Banijya News

‘राज्यको गोपनीयता दुरुपयोग गर्नेलाई उन्मुक्ति हुँदैन’

1
1.0K Shares

सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बनमा परेपछि गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील तथा गोप्य सूचना अनधिकृत व्यक्तिसम्म पुर्‍याउने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा प्रहरी नियन्त्रणमा रहेका बेला एआईजी दाहालले उनलाई भेटेको घटना सार्वजनिक भएपछि दाहाल निलम्बनमा परेका हुन्। गृह मन्त्रालयले दाहालमाथि पदीय आचरणविपरीत काम गरेको तथा संवेदनशील सूचना चुहावट गरेको आरोपमा कारबाही अघि बढाएको जनाएको छ।

घटनापछि गृहमन्त्री गुरुङले मंगलबार सामाजिक सञ्जालमार्फत राज्य संयन्त्रभित्रको गोपनीयता र सूचना सुरक्षाको विषयमा कडा धारणा सार्वजनिक गरेका हुन्। उनले गृह मन्त्रालय तथा मातहतका निकायमा जिम्मेवारी सम्हालिरहेका पदाधिकारी र कर्मचारीले आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गोप्य सूचना अनधिकृत व्यक्ति वा संस्थालाई दिने प्रवृत्तिमाथि आफूले लामो समयदेखि निगरानी गरिरहेको बताएका छन्।

गुरुङले राज्यको संवेदनशील सूचना कुनै व्यक्ति वा अधिकारीको निजी सम्पत्ति नभएको उल्लेख गरेका छन्। उनका अनुसार जिम्मेवारीका कारण कुनै पदाधिकारीलाई राज्यका सूचनामा पहुँच प्राप्त भए पनि त्यसलाई व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने वा अनधिकृत रूपमा बाहिर पुर्‍याउने अधिकार हुँदैन।

‘राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो। पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन,’ उनले भनेका छन्।

गृहमन्त्रीले सुरक्षा निकाय तथा राज्य संयन्त्रबाट प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गोप्य विवरण पनि अपराध अनुसन्धान र सुरक्षा व्यवस्थापनका लागि महत्वपूर्ण हुन सक्ने बताएका छन्। यस्ता सूचनाले अपराध नियन्त्रणदेखि अनुसन्धानलाई सही दिशामा अघि बढाउन र भविष्यमा हुन सक्ने गम्भीर घटनाको वास्तविकता पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

दाहाल निलम्बन प्रकरणको पृष्ठभूमिमा सुरक्षा निकायभित्र सूचना व्यवस्थापन र पदीय अनुशासनको विषय फेरि चर्चामा आएको छ। स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश राणा पक्राउ परेपछि दाहाल टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए। त्यसपछि राणा पक्राउ परेको सूचना सार्वजनिक भएको थियो। दाहाल राणाका आफन्तसमेत रहेको विवरण सार्वजनिक भएको छ।

यस विषयमा दाहालसँग स्पष्टीकरणसमेत मागिएको थियो। उनले पारिवारिक सदस्यबाट राणा पक्राउ परेको जानकारी पाएपछि उनलाई भेट्न गएको जवाफ दिएको स्रोतहरूले बताएका छन्। तर, संवेदनशील सूचना चुहावटको विषयमा उठेका प्रश्न र पदीय आचरणसम्बन्धी विषयका आधारमा उनीमाथि निलम्बनको निर्णय भएको हो। निलम्बनसँगै घटनाबारे थप जाँचबुझको प्रक्रिया पनि अघि बढाइएको छ।

गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयता जानीजानी भंग गर्ने कार्यलाई गम्भीर रूपमा लिइने स्पष्ट पारेका छन्। उनका अनुसार सुरक्षा संयन्त्रमा कार्यरत व्यक्तिले प्राप्त गर्ने सूचना व्यक्तिगत सम्बन्ध, स्वार्थ वा अन्य कुनै कारणले बाहिर लैजान मिल्दैन।

‘राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानूनको कठघरामा ल्याइनेछ,’ गुरुङले भनेका छन्।

गृहमन्त्रीको यो अभिव्यक्तिलाई दाहाल निलम्बन प्रकरणसँग जोडेर हेरिएको छ। सुरक्षा निकायमा कार्यरत उच्च तहका अधिकारीबाटै संवेदनशील सूचना चुहावट भएको आरोप लागेपछि मन्त्रालयले सूचना सुरक्षासम्बन्धी अनुशासनलाई प्राथमिकतामा राखेको देखिन्छ।

यस घटनाले हिरासतमा रहेका व्यक्तिसँग सुरक्षा निकायका उच्च अधिकारीले गर्ने भेटघाट, त्यस्ता भेटका लागि आवश्यक प्रक्रिया तथा राज्यका संवेदनशील सूचना कसरी सुरक्षित राख्ने भन्ने विषयमा समेत प्रश्न उठाएको छ।

1

Scroll to Top