Banijya News

भोटेकोशी बाढीको कहरः नुवाकोटका ३४१ उद्योग ध्वस्त, १३ सय जनाको रोजगारी गुम्यो

1
1.0K Shares

भोटेकोशी बाढीले नुवाकोटका विभिन्न स्थानीय तहमा रहेका ३ सय ४१ भन्दा बढी उद्योग तथा व्यवसायमा क्षति पु¥याएको छ। बाढीका कारण उद्योग व्यवसाय ठप्प हुँदा करिब १ हजार ३ सय जनाले रोजगारी गुमाएका छन्। उद्योगका भवन, मेसिनरी, कच्चापदार्थ, तयारी वस्तु तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि स्थानीय अर्थतन्त्रसमेत प्रभावित बनेको छ। बाढीले विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकाका उद्योग व्यवसायमा ठूलो क्षति पु¥याएको हो। प्रभावित उद्योगको वास्तविक क्षतिको विवरण संकलन गर्ने काम अझै जारी रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रुपेशप्रसाद नेपालका अनुसार बाढीले निजी क्षेत्रका ९७ वटा सवारीसाधन पूर्ण रूपमा क्षति गरेको छ भने दुईवटामा आंशिक क्षति पुगेको छ। त्यस्तै, सरकारी क्षेत्रका ६१ वटा सवारीसाधन पूर्ण रूपमा ध्वस्त भएका छन्। क्षतिको विवरण संकलन कार्य जारी रहेकाले प्रभावित संरचना र व्यवसायको संख्या अझै बढ्न सक्ने देखिएको छ। भदौ १० गते आएको बाढीले उद्योगका भौतिक संरचना मात्र नभई उत्पादन प्रणाली र व्यवसाय सञ्चालनका आधारभूत पूर्वाधारसमेत बगाएपछि व्यवसायीहरू पुनःस्थापनाको चुनौतीमा परेका छन्।

कृषि उद्योगदेखि उत्पादनमूलक व्यवसायसम्म प्रभावित

बाढीबाट प्रभावित उद्योगी तथा व्यवसायीले आफ्नो क्षेत्रको पुनःस्थापनाका लागि ‘बाढी प्रभावित उद्योग पुनःस्थापना समन्वय संयन्त्र, नुवाकोट’ गठन गरेका छन्। संयन्त्रका संयोजक राजाराम अधिकारीका अनुसार बाढीले विभिन्न प्रकृतिका साना तथा ठूला उद्योगमा गम्भीर क्षति पु¥याएको छ। कृषि तथा कृषिजन्य उद्योग, कुखुरापालन, पशुपालन, डेरी, खाद्य उद्योग, धान तथा तोरी मिल, ह्युमपाइप, पोलिथिन पाइप, ग्याभियन जाली, बालुवा प्रशोधन, क्रसर, काठ मिल, ब्लक उत्पादन र ग्रिल उद्योगलगायतका व्यवसाय प्रभावित भएका छन्। उद्योगका मेसिनरी, कच्चापदार्थ, तयारी सामान र गोदाममा क्षति पुगेपछि धेरै व्यवसायको उत्पादन प्रक्रिया अवरुद्ध भएको छ। कतिपय उद्योगमा पहुँचमार्गसमेत बिग्रिएकाले पुनः सञ्चालन गर्न थप लगानी आवश्यक पर्ने अवस्था छ। स्थानीय स्तरमा फोहोर व्यवस्थापन तथा प्लास्टिक पुनःप्रयोग गर्दै आएको गरिमा प्लास्टिक उद्योगका सञ्चालकसमेत रहेका संयोजक अधिकारीले प्रभावित उद्योगलाई सामान्य राहतले मात्र पुरानै अवस्थामा फर्काउन नसकिने बताए। उनका अनुसार उद्योग बन्द रहे पनि बैंकको कर्जा साँवा–ब्याज, कर तथा विद्युत् महसुलको दायित्व कायम रहने भएकाले व्यवसायी थप आर्थिक दबाबमा परेका छन्। उद्योग पुनः सञ्चालन गर्न पर्याप्त पूँजी र सरकारी सहजीकरण आवश्यक रहेको उनको भनाइ छ।

पाँच वर्षसम्म पुनरुत्थान ऋणको माग

बाढीबाट प्रभावित उद्योगीहरूले कम ब्याजदरमा कर्जा उपलब्ध गराउन र कम्तीमा पाँच वर्षसम्मका लागि पुनरुत्थान ऋणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। पुराना कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्नुपर्ने उनीहरूको माग छ। त्यस्तै, २०८३ साल भदौ १० गतेदेखि कम्तीमा एक वर्षसम्म वा उद्योग पुनः सञ्चालन नभएसम्म कर्जाको ब्याजमा छुट दिनुपर्ने माग व्यवसायीहरूले अघि सारेका छन्। उद्योग सञ्चालन हुन नसकेको अवस्थामा नियमित किस्ता, ब्याज र अन्य वित्तीय दायित्व पूरा गर्न कठिन हुने उनीहरूको भनाइ छ। प्रभावित उद्योगलाई पुनः सञ्चालन गर्न आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कलगायतका करमा कानुनी सहुलियत दिनुपर्ने माग पनि गरिएको छ। विपत्तिका कारण आवश्यक कागजात बुझाउन ढिलाइ भएका व्यवसायीलाई समयसीमा थप गरी प्रशासनिक प्रक्रियामा सहजीकरण गर्न उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। उद्योगीहरूका अनुसार समयमै वित्तीय तथा प्रशासनिक सहयोग उपलब्ध हुन नसके बन्द भएका उद्योग पुनः सञ्चालन गर्न लामो समय लाग्न सक्छ। त्यसको प्रत्यक्ष असर रोजगारी, स्थानीय उत्पादन र बजारमा पर्नेछ।

राहतभन्दा पुनःस्थापनामा जोड

नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले प्रभावित व्यवसायी राहत लिएर बस्नुभन्दा पुनः उद्योग सञ्चालन गर्न चाहेको बताए। उनले उद्योगीका समस्यालाई व्यक्तिगत क्षतिका रूपमा मात्र नहेरी समग्र आर्थिक पुनरुत्थानसँग जोडेर सम्बोधन गर्नुपर्नेमा जोड दिए। उद्योग पुनः सञ्चालन भएमा रोजगारी सिर्जना हुने, स्थानीय उत्पादन बढ्ने र आर्थिक गतिविधि पुनः सक्रिय हुने उनको भनाइ छ। व्यवसायीहरूले बाढीले पुरिएका उद्योग तथा गोदाम सफा गर्न जेसिबी, लोडर र एक्साभेटरजस्ता भारी उपकरण उपलब्ध गराउन पनि माग गरेका छन्। त्यस्तै, विद्युत् महसुल र डिमान्ड शुल्कमा सहुलियत दिनुपर्ने उनीहरूको माग छ। क्षतिको विवरण संकलन, बीमा दाबीको भुक्तानी तथा करसम्बन्धी प्रक्रियालाई सहज बनाउन एकद्वार प्रणाली लागू गर्नुपर्ने मागसमेत गरिएको छ। विभिन्न निकायमा धाउनुपर्ने अवस्थाको अन्त्य गरी प्रभावित व्यवसायीलाई एउटै प्रक्रियाबाट सेवा उपलब्ध गराउन सके पुनःस्थापनाको काम छिटो अघि बढ्ने उनीहरूको अपेक्षा छ।

पुनरुत्थानमा सरकारी सहयोग निर्णायक

भोटेकोशी बाढीबाट नुवाकोटमा भएको क्षतिले प्राकृतिक विपत्तिपछि उद्योग व्यवसाय पुनःस्थापना गर्नु कति चुनौतीपूर्ण हुन्छ भन्ने देखाएको छ। भौतिक संरचना पुनर्निर्माणसँगै कर्जा व्यवस्थापन, कर सहुलियत, बीमा भुक्तानी र रोजगारी पुनःस्थापनालाई पनि प्राथमिकतामा राख्नुपर्ने देखिन्छ। ३४१ भन्दा बढी उद्योग व्यवसाय प्रभावित हुनु र १ हजार ३ सय जनाले रोजगारी गुमाउनु स्थानीय अर्थतन्त्रका लागि गम्भीर चुनौती हो। क्षतिको अन्तिम विवरण संकलन भइरहेका बेला प्रभावित व्यवसायीलाई आवश्यक सहयोग उपलब्ध गराउनु थप महत्त्वपूर्ण बनेको छ। व्यवसायीहरूले माग गरेअनुसार सहुलियतपूर्ण कर्जा, वित्तीय दायित्वमा राहत र प्रशासनिक सहजीकरण उपलब्ध भएमा प्रभावित उद्योग पुनः सञ्चालन गर्न सहज हुन सक्छ। अन्यथा उद्योग बन्द रहने अवधि लम्बिँदै जाँदा रोजगारी र स्थानीय आर्थिक गतिविधिमा परेको असरसमेत बढ्न सक्नेछ।

1

Scroll to Top