नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचन प्रयोजनका लागि केन्द्रीय निर्वाचन समितिले केन्द्रीय महाधिवेशन प्रतिनिधि एवं मतदाताहरूको अन्तिम नामावली औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
महाधिवेशनअन्तर्गत विभिन्न पदमा ३० जनाले उम्मेदवारी दिएका छन्। सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा तथा महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी परेको छ।
खुला उपसभापतिमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादव गरी नौ जना प्रतिस्पर्धामा छन्। समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मनसुर, सीता गुरुङ र रञ्जित कर्णले उम्मेदवारी दिएका छन्।
यस्तै, खुला महामन्त्रीमा आठ तथा महिला महामन्त्रीमा तीन जनाले उम्मेदवारी दिएका छन्। खुलातर्फ प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनील शर्मा र डा. सन्तोष उपाध्याय छन्। महिला महामन्त्रीमा डा. डिला संग्रौला, डिना उपाध्याय र रीता खनाल प्रतिस्पर्धामा छन्। कांग्रेसको १५औँ महाधिवेशनका लागि ७ हजार २ सय ५५ जना अन्तिम मतदाता कायम भएका छन् ।

