नेपाल सेयरधनी संघले आधारभूत सेयरधनीले आफ्नो सेयर बिक्री गर्नुअघि १५ दिन अगावै सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्थामा पुनर्विचार गर्न नेपाल धितोपत्र बोर्डसँग माग गरेको छ। संघले उक्त व्यवस्थाको उद्देश्यप्रति सहमति जनाउँदै यसको कार्यान्वयन गर्ने तरिकाले दोस्रो बजारका साना लगानीकर्तालाई समेत असर पार्न सक्ने भन्दै संशोधनको आग्रह गरेको हो।
नेपाल धितोपत्र बोर्डले २०८३/०५/०९ मा जारी गरेको पत्रको बुँदा नं. १ मा सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि १५ दिन अगावै सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था गरेको छ। बोर्डको उक्त प्रावधानले सेयर बजारमा हुने ठूला कारोबारबारे लगानीकर्तालाई पूर्वजानकारी उपलब्ध गराउने उद्देश्य राखेको देखिन्छ।
तर नेपाल सेयरधनी संघले भने व्यवस्था लागू गर्ने तरिकामाथि प्रश्न उठाएको छ। संघका अनुसार पारदर्शिता र ठूला कारोबारबारे जानकारी सार्वजनिक गर्ने उद्देश्य उचित भए पनि यो व्यवस्था दोस्रो बजारबाट सेयर खरिद गरेर पछि आधारभूत सेयरधनी बनेका लगानीकर्तामाथि समान रूपमा लागू गर्नु उपयुक्त नहुने उसको धारणा छ।
संघले विशेषगरी ठूलो परिमाणमा संस्थागत वा प्रमोटर सेयर बिक्री हुने अवस्थालाई पारदर्शिताको दायरामा राख्नुपर्नेमा जोड दिएको छ। बजारमा ठूलो प्रभाव पार्न सक्ने कारोबारको जानकारी लगानीकर्तालाई समयमै उपलब्ध गराउनु आवश्यक भए पनि दोस्रो बजारबाट सेयर खरिद गरेका आधारभूत सेयरधनीलाई समेत १५ दिनअघि सूचना दिन बाध्य पार्दा व्यवहारिक समस्या उत्पन्न हुन सक्ने संघको भनाइ छ।
संघले यस्तो प्रावधानका कारण बजारमा अनावश्यक हल्ला फैलिन सक्ने सम्भावनासमेत औँल्याएको छ। कुनै आधारभूत सेयरधनीले सेयर बिक्री गर्न लागेको सूचना सार्वजनिक भएपछि त्यसलाई लगानीकर्ताले नकारात्मक रूपमा बुझ्न सक्ने र त्यसको प्रभाव सम्बन्धित कम्पनीको सेयर मूल्यमा पर्न सक्ने संघको दाबी छ।
विशेषगरी ‘ठूला लगानीकर्ता सेयर बेचेर बाहिरिँदै छन्’ भन्ने मनोविज्ञान विकास भएमा कम्पनीको वास्तविक वित्तीय अवस्था वा व्यावसायिक आधारभन्दा हल्लाका कारण सेयर बिक्री बढ्न सक्ने संघले जनाएको छ। यस्तो अवस्थामा बजारमा अस्थिरता बढ्नुका साथै साना तथा व्यक्तिगत लगानीकर्ता बढी प्रभावित हुन सक्ने संघको भनाइ छ।
संघले संस्थागत पारदर्शितालाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै ५ प्रतिशतभन्दा बढीको ठूलो परिमाणमा हुने संस्थागत वा प्रमोटर सेयर बिक्रीलाई केन्द्रमा राखेर सूचना प्रणाली विकास गर्नुपर्ने सुझाव दिएको छ।
यसै आधारमा संघले बोर्डलाई २०८३/०५/०९ मा जारी गरिएको पत्रको बुँदा नं. १ संशोधन गर्न आग्रह गरेको छ। दोस्रो बजारमा सेयर खरिद गरी आधारभूत सेयरधनी बनेका लगानीकर्ताको हकमा १५ दिनअघि सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था लागू नहुने गरी निर्देशिका तत्काल सच्याउन संघले माग गरेको हो।
साथै, संशोधित व्यवस्थाबारे लगानीकर्तामाझ स्पष्ट जानकारी गराउन पनि संघले बोर्डसमक्ष अनुरोध गरेको छ। संघका अनुसार स्पष्ट र व्यवहारिक व्यवस्था कायम गरिएमा पारदर्शिता बढाउनुका साथै अनावश्यक भ्रम र बजार अस्थिरताको जोखिमसमेत कम गर्न सकिनेछ।

