सरकारले विभिन्न १३ मुलुकका लागि सिफारिस गरेका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि औपचारिक रूपमा सुरु हुने भएको छ। प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ः१५ बजे बस्दै छ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रस्तावित राजदूतहरूविरुद्ध प्राप्त उजुरी तथा उनीहरूले समितिसमक्ष पेस गरेका कार्ययोजनाहरू सदस्यहरूलाई वितरण गरिनेछ। त्यसपछि समितिले प्रस्तावित व्यक्तिहरूको पृष्ठभूमि, कार्ययोजना र उनीहरूविरुद्ध परेका उजुरीका विषयमा आवश्यक छलफल अघि बढाउनेछ।
१३ प्रस्तावित राजदूतविरुद्ध समितिमा सातवटा उजुरी परेका छन्। तीमध्ये दुईवटा सामूहिक रूपमा र पाँचवटा व्यक्तिगत रूपमा दर्ता भएका छन्। उजुरीको अध्ययनसँगै प्रस्तावित राजदूतहरूको सुनुवाइका लागि समितिले आगामी प्रक्रिया तय गर्नेछ।
सरकारले गत भदौ २ गते बसेको मन्त्रिपरिषद् बैठकबाट १३ मुलुकका लागि राजदूत सिफारिस गरेको थियो। सिफारिसअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापाको नाम प्रस्ताव गरिएको छ।
त्यस्तै, संयुक्त अधिराज्य (यूके) का लागि पूर्वप्रधानसेनापति गौरवशम्शेर जंगबहादुर राणालाई राजदूतमा सिफारिस गरिएको छ। महत्वपूर्ण कूटनीतिक गन्तव्यका रूपमा रहेका भारत, चीन, अमेरिका र बेलायतका लागि गरिएको सिफारिसलाई सुनुवाइ प्रक्रियामा विशेष चासोका साथ हेरिएको छ।
सरकारले जापानका लागि जिज्ञानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनलाई प्रस्ताव गरेको छ। जर्मनीका लागि शरू जोशी तथा ओमानका लागि डा. पद्माक्षी राणाको नाम पनि राजदूतका लागि सिफारिस गरिएको छ।
त्यसैगरी, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको छ।
संवैधानिक व्यवस्थाअनुसार सरकारले राजदूतलगायतका महत्वपूर्ण संवैधानिक तथा कूटनीतिक पदमा गरेको नियुक्ति सिफारिस संसदीय सुनुवाइ प्रक्रियाबाट अघि बढ्नुपर्ने हुन्छ। यही प्रक्रियाअन्तर्गत सुनुवाइ समितिले प्रस्तावित व्यक्तिको योग्यता, अनुभव, सम्भावित भूमिकालगायत विषयमा अध्ययन गर्नेछ।
समितिमा उजुरी परेकाले प्रस्तावित राजदूतहरूलाई सुनुवाइका क्रममा ती उजुरीसँग सम्बन्धित विषयमा समेत प्रश्न हुन सक्नेछ। समितिले आवश्यक अध्ययन र सुनुवाइपछि प्रस्तावित नाम अनुमोदन वा अस्वीकृत गर्ने सम्बन्धमा निर्णय लिनेछ।
१३ देशका लागि एकैपटक राजदूत सिफारिस भएकाले अहिलेको सुनुवाइ प्रक्रिया नेपालको आगामी कूटनीतिक प्रतिनिधित्वका दृष्टिले पनि महत्वपूर्ण मानिएको छ। विशेषगरी छिमेकी मुलुक, प्रमुख शक्ति राष्ट्र तथा वैदेशिक रोजगारी र आर्थिक सम्बन्धका दृष्टिले महत्वपूर्ण देशमा प्रस्तावित राजदूतहरूले सम्बन्धित मुलुकसँग नेपालको कूटनीतिक तथा आर्थिक सम्बन्धलाई कसरी अघि बढाउने भन्ने विषय उनीहरूको कार्ययोजनामा समेटिएको छ।
आजबाट सुरु हुने प्रक्रिया आगामी दिनमा प्रस्तावित राजदूतहरूको प्रत्यक्ष सुनुवाइतर्फ अघि बढ्नेछ। त्यसपछि समितिको निर्णयका आधारमा सरकारले नियुक्ति प्रक्रिया अगाडि बढाउनेछ।


