बलिउड तथा मराठी सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा गम्भीर कार्डियाक अरेस्ट भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो। तर चिकित्सकको प्रयास सफल हुन सकेन। अस्पताल स्रोतका अनुसार उनलाई बिहान करिब ५ः२० बजे मृत घोषित गरिएको हो।
गोवाको डोना पाउला क्षेत्रमा रहेको निवासमा पाटेकर अचेत अवस्थामा भेटिएका थिए। त्यसपछि उनलाई मणिपाल अस्पताल पुर्याइएको थियो। चिकित्सकहरूले करिब ४५ मिनेटसम्म लगातार सीपीआरमार्फत उनलाई बचाउने प्रयास गरे पनि उनी होसमा फर्कन सकेनन्। अस्पतालका चिकित्सकले उनको निधन कार्डियाक अरेस्टका कारण भएको पुष्टि गरेका छन्। मृत्युको थप कारणबारे पोस्टमार्टम गरिने जनाइएको छ।
सन् १९५१ जनवरी १ मा महाराष्ट्रको मुरुड–जञ्जिरामा जन्मिएका नाना पाटेकरले चार दशकभन्दा लामो समय भारतीय चलचित्र क्षेत्रमा बिताए। अभिनयसँगै उनी लेखक, निर्देशक तथा सामाजिक अभियन्ताका रूपमा पनि परिचित थिए। हिन्दी र मराठी दुवै भाषाका चलचित्रमा प्रभावशाली अभिनय गरेका उनले आफ्नै शैलीको संवाद प्रस्तुति, तीव्र भावभंगिमा र जटिल चरित्रलाई पर्दामा जीवन्त बनाउने क्षमताका कारण छुट्टै पहिचान बनाएका थिए।
पाटेकरले सन् १९७८ मा मुजफ्फर अली निर्देशित ‘गमन’बाट हिन्दी चलचित्रमा प्रवेश गरेका थिए। त्यसपछि उनले ‘अंकुश’, ‘प्रतिघात’, ‘अन्धा युद्ध’ लगायतका चलचित्रमा काम गरे। सन् १९८८ मा मिरा नायर निर्देशित ‘सलाम बम्बे!’मा गरेको अभिनयले उनलाई व्यापक चर्चा दिलायो।
तर सन् १९८९ मा आएको ‘परिन्दा’ उनको अभिनय यात्राको महत्वपूर्ण मोड बन्यो। उक्त चलचित्रमा उनले निर्वाह गरेको ग्याङ्स्टरको भूमिकाले दर्शक र समीक्षक दुवैबाट प्रशंसा पायो। यही भूमिकाका लागि उनले राष्ट्रिय फिल्म पुरस्कार र फिल्मफेयर अवार्डसमेत प्राप्त गरे। पछि ‘क्रान्तिवीर’मा गरेको अभिनयका लागि उनले उत्कृष्ट अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार जिते।
गम्भीर र शक्तिशाली भूमिकामा आफूलाई स्थापित गरेका पाटेकरले हास्य तथा व्यावसायिक चलचित्रमा पनि प्रभाव छाडे। ‘तिरंगा’, ‘अग्निसाक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘राजनीति’, ‘वेलकम’ र ‘वेलकम ब्याक’ उनका चर्चित चलचित्र हुन्। विशेषगरी ‘वेलकम’मा उदय शेट्टीको भूमिकाले उनलाई नयाँ पुस्ताका दर्शकमाझ पनि लोकप्रिय बनाएको थियो।
अभिनयसँगै पाटेकरले निर्देशनमा पनि हात हालेका थिए। उनले ‘प्रहार : द फाइनल अट्याक’ निर्देशन गरेका थिए। चलचित्र क्षेत्रमा योगदानका लागि उनलाई सन् २०१३ मा पद्मश्रीबाट सम्मान गरिएको थियो।
चार दशकभन्दा बढी समय भारतीय सिनेमामा सक्रिय रहेका पाटेकरले गम्भीर चरित्रदेखि हास्य भूमिकासम्म आफ्नो अभिनय क्षमता प्रस्तुत गरे। उनको निधनसँगै हिन्दी र मराठी चलचित्रले फरक शैली र दमदार अभिनयका लागि परिचित एक प्रभावशाली कलाकार गुमाएको छ।


