नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा पूर्वप्रतिनिधिसभा सदस्य डा. सुनिलकुमार शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले पार्टीलाई नयाँ ऊर्जा र दिशासहित अघि बढाउँदै राष्ट्र निर्माणमा योगदान गर्ने उद्देश्यले महामन्त्रीमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताएका छन्।
शर्माले प्रेस विज्ञप्तिमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै नेपाली कांग्रेसको महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने औपचारिक प्रक्रिया मात्र नभई पार्टीको आगामी दिशा र राष्ट्र निर्माणको संकल्प तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने धारणा राखेका छन्।
उनका अनुसार नेपाली कांग्रेस स्थापनाका क्रममा नेपाली जनता र देशले पार्टीप्रति राखेको विश्वास, भरोसा र अपेक्षालाई आगामी नेतृत्वले अझ बलियो बनाउन आवश्यक छ। संस्थापक नेता बीपी कोइरालाले देखाएको राजनीतिक उद्देश्य र पार्टीप्रतिको जनविश्वासलाई कायम राख्दै कांग्रेसलाई जनताले गौरव गर्न सक्ने राजनीतिक शक्तिका रूपमा विकास गर्नुपर्ने शर्माको भनाइ छ।
शर्माले पार्टीभित्र विगतमा भएका कमजोरी र कमीकमजोरीबाट पाठ सिक्दै अब नयाँ सोच र योजनाका साथ अघि बढ्नुपर्ने बताएका छन्। उनका अनुसार बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक परिस्थितिअनुसार कांग्रेसले आफूलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता छ।
उनले युवा पुस्ताको ऊर्जा र अनुभवी पुस्ताको ज्ञान तथा राजनीतिक अनुभवलाई एकै ठाउँमा जोडेर पार्टीलाई अघि बढाउने आफ्नो प्राथमिकता रहेको बताएका छन्। कांग्रेसभित्र पुस्तान्तरण र अनुभवबीचको समन्वय आवश्यक रहेको उल्लेख गर्दै शर्माले नवयुवा तथा परिपक्व पुस्तालाई साथमा लिएर पार्टीलाई राष्ट्र निर्माणको अभियानसँग जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, नेता तथा कार्यकर्ताबीच पार्टी निर्माण र राष्ट्र निर्माणलाई साझा उद्देश्य बनाउनुपर्नेमा पनि उनले जोड दिएका छन्। उनका अनुसार कांग्रेसको आन्तरिक संगठनलाई बलियो बनाउँदै पार्टीलाई जनतासँग थप नजिक लैजान सके मात्रै राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका प्रभावकारी बनाउन सकिन्छ।
महामन्त्री पदमा निर्वाचित भए पार्टी संगठनलाई सुदृढ बनाउने र पार्टीको माध्यमबाट राष्ट्र निर्माणमा योगदान पुर्याउने शर्माले बताएका छन्। उनले आफ्नो उम्मेदवारीलाई पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम समर्थकले सकारात्मक रूपमा लिने विश्वाससमेत व्यक्त गरेका छन्।
शर्माको उम्मेदवारी घोषणासँगै कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ। महाधिवेशनमा नेतृत्वका विभिन्न पदमा आकांक्षीहरूले आफ्नो दाबी प्रस्तुत गर्ने क्रम जारी रहेका बेला शर्माले औपचारिक रूपमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन्।
पूर्वप्रतिनिधिसभा सदस्यसमेत रहेका शर्मा नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य हुन्। महामन्त्री पदमा उनको उम्मेदवारीले पार्टीभित्र संगठन सुदृढीकरण, पुस्ताबीचको समन्वय र राष्ट्र निर्माणको मुद्दालाई प्राथमिकतामा राखेर नेतृत्वमा आउने उनको प्रयासलाई स्पष्ट पारेको छ।

