लामो समयदेखि सुस्त रहेको नेपाली अटोमोबाइल बजारलाई दसैं-तिहारको बिक्रीले गति दिने अपेक्षा व्यवसायीहरूले गरेका छन्। नेपाली अटो बजारमा दसैंलाई सवारीसाधन खरिद-बिक्रीको प्रमुख सिजन मानिन्छ। चाडपर्वमा नयाँ सामान घर भित्र्याउने परम्परा र दसैंमा नयाँ सवारीसाधन चढ्ने चाहनाका कारण यो समयमा बजारमा माग बढ्ने गरेको छ। दसैं नजिकिएसँगै विभिन्न अटोमोबाइल कम्पनीले ग्राहक आकर्षित गर्न आकर्षक योजना सार्वजनिक गर्न थालेका छन्। चारपांग्रे र दुईपांग्रे दुवै बजारमा नगद छुट, क्यासब्याक, एक्सचेन्ज बोनस, निःशुल्क बिमा, सडक कर छुट, फाइनान्स सुविधा तथा विभिन्न उपहारका योजना ल्याइएका छन्। केही ब्रान्डले नयाँ गाडी खरिदमा १२ लाख रुपैयाँसम्मको छुट तथा सुविधा घोषणा गरेका छन्। यद्यपि, व्यवसायीका अनुसार बजारमा विगतका वर्षको जस्तो उत्साह भने देखिएको छैन। महेन्द्रा गाडीका सिनियर म्यानेजर सन्तोषी नेपालले अटो बजार अघिल्ला वर्षको तुलनामा सुस्त रहेको बताइन्। तर दसैं-तिहार लक्षित अफरले बजारमा केही सुधार ल्याउने अपेक्षा रहेको उनको भनाइ छ।
यस वर्षको अटो बजारमा चीनतर्फका केही व्यापारिक नाका बन्द हुँदा विद्युतीय सवारीसाधनको आयातमा समेत असर परेको व्यवसायीको भनाइ छ। यही कारण केही कम्पनीले नयाँ अफर घोषणा गर्ने विषयमा समेत तत्काल निर्णय गर्न सकेका छैनन्। विद्युतीय सवारीको प्रमुख ब्रान्ड बीवाईडीले नाका अवरुद्ध भएकाले दसैं–तिहार लक्षित नयाँ योजना सार्वजनिक गर्ने विषयमा अन्योल रहेको जनाएको छ।
चारपांग्रेमा १२ लाखसम्म छुट
चारपांग्रे सवारीसाधनतर्फ यस वर्ष एक्सपेङ जी६ मा सबैभन्दा ठूलो नगद छुट घोषणा गरिएको छ। नेपालका लागि एक्सपेङको आधिकारिक वितरक सीजी मोटर्सले जी६ खरिदमा १२ लाख रुपैयाँसम्मको छुट दिने जनाएको छ। ग्राहकले नगद छुटसँगै ६.६ किलोवाटको वालमाउन्ट चार्जर, एक वर्षको बिमा र एक वर्षको सडक दस्तुर निःशुल्क पाउनेछन्। कम्पनीले घरमै टेस्ट ड्राइभको सुविधा पनि उपलब्ध गराएको जनाएको छ।
सीजी मोटर्सले जीएसी आयोनका विद्युतीय सवारीमा पनि ‘दसैंको बहार, आयोनको उपहार’ योजना ल्याएको छ। यसअन्तर्गत ग्राहकले ९ लाख रुपैयाँसम्मको छुट पाउनेछन्। साथै एक्सचेन्ज बोनस, एक वर्षको सवारी कर, अटो प्लस इन्स्योरेन्स र ६.६ किलोवाटको घरेलु चार्जर निःशुल्क दिइनेछ। लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका विभिन्न मोडलमा ३ लाख रुपैयाँसम्म नगद छुट घोषणा गरेको छ। स्क्र्याच कार्डमार्फत थप ५ लाख रुपैयाँसम्म नगद जित्ने अवसर पनि दिइएको छ। एक वर्षको बिमा र सडक कर निःशुल्क तथा तीन वर्षको वारेन्टी र ६ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पनि कम्पनीले जनाएको छ। एमजीका विद्युतीय कारमा पारामाउन्ट मोटर्सले ३ लाख रुपैयाँसम्मको लाभ दिने योजना ल्याएको छ। यसमा बिमा, सहज फाइनान्स, एक्सचेन्ज सुविधा र एक वर्षको सवारी कर छुट समावेश छ।
त्यसैगरी, आइकार भी२३ मा २ लाख रुपैयाँ नगद छुट, एक वर्षको कर तथा बिमा र ७ किलोवाटको वाल चार्जर निःशुल्क उपलब्ध गराउने योजना छ। ओमोडा र जेकोका विभिन्न मोडलमा १ देखि ३ लाख रुपैयाँसम्म छुट घोषणा गरिएको छ। ग्रेटवाल मोटरका ओरा फाइभ र हाभाल जोलियन म्याक्समा क्रमशः २ लाख र ३ लाख रुपैयाँसम्म छुट दिइएको छ।
दुईपांग्रेमा पनि अफरको होड
दुईपांग्रे बजारमा पनि दसैं-तिहारलाई लक्षित गर्दै कम्पनीहरूले ग्राहक तान्ने प्रतिस्पर्धा तीव्र बनाएका छन्। नगद छुट, क्यासब्याक, एक्सचेन्ज बोनस, शून्य प्रतिशत ब्याजदर, निःशुल्क सर्भिसिङ र विभिन्न उपहारका योजना सार्वजनिक भएका छन्। डेल्टा अटोकर्पले भेस्पा र अप्रिलियामा १ लाख रुपैयाँसम्मको नगद लाभ दिने योजना ल्याएको छ। ग्राहकले स्मार्टवाच पाउने तथा पुरानो दुईपांग्रे एक्सचेन्ज गर्दा २५ हजार रुपैयाँसम्मको अतिरिक्त सुविधा पाउनेछन्। भीजी अटोमोबाइल्सले सुजुकीका मोटरसाइकल तथा स्कुटरमा १ लाख रुपैयाँसम्म नगद छुट वा एक्सचेन्ज बोनस दिने जनाएको छ। ग्राहकले शून्य प्रतिशत ब्याजदर वा ३६ महिनासम्मको न्यून मासिक किस्तामध्ये एक सुविधा रोज्न सक्नेछन्।
एमएडब्लू राइड्सले यामाहाका ग्राहकका लागि विभिन्न पुरस्कारसहितको योजना ल्याएको छ। बजाज चेतकमा शून्य प्रतिशत ब्याजदर, १ लाख रुपैयाँसम्म क्यासब्याक र पाँच वर्षसम्मका विभिन्न सुविधा उपलब्ध गराइएको छ। सीजी मोटर्सले हिरोका मोटरसाइकल तथा स्कुटरमा डिजिटल स्क्र्याचमार्फत १० लाख रुपैयाँसम्म नगद पुरस्कार जित्ने योजना ल्याएको छ। होन्डा नेपालले नयाँ बाइक तथा स्कुटर खरिदमा १ लाख रुपैयाँसम्म नगद जित्ने अवसर दिएको छ। जगदम्बा मोटर्सले टीभीएसका सवारीमा १० लाख रुपैयाँसम्म नगद छुट, गोल्डेन की वा खरिद मूल्य बराबरको क्यासब्याकमध्ये पुरस्कार जित्ने अवसर दिएको छ। ट्रायम्फ, सीएफमोटो र बजाजलगायत ब्रान्डले पनि आ–आफ्ना ग्राहकका लागि छुट, उपहार र फाइनान्स सुविधासहितका योजना सार्वजनिक गरेका छन्।
बजार चलायमान हुने अपेक्षा
अटो व्यवसायीका लागि दसैं-तिहार बिक्रीको महत्वपूर्ण समय हो। तर यस वर्ष आयातमा देखिएको अवरोध, कमजोर बजार माग र समग्र आर्थिक गतिविधिको प्रभाव अटो बजारमा परेको व्यवसायीको भनाइ छ। यस्तो अवस्थामा कम्पनीहरूले सार्वजनिक गरेका आकर्षक छुट तथा सुविधा ग्राहकका लागि सवारी खरिदको अवसर बन्न सक्छन्। विशेषगरी विद्युतीय चारपांग्रेमा ठूलो नगद छुट तथा दुईपांग्रेमा शून्य प्रतिशत ब्याजदर, क्यासब्याक र एक्सचेन्ज योजनाले प्रतिस्पर्धा बढाएको छ। चाडपर्व नजिकिँदै जाँदा ग्राहकको चासो र सोधपुछ बढ्न थालेकाले दसैं-तिहारको अवधिमा अटो बजारमा कारोबार बढ्ने व्यवसायीको अपेक्षा छ। तर आयात आपूर्ति सहज हुनु, नाका खुल्नु र ग्राहकको क्रयशक्ति बढ्नुले मात्रै बजारले अपेक्षित गति लिने अवस्था देखिन्छ। अहिलेको मुख्य चुनौती भनेको आकर्षक अफरमार्फत ग्राहकलाई शोरुमसम्म ल्याएर वास्तविक खरिदमा रूपान्तरण गर्नु हो।


