कामना सेवा विकास बैंकको सहकार्यमा नेपाल चिकित्सक संघले ६० भन्दा बढी महिला चिकित्सकलाई वित्तीय साक्षरता प्रदान गरेको छ । महिला चिकित्सकहरूको वित्तीय व्यवस्थापन, बजेट निर्माण, बचत, लगानी तथा कर व्यवस्थापनसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षकहरूले प्रस्तुतीकरण, अन्तरक्रिया तथा व्यावहारिक सहजीकरणमार्फत सहभागी चिकित्सकहरूलाई वित्तीय व्यवस्थापनसम्बन्धी जानकारी दिएका थिए ।
कार्यक्रमको सुरुवात गर्दै डा. सुजिता हिराचनले चिकित्सकहरूका लागि वित्तीय व्यवस्थापन, बजेट निर्धारण तथा कर व्यवस्थापनको आवश्यकता र महत्वबारे प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा वित्तीय साक्षरतासम्बन्धी विषयमा सिए अनुपमा सङ्ग्रौला तथा कामना सेवा विकास बैंकका डिजिटल अपरेशन विभाग प्रमुख जिनुसा पलिखे श्रेष्ठ र कर्जा अधिकृत सूर्यकान्त न्यौपानेले सहजीकरण गरेका थिए । उनीहरूले व्यक्तिगत वित्तीय योजना, बजेट निर्माण, बचत, लगानी, कर व्यवस्थापन तथा दीर्घकालीन वित्तीय सुरक्षालगायतका विषयमा व्यावहारिक जानकारी दिएका थिए ।
कार्यक्रमका अध्यक्ष डा. रिजालले चिकित्सकहरूले आफ्नो पेशासँगै वित्तीय व्यवस्थापनलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताए। व्यावसायिक जीवनसँगै व्यक्तिगत तथा पारिवारिक आर्थिक सुरक्षाका लागि वित्तीय ज्ञान र व्यवस्थित योजना महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने कामना सेवा विकास बैंकलगायत सम्बन्धित सबै पक्षलाई उनले धन्यवाद दिए । कार्यक्रम संयोजक डा. निशा आचार्यले महिला चिकित्सकहरूका लागि वित्तीय साक्षरता महत्वपूर्ण र आवश्यक विषय रहेको बताइन् । यस्ता कार्यक्रमले चिकित्सकहरूको आर्थिक निर्णय क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. लोचन कार्की विशेष अतिथिका रूपमा सहभागी थिए । नेपाल मेडिकल काउन्सिलका सदस्य डा. युबिन यादव तथा नेपाल चिकित्सक संघकी कार्यकारी सदस्य डा. बिना श्रेष्ठ अतिथिका रूपमा उपस्थित थिए ।
महिला चिकित्सकहरूको व्यावसायिक विकाससँगै आर्थिक सशक्तीकरण र वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले सहभागीलाई आम्दानीको उचित व्यवस्थापन, भविष्यका लागि वित्तीय योजना निर्माण तथा आर्थिक निर्णय लिन थप सक्षम बनाउने बैंकले जनाएको छ ।
बैंकले वित्तीय पहुँच, वित्तीय साक्षरता तथा वित्तीय समावेशीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि नेपाल सरकारले लिएको वित्तीय समावेशीकरणसम्बन्धी लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।


