राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो राजनीतिक परिवर्तनले देशको अवस्थामा अपेक्षित सुधार ल्याउन नसकेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा अतिथिका रूपमा सम्बोधन गर्दै उनले मुलुक झन् राजनीतिक अस्थिरता र अन्योलतर्फ धकेलिएको टिप्पणी गरे।
लिङ्देनले करिब पाँच वर्षअघि कांग्रेसको १४औँ महाधिवेशनमा आफूले दिएको अभिव्यक्ति स्मरण गर्दै त्यसबेलाको जनअसन्तुष्टि र अहिलेको परिस्थितिमा खासै भिन्नता नरहेको बताए। उनका अनुसार त्यसबीच राजनीतिक पात्रहरू परिवर्तन भए पनि जनतामा नेताप्रतिको वितृष्णा र अविश्वास घट्न सकेको छैन।
“पात्र फेरियो, प्रवृत्ति फेरिएन,” भन्दै उनले सरकार वा नेतृत्व परिवर्तन मात्र समस्याको समाधान हुन नसक्ने धारणा राखे। उनका अनुसार पछिल्लो समय देशको राजनीतिक अवस्था थप तरल बनेको छ र मुलुक सही दिशामा अघि बढ्न नसकी ‘अँध्यारो सुरुङ’तर्फ प्रवेश गरेको अवस्था छ।
लिङ्देनले विगतमा सरकारको आलोचना गर्दा आउने प्रतिक्रियाको स्वरूप फेरिए पनि असहमतिप्रति सहिष्णुता बढ्न नसकेको बताए। उनका अनुसार माध्यम र पात्र परिवर्तन भए पनि राजनीतिक संस्कारमा अपेक्षित परिवर्तन देखिएको छैन।
उनले संविधानलाई अपरिवर्तनीय दस्तावेजका रूपमा लिन नहुने धारणा पनि राखे। संविधान समयअनुकूल संशोधन र सुधार गर्न सकिने दस्तावेज भएको उल्लेख गर्दै उनले व्यवहारमा देखिएका कमजोरी पहिचान गरी आवश्यक सुधार गर्नुपर्ने बताए।
“संविधान गीता, बाइबल वा पुराण होइन, छुनै नहुने दस्तावेज होइन,” भन्ने आशय व्यक्त गर्दै लिङ्देनले अहिले देखिएका त्रुटिलाई सच्याउँदै अघि बढ्नुपर्ने बताए।
उनले राजनीतिक निषेधको अभ्यासले लामो समयसम्म देशलाई निकास दिन नसक्ने दाबी गरे। विगतमा राजतन्त्र र राजनीतिक दलबीच देखिएको दूरी तथा निषेधको राजनीतिबाट मुलुकले पाठ सिक्नुपर्ने उनको भनाइ थियो।
लिङ्देनले अब नयाँ राष्ट्रिय समझदारी निर्माण गर्नुपर्नेमा जोड दिए। उनका अनुसार मुलुकको निकासका लागि राजनीतिक दल, राजा र नयाँ पुस्तासहित विभिन्न राजनीतिक शक्तिबीच संवाद र सहमतिको वातावरण बनाउन आवश्यक छ।
उनले कसैको हार–जितभन्दा माथि उठेर राष्ट्रिय हितलाई केन्द्रमा राखी सहमति निर्माण गर्नुपर्ने बताए। “कसैले नहार्ने र सिंगो देशले जित्ने” प्रकारको राजनीतिक समझदारी अहिलेको आवश्यकता भएको उनको निष्कर्ष थियो।

