दसैँ नजिकिएसँगै हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा पोखरा भित्रिन थालेका छन्। दसैँमा च्याङ्ग्राको मासुको माग बढ्ने भएकाले व्यापारीहरू बर्सेनि हिमाली क्षेत्र पुगेर भेडा–च्याङ्ग्रा खरिद गरी पोखरा ल्याउने गर्छन्। यस वर्ष पनि पहिलो लटमा डोल्पाबाट च्याङ्ग्रा लिएर व्यवसायीहरू पोखरा आइपुगेका छन्।
डोल्पाका च्याङ्ग्रा लिएर व्यवसायी मीनप्रसाद बोहरा यस वर्षको पहिलो लटमा पोखरा आएका हुन्। उनले पोखरा–१६, सिम्पानी जौबारीमा च्याङ्ग्रा बिक्रीका लागि राखेका छन्। उनका अनुसार च्याङ्ग्राको मूल्य आकार र तौलअनुसार २१ हजारदेखि ४० हजार रुपैयाँसम्म रहेको छ।
बोहरा विगत तीन वर्षदेखि दसैँको समयमा भेडा–च्याङ्ग्रा लिएर पोखरा आउने गरेका छन्। यस वर्ष उनले डोल्पाबाट १ सय वटा भेडा–च्याङ्ग्रा पोखरा ल्याएका छन्। दसैँको मुख्य समय नजिकिँदै जाँदा ग्राहकको माग बढ्ने उनको अपेक्षा छ।
“हिमाली जिल्लाबाट च्याङ्ग्रा ल्याएर पोखरामा बिक्री गर्दै आएका छौँ। यस वर्ष पनि सुरुवाती चरणमै च्याङ्ग्रा ल्याएका हौँ,” बोहराले बताए।
व्यापारीहरूका अनुसार यस वर्ष मुस्ताङ, बझाङ, हुम्ला, डोल्पालगायत हिमाली क्षेत्रबाट १० हजारभन्दा बढी भेडा–च्याङ्ग्रा पोखरा भित्रिन सक्ने अनुमान छ। दसैँको समयमा पोखरा र आसपासका क्षेत्रमा च्याङ्ग्राको माग उच्च हुने भएकाले विभिन्न जिल्लाबाट व्यापारीहरूले च्याङ्ग्रा संकलन गरिरहेका छन्।
तर यस वर्ष च्याङ्ग्रा पोखरा ल्याउने प्रक्रियामा भने केही कठिनाइ देखिएको छ। गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बेनी–जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा मुस्ताङबाट अघिल्ला वर्षमा जस्तै ठूलो संख्यामा च्याङ्ग्रा गाडीमार्फत पोखरा ल्याउने अवस्था कमजोर बनेको व्यापारीहरू बताउँछन्।
सडकमार्ग सहज नभएपछि कतिपय व्यापारीले च्याङ्ग्रा पैदल हिँडाएरै पोखरातर्फ ल्याउनुपर्ने भएको छ। हिमाली क्षेत्रबाट लामो दूरी पैदल हिँडाएर ल्याउनुपर्ने भएकाले यस वर्ष भेडा–च्याङ्ग्रा पोखरा आइपुग्न विगतका वर्षको तुलनामा केही ढिलाइ हुने देखिएको छ।
दसैँका लागि पोखरामा हरेक वर्ष हिमाली जिल्लाका च्याङ्ग्राको ठूलो कारोबार हुने गर्छ। स्थानीय बजारमा च्याङ्ग्रा भित्रिन थालेसँगै दसैँको किनमेलको रौनकसमेत बढ्न थालेको छ। अबका दिनमा थप व्यापारी र च्याङ्ग्रा पोखरा भित्रिएसँगै बजारमा कारोबार बढ्ने व्यवसायीहरूको अपेक्षा छ।
यस वर्ष सडकको अवस्थाका कारण आपूर्ति प्रभावित भए पनि दसैँ नजिकिँदै जाँदा पोखरामा च्याङ्ग्राको संख्या बढ्ने देखिएको छ। हिमाली भेगबाट आउने च्याङ्ग्राको माग र आपूर्तिले आगामी दिनमा बजार मूल्यसमेत निर्धारण गर्ने व्यवसायीहरूको भनाइ छ।


