राखेर विकास गरिएको ‘माया’ अन्तरक्रियात्मक डिजिटल प्लेटफर्म हो। नियमित बैंकिङसम्बन्धी जानकारीका लागि शाखा पुग्नुपर्ने वा बैंक कर्मचारीसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने आवश्यकता कम गर्दै आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यसको विकास गरिएको बैंकले जनाएको छ।
‘माया’ को सुरुवातसँगै प्रविधिको प्रभावकारी प्रयोगमार्फत दक्ष तथा ग्राहकमैत्री बैंकिङ अनुभव सिर्जना गर्दै स्मार्ट बैंक बन्ने बैंकको दृष्टिकोणमा थप सहयोग पुग्ने बैंकको विश्वास छ।
साथै, ग्राहकका जिज्ञासालाई थप सटीक, सान्दर्भिक र प्रभावकारी रूपमा सम्बोधन गर्न ‘माया’ को क्षमता तथा कार्यसम्पादनमा निरन्तर सुधार तथा परिष्कृत गर्दै लैजाने बैंकले जनाएको छ। ग्राहकबाट प्राप्त सुझाव तथा प्रयोगबाट सिक्दै भविष्यमा यसको शुद्धता र उपयोगिता थप अभिवृद्धि गरिने बैंकले जनाएको छ।

