Banijya News

सिजी मोटर्ससहित पाँच फर्मलाई विभागको तीनदिने अल्टिमेटम, कागजातसहित उपस्थित हुन निर्देशन

1
1.0K Shares

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कैफियत भेटिएका सिजी मोटर्स प्रालिसहित पाँचवटा फर्मलाई तीन दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ।

विभागले गरेको बजार निरीक्षणका क्रममा कैफियत देखिएपछि सम्बन्धित व्यवसायी तथा फर्महरूलाई स्पष्टीकरण र आवश्यक कागजातसहित विभागमा उपस्थित हुन भनेको हो।

विभागको निर्देशनमा पर्ने फर्महरूमा सिजी मोटर्स प्रालि, बालाजी फुड्स नेपाल, काठमाडौं क्रियटिभ मार्ट प्रालि, पिआर भण्डार र पाचोपिर सप्लायर्स रहेका छन्।

यी फर्महरूको कारोबार तथा व्यावसायिक गतिविधिका क्रममा देखिएका कैफियतबारे थप अध्ययन र आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउन कागजात माग गरिएको विभागले जनाएको छ।

यसैगरी, बजार अनुगमनका क्रममा अन्य १३ वटा फर्मलाई सामान्य निर्देशनसमेत दिइएको छ। सामान्य निर्देशन पाउनेमा नारायणी मोडर्न पल्सेस इन्डष्ट्रिज, शिक्षा कलेक्सन, रामेछाप मिट सप, हजुरको बेकरी, छाप्रेली नवीन मिटशप र बंगलामुखी मिट हाउस रहेका छन्।

त्यस्तै, आक्वा मिनरल्स नेपाल प्रालि, लायल क्लोसेट, सुरुची डेकोर, सहारा रेस्टुरेन्ट एन्ड बार प्रालि, तुलसी क्रियसन तथा शुक्र हाउस अफ डायग्नोस्टिकलाई पनि विभागले आवश्यक निर्देशन दिएको छ।

विभागले उपभोक्ताको हकहित संरक्षण, बजारमा हुने अनुचित व्यापारिक गतिविधि नियन्त्रण तथा व्यवसायीलाई कानुनी दायरामा राख्ने उद्देश्यले नियमित अनुगमन गर्दै आएको छ।

विभागका अनुसार सम्बन्धित व्यवसायीहरूलाई ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ तथा ‘उपभोक्ता संरक्षण नियमावली, २०७६’ बमोजिम निर्देशन दिइएको हो।

1

Scroll to Top