सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) निर्माणका लागि अधिग्रहण गरिएको जग्गा तथा त्यहाँ रहेका घर, गोठ र अन्य भौतिक संरचनाको मुआब्जा माग गर्दै आन्दोलनरत स्थानीय पीडित र सरकारबीच चारबुँदे सहमति भएको छ।
जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्तामा प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित सरकारी प्रतिनिधि र मुआब्जा सङ्घर्ष समितिका पदाधिकारीबीच छलफलपछि सहमति जुटेको हो। सहमतिपत्रमा प्रमुख जिल्ला अधिकारी दाहाल र सङ्घर्ष समितिका अध्यक्ष अशोककुमार चौधरीले हस्ताक्षर गरेका छन्।
सहमतिको पहिलो बुँदामा अधिग्रहण गरिएको जग्गाको दर्ता तथा लालपुर्जा वितरणसम्बन्धी समस्या समाधानका लागि सम्बन्धित निकायलाई पुनः ताकेता गर्ने निर्णय गरिएको छ। स्थानीयवासीले यसअघि नै निर्णय भएर पठाइएको भए पनि हालसम्म कतिपय जग्गाको दर्ता प्रक्रिया पूरा नभएको र लालपुर्जा वितरण हुन नसकेको गुनासो गर्दै आएका थिए।
दर्ता नभएको जग्गा तथा त्यसमाथि निर्माण भएका घर तथा अन्य संरचनाको मुआब्जा वा क्षतिपूर्ति वितरणमा कानुनी तथा प्रशासनिक समस्या देखिएपछि भूमि प्रशासन कार्यालय, पर्साले सम्बन्धित तालुक निकायमा यथाशीघ्र पुनः ताकेता गर्ने सहमति भएको छ।
त्यस्तै, घर, गोठ, टहरा तथा अन्य संरचनाको क्षतिपूर्ति निर्धारणका लागि २०७६ माघ ६ गते गठन गरिएको उपसमितिले तयार पारेको प्राविधिक प्रतिवेदनमा उल्लेखित संरचनाको निर्माण वर्ष यकिन गर्ने विषयमा पनि सहमति भएको छ। यसका लागि वीरगञ्ज महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय र वीरगञ्ज महानगरपालिका–२५ नम्बर वडा कार्यालयलाई गरिएको पत्राचारलाई मुआब्जा सङ्घर्ष समितिले समर्थन गर्ने निर्णय भएको छ।
सहमतिको अर्को बुँदामा उक्त प्राविधिक प्रतिवेदनमा उल्लेख गरिएका घर, गोठ, टहरा तथा अन्य संरचनाले ओगटेको जग्गाको स्वामित्व र कित्ता नम्बर यकिन गर्ने विषय समेटिएको छ। यसका लागि नापी कार्यालय, वीरगञ्ज, पर्सालाई गरिएको पत्राचारलाई पनि सङ्घर्ष समितिले समर्थन गर्ने निर्णय गरेको छ।
ड्राइपोर्ट निर्माणका लागि जग्गा अधिग्रहण गरिएदेखि नै स्थानीय प्रभावितले उचित मुआब्जा तथा क्षतिपूर्तिको माग गर्दै आएका छन्। पटक–पटक जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सम्बन्धित सरकारी निकायसँग छलफल र वार्ता भए पनि विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै उनीहरू असन्तुष्ट थिए।
यसैक्रममा स्थानीय पीडितहरूले आफ्ना माग पूरा गर्न दबाब दिने उद्देश्यले सोमबारदेखि वीरगञ्ज सुक्खा बन्दरगाहको मुख्य प्रवेशद्वारमै धर्ना सुरु गरेका थिए। धर्नाका क्रममा उनीहरूले अधिग्रहण गरिएको जग्गा तथा त्यसमा बनेका संरचनाको मुआब्जा र क्षतिपूर्ति प्रक्रिया तत्काल अघि बढाउन माग गरेका थिए।


