Banijya News

समृद्ध नेपाल निर्माणमा सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य : राष्ट्रपति पौडेल

1
1.1K Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको प्रयासबाट मात्र सम्भव नहुने बताएका छन् । उनले राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्प तथा सहकार्यबाट मात्रै मुलुकको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा सदस्यहरूसँगको भेटमा राष्ट्रपति पौडेलले समृद्ध नेपाल निर्माणको संकल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार, सिर्जनशील र अग्रणी भूमिकाका साथ अघि बढ्नुपर्ने बताए । नेपालको आर्थिक विकासमा निजी क्षेत्रले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै उनले उद्योगी–व्यवसायीको निरन्तर सफलता र प्रगतिका लागि शुभकामना व्यक्त गरे ।

राष्ट्रपति पौडेलले नेपालको अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे । उनका अनुसार सरकारले नीतिगत स्थिरता, लगानीको सुरक्षा, पूर्वाधार विकास, सहज प्रशासन तथा व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्नेछ भने निजी क्षेत्रले लगानी, उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनालाई थप विस्तार गर्न आवश्यक छ ।

महासंघमा आबद्ध व्यवसायीको प्रगति समग्र देशको आर्थिक प्रगतिसँग जोडिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आर्थिक विकास, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण भए त्यसले आर्थिक समृद्धिको बलियो आधार तयार गर्ने उनको भनाइ थियो ।

उनले अबको प्राथमिकता उत्पादन वृद्धि, निर्यात प्रवद्र्धन, स्वदेशी तथा विदेशी लगानी आकर्षण, रोजगारी सिर्जना र नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा केन्द्रित हुनुपर्ने बताए । जलविद्युत्, पर्यटन, कृषि तथा कृषिजन्य उद्योग, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा रहेका सम्भावनालाई परिणाममुखी ढंगले उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

विशेषगरी युवालाई स्वदेशमै रोजगारी तथा उद्यमका अवसर सिर्जना गर्नु राज्य र निजी क्षेत्र दुवैको साझा दायित्व रहेको राष्ट्रपति पौडेलले बताए । उत्पादन र रोजगारी बढाउने तथा आयात घटाएर निर्यात विस्तार गर्ने दिशामा नीतिगत सुधार आवश्यक रहेको धारणा उनले यसअघि पनि व्यक्त गर्दै आएका छन् ।

डिजिटल रूपान्तरण र विश्वव्यापी प्रतिस्पर्धाको वर्तमान युगमा महासंघले आफ्नो राष्ट्रिय सञ्जाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालसँग जोड्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो । नेपाली उत्पादन, सेवा र उद्यमलाई विश्व बजारमा पुर्‍याउन महासंघले थप नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरे ।

राष्ट्रपति पौडेलले हालै मुलुकले सामना गर्नुपरेका प्राकृतिक विपद्का क्रममा उद्धार तथा राहतमा महासंघले देखाएको तत्परता, सहयोग र सहकार्यको समेत प्रशंसा गरे । विपद्का बेला निजी क्षेत्रले राज्यसँग हातेमालो गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्नु सकारात्मक पक्ष भएको उनले बताए ।

समृद्ध नेपाल निर्माणका लागि आर्थिक क्षेत्रलाई प्राथमिकतामा राख्दै सरकार, निजी क्षेत्र र समाजका सबै पक्षबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा राष्ट्रपति पौडेलले जोड दिए । उत्पादन, लगानी, रोजगारी र उद्यमशीलतालाई केन्द्रमा राखेर अघि बढ्न सके मुलुकको आर्थिक विकासलाई थप गति दिन सकिने उनको धारणा थियो ।

1

Scroll to Top