Banijya News

नेपालको सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, एक नागरिकको टाउकोमा कति ऋणभार ?

1
1.0K Shares

नेपालको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासिक (साउन-असोज) समाप्त हुँदा मुलुकको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड रुपैयाँ पुगेको हो। यो नेपालको इतिहासकै उच्च सार्वजनिक ऋण हो।

गत आर्थिक वर्ष २०८२÷८३ को असार मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब रुपैयाँ रहेको थियो। चालु आर्थिक वर्षको पहिलो तीन महिनामै ऋणको आकार थप बढेको हो। कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १४ खर्ब १० अर्ब ३१ करोड रुपैयाँ र बाह्य ऋण १५ खर्ब ९८ अर्ब ८० करोड रुपैयाँ रहेको कार्यालयले जनाएको छ। सार्वजनिक ऋणलाई जनसंख्याका आधारमा हिसाब गर्दा प्रत्येक नेपालीको भागमा एक लाख रुपैयाँभन्दा बढी ऋणभार पर्ने देखिन्छ।

कार्यालयका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४५.५९ प्रतिशत पुगेको छ। यसमध्ये आन्तरिक ऋणको हिस्सा २१.३७ प्रतिशत र बाह्य ऋणको हिस्सा २४.२२ प्रतिशत रहेको छ।

ऋण उठाउनुभन्दा भुक्तानीमा ठूलो खर्च

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले १ खर्ब २३ अर्ब ३२ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेको छ। यस अवधिमा सरकारले ७७ अर्ब ७४ करोड रुपैयाँ बराबरको साँवा भुक्तानी गरेको छ। त्यस्तै, ऋणको साँवा र ब्याज भुक्तानीमा असोज मसान्तसम्म ९८ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ। यसमध्ये साँवा भुक्तानीमा ७७ अर्ब ७४ करोड र ब्याज भुक्तानीमा २१ अर्ब १२ करोड रुपैयाँ खर्च गरिएको छ। आन्तरिक ऋणको साँवा भुक्तानीमा ६५ अर्ब १० करोड र ब्याजमा १७ अर्ब ६३ करोड रुपैयाँ खर्च भएको छ। बाह्य ऋणतर्फ साँवामा १२ अर्ब ६४ करोड र ब्याजमा ३ अर्ब ४९ करोड रुपैयाँ भुक्तानी गरिएको छ।  यस वर्ष सरकारले ऋण सेवाका लागि ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। असोजसम्म विनियोजित बजेटको २३.६६ प्रतिशत खर्च भइसकेको छ।

पूँजीगत खर्चभन्दा ऋण भुक्तानी बढी

सरकारले विकास निर्माण तथा पूर्वाधारमा गर्ने खर्चभन्दा ऋणको साँवा र ब्याज तिर्न ठूलो रकम खर्च गर्नुपरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्म सरकारको पूँजीगत खर्च २८ अर्ब ४२ करोड रुपैयाँ मात्रै रहेको छ। चालु आर्थिक वर्ष सरकारले कुल ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ। पहिलो त्रैमासमा लक्ष्यको १८.७३ प्रतिशत ऋण परिचालन भएको छ।

सरकारले आन्तरिक ऋणतर्फ ४ खर्ब १० अर्ब उठाउने लक्ष्य राखेकोमा असोजसम्म १ खर्ब परिचालन गरिसकेको छ। यो वार्षिक लक्ष्यको २४.३९ प्रतिशत हो। बाह्य ऋणतर्फ २ खर्ब ४८ अर्ब २८ करोड उठाउने लक्ष्य रहेकामा २३ अर्ब ३२ करोड मात्रै प्राप्त भएको छ। महिनागत रूपमा साउनमा २३ अर्ब ८४ करोड, भदौमा ३८ अर्ब १० करोड र असोजमा ६१ अर्ब ३७ करोड रुपैयाँ ऋण परिचालन भएको छ। विनिमय दरका कारण १८ अर्ब १६ करोड रुपैयाँ बराबरको लाभसमेत भएको कार्यालयले जनाएको छ।

1

Scroll to Top