काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा भूमिसम्बन्धी कानुन संशोधन गर्नेसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा वन र भूमिसम्बन्धी अध्यादेश जारी गरेका हुन्।
राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गर्दै दुवै अध्यादेश जारी गरिएको जानकारी दिएको छ। जारी गरिएका अध्यादेशमा ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ रहेका छन्।
संविधानको धारा ११४ को उपधारा (१) मा संघीय संसद्का दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परिस्थिति उत्पन्न भएमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने व्यवस्था छ। सोही संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले दुवै अध्यादेश जारी गरेका हुन्।
वन तथा भूमिसम्बन्धी कानुन मुलुकको प्राकृतिक स्रोतको संरक्षण, उपयोग, व्यवस्थापन र भूमिको स्वामित्व तथा प्रयोगसँग सम्बन्धित महत्त्वपूर्ण कानुनी व्यवस्था हुन्। यी क्षेत्रसँग सम्बन्धित ऐनमा गरिने संशोधनले वन व्यवस्थापन, जग्गाको उपयोग, भूमिसम्बन्धी प्रशासन र विकास निर्माणका कार्यमा प्रभाव पार्न सक्छ।


