नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता प्रकाशमान सिंहले पार्टीलाई कमजोर बनाउँदै विभाजनतर्फ लैजान अदृश्य शक्ति सक्रिय रहेको बताएका छन्। उनले त्यस्ता शक्तिको स्वार्थ पूरा हुन नदिने भन्दै कांग्रेस आफ्नो इतिहास, विधान र स्थापित परम्पराअनुसार अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
बिहीबार काठमाडौंमा आयोजित काठमाडौं महानगर अधिवेशनको उद्घाटन गर्दै नेता सिंहले कांग्रेसलाई कमजोर र विभाजित बनाउन विभिन्न प्रयास भइरहेको दाबी गरे। पार्टीभित्रका मतभेदलाई स्वाभाविक रूपमा लिएर लोकतान्त्रिक विधिबाट समाधान गर्नुपर्ने उनको भनाइ थियो।
सिंहले कांग्रेसको इतिहास र विधानविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए। लोकतान्त्रिक पार्टीमा फरक मत र विचार हुनु सामान्य भए पनि पार्टीको नियम, विधि र परम्परालाई उल्लंघन गर्दै मनपरी ढंगले अघि बढ्नु लोकतान्त्रिक संस्कार नभएको उनले टिप्पणी गरे।
उनले गल्ती गर्नेहरूलाई संरक्षण गर्ने वा गलत गतिविधिलाई प्रोत्साहन गर्ने प्रवृत्ति पनि सुधार गर्नुपर्ने बताए। पार्टीभित्र देखिएका बेथिति र कमजोरीलाई ढाकछोप गर्नुको सट्टा त्यसलाई सच्याएर सही दिशामा अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा केन्द्रीय कार्यसमितिले विधान र नियमअनुसार आवश्यक निर्णय गर्दै अघि बढ्ने सिंहले बताए। पार्टीको आन्तरिक विषयमा असहमति भए पनि त्यसलाई संस्थागत प्रक्रियाबाट समाधान गर्नुपर्नेमा उनले जोड दिए।
सिंहले कांग्रेसका संस्थापक नेताहरूले स्थापित गरेको निष्ठा, सिद्धान्त र आदर्शलाई पार्टीले निरन्तरता दिनुपर्ने बताए। वर्तमान चुनौतीको सामना गर्न पार्टीभित्र एकता, अनुशासन र लोकतान्त्रिक अभ्यास आवश्यक रहेको उनको भनाइ थियो।
उनले कांग्रेसको मूल आदर्श र राजनीतिक संस्कारलाई कमजोर पार्ने कुनै पनि गतिविधि सफल हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै पार्टीलाई विधि र सिद्धान्तको आधारमा अघि बढाउनुपर्ने बताए। साथै, विगतका कमजोरीबाट पाठ सिक्दै कांग्रेसले आफ्ना आन्तरिक समस्या समाधान गरेर जनताको विश्वास कायम गर्नुपर्नेमा उनले जोड दिए।

