Banijya News

तनहुँ जलविद्युत् आयोजनाको काम ७८ प्रतिशत सम्पन्न, तीनवटै प्याकेजमा निर्माण तीव्र

1
1.0K Shares

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको समग्र भौतिक प्रगति ७८ प्रतिशत पुगेको छ। ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माण भइरहेको राष्ट्रिय प्राथमिकताको यस आयोजनाअन्तर्गत बाँध, मुख्य सुरुङ, विद्युत्गृह तथा प्रसारण लाइन निर्माणको काम एकसाथ अघि बढिरहेको छ।

आयोजनालाई तीनवटा प्याकेजमा विभाजन गरी निर्माण भइरहेको छ। प्याकेज–१ मा बाँधलगायत हेडवर्क्स संरचना, प्याकेज-२ मा मुख्य सुरुङ, भूमिगत विद्युत्गृह तथा सम्बन्धित उपकरण र प्याकेज-३ मा दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो।

प्याकेज–१ अन्तर्गत बाँधलगायतका संरचना निर्माणको जिम्मेवारी सोङ्दा-कालिका जेभीले पाएको छ। यस प्याकेजको भौतिक प्रगति हाल ६३ प्रतिशत पुगेको छ। आयोजनाको मुख्य बाँध निर्माणका लागि आवश्यक डाँडा कटान, पहुँच सडक, सेती नदीको धार परिवर्तन गर्न बनाइएको अस्थायी बाँध तथा दुईवटा डाइभर्सन सुरुङ निर्माण सम्पन्न भइसकेका छन्।

आयोजनाको मुख्य बाँध १४० मिटर अग्लो हुने छ। बाँध निर्माणका लागि विसं २०८१ चैत ७ गते पहिलो कङ्क्रिट राखेर मुख्य संरचनाको कङ्क्रिटिङ सुरु गरिएको थियो। पछिल्लो भदौ महिनामा मात्रै ३३ हजार ६८१ घनमिटर कङ्क्रिट राखिएको आयोजनाले जनाएको छ। हालसम्म बाँध निर्माणका लागि पाँच लाख सात हजार ४४२ घनमिटर कङ्क्रिट राखिसकिएको छ।

प्याकेज-२ अन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरण जडानको काम सिनो हाइड्रो कर्पोरेसन, चीनले गरिरहेको छ। यस प्याकेजको भौतिक प्रगति ७९ प्रतिशत पुगेको छ। विद्युत्गृह, केबल सुरुङ, सर्च ट्याङ्क र टेलरेस लगायतका प्रमुख संरचनाको मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भइसकेको आयोजना प्रमुख भण्डारीले बताउनुभयो।

जलाशयमा संकलन हुने पानीलाई विद्युत्गृहसम्म पुर्‍याउन निर्माण भइरहेको मुख्य सुरुङको कङ्क्रिट लाइनिङको काम भने जारी छ। कुल एक हजार ४१८ दशमलव ७५ मिटर सुरुङमा कङ्क्रिट लाइनिङ गर्नुपर्नेमा हालसम्म एक हजार ४०७ दशमलव ७५ मिटरको काम सम्पन्न भएको छ। यसअनुसार मुख्य सुरुङको कङ्क्रिट लाइनिङ कार्य अन्तिम चरणमा पुगेको छ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीदेखि भरतपुरसम्म २२० केभी क्षमताको प्रसारण लाइन निर्माण भइरहेको छ। भारतीय कम्पनी केइसी इन्टरनेसनल लिमिटेडले निर्माण गरिरहेको ३३ किलोमिटर लामो प्रसारण लाइनमा कुल ९४ वटा टावर निर्माण गर्नुपर्नेछ। तीमध्ये ८३ वटा टावरको जग निर्माण सम्पन्न भइसकेको छ भने ८० वटा टावर खडा गरिसकिएको छ।

तनहुँ र चितवनका डिभिजन वन कार्यालयबाट वन क्षेत्रमा प्रवेश तथा रूख कटानका लागि आवश्यक अनुमति प्राप्त भएपछि प्रसारण लाइन निर्माणले थप गति लिएको आयोजना प्रमुख भण्डारीले बताउनुभयो। यस प्याकेजको भौतिक प्रगति ८२ प्रतिशत पुगेको छ।

1

Scroll to Top