नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यसहित जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । रामायण सर्किटअन्तर्गत सञ्चालन गर्न लागिएको उक्त रेल सेवाको पूर्वतयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा विशेष रेल सेवाको उद्घाटन गर्ने गरी तयारी भइरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार रेल सेवा सञ्चालनका लागि दुवै देशका रेल्वे कम्पनी, भन्सार, सुरक्षा तथा अन्य सम्बन्धित निकायबीच विभिन्न चरणमा छलफल भइरहेको छ । ‘प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा उक्त विशेष रेल सेवाको उद्घाटन गर्ने गरी हामी तयारीमा जुटेका छौँ,’ पराजुलीले भने, ‘यस विषयमा नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ ।’
रेल सेवा उद्घाटनको औपचारिक मिति भने अहिलेसम्म निश्चित भइसकेको छैन। प्रधानमन्त्री शाहले मङ्सिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारी रहेकाले सोही भ्रमणका क्रममा सेवा उद्घाटन गर्ने लक्ष्य राखिएको छ ।
सुरक्षा र प्राविधिक व्यवस्थापनमा छलफल
जनकपुरधामदेखि अयोध्यासम्म रेल सञ्चालन गर्न आवश्यक प्राविधिक, प्रशासनिक तथा सुरक्षा व्यवस्थापनका विषयमा दुवै देशका अधिकारीहरूबीच समन्वय भइरहेको छ । प्रबन्ध सञ्चालक पराजुलीका अनुसार नेपालतर्फको रेलखण्डमा नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेलको सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको छ । केही दिनअघि नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनसम्बन्धी अधिकारीहरूको टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरेको थियो।
विशेष रेल सेवा सञ्चालनका क्रममा सीमापार आवागमन, यात्रु जाँच, भन्सार तथा अध्यागमन प्रक्रियालाई सहज बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ ।
धार्मिक पर्यटनमा नयाँ सम्भावना
जनकपुरधाम र अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोड्ने योजनाले नेपाल र भारतबीचको धार्मिक पर्यटनमा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ। जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् रामको जन्मस्थलका रूपमा हिन्दू धर्मावलम्बीहरूले विशेष धार्मिक महत्व दिने गरेका छन्। यी दुई पवित्र धार्मिक स्थलबीच सीधा रेल सेवा सञ्चालन भएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा पर्यटकको आवागमन थप सहज हुने विश्वास गरिएको छ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले रेल सेवा सञ्चालनले धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तारसँगै पर्यटन व्यवसायलाई समेत लाभ पुग्ने बताए। उनका अनुसार भारतीय पर्यटकको आगमन बढ्दा होटल, यातायात, व्यापार तथा स्थानीय सेवा क्षेत्रमा आर्थिक गतिविधि विस्तार हुन सक्छ। त्यस्तै नेपाली तीर्थयात्रीलाई पनि अयोध्या पुग्न सहज हुनेछ।
हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालनमा छ। प्रस्तावित विशेष रेल सेवाले यसअघि सञ्चालनमा रहेको रेल सञ्जाललाई धार्मिक पर्यटनसँग जोड्नेछ।



