चाडपर्व नजिकिँदै गर्दा बजारमा व्यापारको चहलपहल बढ्नुपर्ने समय हो। तर यसपटक चीनसँग जोडिएका उत्तरी व्यापारिक नाका लामो समयदेखि बन्द हुँदा नेपाली व्यवसायी उल्टै अनिश्चितताको सामना गरिरहेका छन्। सामान आयात हुन नसक्दा बजारमा अभाव देखिन थालेको छ भने त्यसको प्रत्यक्ष असर व्यापार, सवारीसाधनको डेलिभरी र सरकारी राजस्व संकलनमा परेको छ। नेपाल–चीन व्यापारका प्रमुख प्रवेशद्वार रसुवागढी र तातोपानी नाका अवरुद्ध हुँदा आयातको नियमित चक्र नै प्रभावित भएको हो। रसुवागढी नाका गत भदौ १० गते भोटेकोसीमा आएको बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। तातोपानी नाकामा भने बाढीबाट ठूलो क्षति नभए पनि चीनतर्फबाट गत भदौ १२ गतेदेखि नाका बन्द गरिएको छ।
उत्तरी नाका सञ्चालनमा आउन नसकेपछि विकल्पका रूपमा प्रयोग गर्न खोजिएको मुस्ताङको कोरला नाका पनि कालीगण्डकीमा आएको बाढीका कारण अवरुद्ध बनेको छ। यसले चीनबाट नेपालमा हुने स्थलमार्ग हुँदैको आयात थप कठिन बनाएको छ।तातोपानी नाका खोल्न नेपाली पक्षले निरन्तर पहल गरिरहेको छ। गत सोमबार परराष्ट्र मन्त्रालय, नेपालस्थित चिनियाँ दूतावास, भन्सार विभाग र सडक विभागका प्रतिनिधिसहितको टोलीले नाकाको स्थलगत निरीक्षणसमेत गरेको थियो। निरीक्षणपछि चिनियाँ पक्षबाट नाका छिट्टै सञ्चालनमा आउने संकेत दिइए पनि अहिलेसम्म औपचारिक जानकारी नआएको भन्सार विभागका निर्देशक किशोर बर्तौलाले बताएका छन्। उनका अनुसार नेपाली पक्षबाट नाका सञ्चालनका लागि निरन्तर प्रयास भइरहेको छ। तर चिनियाँ पक्षबाट ठोस प्रतिक्रिया नआएकाले नाका कहिले खुल्छ भन्ने यकिन हुन सकेको छैन।
राजस्वमा समेत दबाब
उत्तरी नाका बन्द हुँदा त्यसको असर व्यापारमा मात्र सीमित छैन। आयात घटेसँगै सरकारले संकलन गर्ने भन्सार तथा अन्य राजस्वमा समेत प्रभाव परेको छ। चालू आर्थिक वर्षको भदौसम्म रसुवा नाकाबाट ७ अर्ब ९१ करोड ७२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो भने करिब १२ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो। सामान्य अवस्थामा भने रसुवागढीबाट वार्षिक रूपमा करिब एक खर्ब रुपैयाँ बराबरको व्यापार हुने गरेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै रसुवा नाकाबाट ४५ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो। तर बाढीका कारण पुललगायत पूर्वाधारमा क्षति पुगेपछि रसुवागढी नाका करिब ६ महिनासम्म पूर्ण रूपमा सञ्चालन हुन सकेको थिएन। तातोपानी नाकाको अवस्था पनि उस्तै चिन्ताजनक छ। गत आर्थिक वर्षमा उक्त नाकाबाट करिब ४७ अर्ब रुपैयाँ बराबरका वस्तु आयात भएका थिए। चालू आर्थिक वर्षको भदौसम्म भने त्यहाँबाट करिब ८७ करोड रुपैयाँ बराबरको मात्र आयात भएको छ।
अटो बजारमा बुकिङको दबाब
उत्तरी नाका बन्द हुँदा सबैभन्दा प्रत्यक्ष असर देखिएको क्षेत्रमध्ये अटो बजार पनि एक हो। आर्थिक वर्षको सुरुआतमै काठमाडौंमा भएका दुई ठूला अटो प्रदर्शनीमा हजारौँ सवारीसाधन बुकिङ भएका थिए। गत साउन २६ देखि ३१ गतेसम्म नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा ५ हजारभन्दा बढी चारपांग्रे तथा दुईपांग्रे सवारीसाधन बुकिङ भएको थियो। त्यसको केही समयपछि भदौ ९ देखि १४ गतेसम्म भएको ‘नाडा अटो सो २०२६’ मा पनि ठूलो संख्यामा सवारीसाधन बुकिङ भएका थिए।
चाडपर्वलाई लक्षित गरी गरिने यस्ता बुकिङअनुसार व्यवसायीले महिनौँअघिदेखि आयात प्रक्रिया सुरु गर्छन्। तर यसपटक चीनतर्फका नाका अवरुद्ध भएपछि बुकिङ भएका धेरै सवारीसाधन नेपाल आइपुग्न सकेका छैनन्। नेपाली बजारमा करिब ७० प्रतिशत सवारीसाधन चीनबाट आउने भएकाले नाकाको अवरोधले अटो व्यवसायमा ठूलो असर परेको व्यवसायीहरूको भनाइ छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रप्रसाद उप्रेतीका अनुसार ग्राहकसँग गरिएको प्रतिबद्धता पूरा गर्न नसक्नु अहिलेको मुख्य समस्या बनेको छ। सवारीसाधनको डेलिभरी रोकिँदा त्यसको असर बैंक, बीमा तथा अटो व्यवसायसँग जोडिएका अन्य क्षेत्रमा समेत परेको उनको भनाइ छ।
रेडिमेड बजारमा अभाव र लागत वृद्धि
उत्तरी नाका बन्द हुँदा तयारी पोसाक तथा होलसेल बजार पनि प्रभावित भएको छ। राष्ट्रिय व्यापार संघ नेपालका अनुसार नेपालमा आयात हुने तयारी पोसाकका ८० प्रतिशतभन्दा बढी सामग्री चीनबाट आउने गरेका छन्। तीमध्ये ठूलो हिस्सा स्थलमार्ग हुँदै नेपाल भित्रिन्छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण समुद्री मार्गबाट हुने ढुवानीमा समेत समय बढेपछि चीनबाट स्थलमार्ग हुँदै सामान ल्याउने व्यवसायीको निर्भरता झन् बढेको थियो। तर उत्तरी नाका बन्द भएपछि त्यही मार्गसमेत अवरुद्ध हुँदा चाडपर्वका लागि मगाइएका सामान बाटोमै रोकिएका छन्। नेपाल राष्ट्रिय व्यापार संघका अध्यक्ष हिमराज खरालका अनुसार अहिलेसम्म स्थल र जलमार्ग दुवैबाट गरी करिब २० प्रतिशत हाराहारी सामान मात्र नेपाल भित्रिएको छ। समयमै सामान नआउँदा तयारी पोसाकको बजारमा करिब ६० प्रतिशतसम्म गिरावट आउन सक्ने उनको आकलन छ।
रञ्जना व्यापार संघका निवर्तमान अध्यक्ष हरि पाण्डे पनि यसपटक रेडिमेड कपडाको कारोबारमा ठूलो गिरावट आउने बताउँछन्। उनका अनुसार व्यवसायीले दसैँ–तिहारसँगै जाडो मौसमलाई लक्षित गरेर एकैपटक ठूलो लगानीमा सामान मगाएका हुन्छन्। तर सामान समयमै नेपाल नआए लगानी जोखिममा पर्ने अवस्था छ। त्यसमाथि ढुवानी लागतसमेत अस्वाभाविक रूपमा बढेको व्यवसायीहरूको भनाइ छ। पहिले करिब डेढ लाख रुपैयाँमा हुने ट्रक ढुवानी अहिले पाँच लाख रुपैयाँभन्दा बढी पुगेको उनीहरूको दाबी छ। ढुवानी खर्च बढ्दा त्यसको प्रत्यक्ष असर उपभोक्तासम्म पुग्ने र बजार मूल्यसमेत बढ्ने सम्भावना छ।
चाडपर्वको बजारमा दोहोरो असर
लत्ताकपडा, सवारीसाधन, इलेक्ट्रोनिक्स, खाद्यान्नलगायत विभिन्न वस्तुको ठूलो हिस्सा चीनबाट आयात हुने भएकाले उत्तरी नाकाको अवरोधले बजारका धेरै क्षेत्रलाई एकैपटक प्रभावित बनाएको छ। सामान्यतया दसैँ–तिहारअघि दुईदेखि तीन महिनाअघिबाटै व्यवसायीले ठूलो परिमाणमा सामान आयात गर्ने गर्छन्। यसपटक भने लामो समयदेखि नाका अवरुद्ध हुँदा अर्बौँ रुपैयाँ बराबरका सामान बाटोमै रोकिएका छन्। त्यसको असर एकातर्फ व्यवसायीको लगानीमा परेको छ भने अर्कोतर्फ बजारमा वस्तुको उपलब्धता र मूल्यमा देखिन थालेको छ। नाका सञ्चालनमा ढिलाइ भइरहे व्यापारिक गतिविधि थप सुस्त हुने, आयात घट्ने र त्यससँगै सरकारी राजस्वमा पनि दबाब बढ्ने देखिन्छ। चाडपर्वको मुख्य व्यापारिक मौसममै आपूर्ति शृंखला अवरुद्ध हुँदा यसको प्रभाव तत्कालीन व्यापारमा मात्र नभई आगामी महिनाहरूको बजार व्यवस्थापनमा समेत पर्न सक्ने व्यवसायीहरूको चिन्ता छ। यसैले अहिले व्यवसायीहरूको मुख्य माग एउटै छ-उत्तरी नाका यथाशीघ्र सञ्चालनमा ल्याएर रोकिएको आपूर्ति शृंखला सामान्य अवस्थामा फर्काउने। नाका खुले पनि बाटोमा थुप्रिएको ठूलो परिमाणको सामान नेपाल भित्र्याउन समय लाग्ने भएकाले समस्या तत्कालै पूर्ण रूपमा समाधान हुने अवस्था भने देखिँदैन।

