विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्समा भएको ठूलो साइबर सुरक्षा उल्लंघनले अन्तर्राष्ट्रिय डिजिटल मुद्रा बजारमा हलचल मच्चाएको छ। प्रारम्भिक विवरणअनुसार घटनामा करिब ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति प्रभावित भएको छ। विश्लेषकहरूले यसलाई क्रिप्टोकरेन्सी इतिहासकै सबैभन्दा ठूलो ह्याकिङ घटनामध्ये एक हुन सक्ने बताएका छन्।
समाचार संस्था रोयटर्सका अनुसार बाइनान्सले साझेदार संस्था तथा अन्य ब्लकचेन प्लेटफर्मको सहयोगमा प्रभावित सम्पत्तिमध्ये करिब ३ अर्ब डलर बराबरको सम्पत्ति रोक्का गर्न सफल भएको जनाएको छ। बाँकी ३ अर्ब ३० करोड डलर बराबरको सम्पत्तिको अवस्थाबारे भने अझै स्पष्ट विवरण सार्वजनिक भएको छैन। बाइनान्सको प्रारम्भिक अनुसन्धानले कम्पनीका एक इन्जिनियरको ल्यापटपमा अनधिकृत पहुँच बनाएर आक्रमणकारीले आन्तरिक प्रणालीसम्म प्रवेश गरेको संकेत गरेको छ। उक्त पहुँच प्रयोग गरी अनुमति नलिई डिजिटल सम्पत्ति कारोबार तथा स्थानान्तरण गरिएको आशंका छ। घटनाको वास्तविक कारण र आक्रमणकारीको पहिचानबारे अनुसन्धान जारी छ।
बाइनान्सकी सहसंस्थापक यी हेले घटनाबाट प्रयोगकर्तालाई पर्न सक्ने सम्पूर्ण आर्थिक क्षति कम्पनीले बेहोर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। कम्पनीले प्रयोगकर्ताको रकम सुरक्षित रहेको दाबी गर्दै प्रणालीको सुरक्षा परीक्षण र वालेट पूर्वाधार सुदृढीकरणलाई प्राथमिकता दिएको छ। सुरक्षा जोखिम नियन्त्रण गर्न सावधानीस्वरूप निक्षेप जम्मा गर्ने र रकम झिक्ने सेवा अस्थायी रूपमा बन्द गरिएको छ। चोरी भएको भनिएको सम्पत्ति पत्ता लगाउन तथा फिर्ता ल्याउन कम्पनीले सुरक्षा निकाय र ब्लकचेन अनुसन्धान संस्थाहरूसँग सहकार्य गरिरहेको जनाएको छ।
क्रिप्टो बजारमा व्यापक प्रभाव
साइबर आक्रमणको खबर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय क्रिप्टोकरेन्सी बजारमा समेत गिरावट देखिएको छ। शुक्रबार एसियाली बजारमा बिटक्वाइनको मूल्य ३ प्रतिशतभन्दा बढीले घटेर ७६ हजार ३६८ अमेरिकी डलरमा झरेको थियो। यो पछिल्लो छ सातायताकै न्यून मूल्य हो। त्यस्तै, दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथेरियमको मूल्य पनि ३ प्रतिशतभन्दा बढीले घटेर २ हजार १७८ डलर पुगेको छ। बाइनान्ससँग सम्बन्धित बीएनबी टोकनको मूल्य पछिल्लो २४ घण्टामा ५ प्रतिशतले घटेर ७०९.७० डलरमा कारोबार भएको तथ्यांक छ। अमेरिकी सेयर बजारमा पनि यसको प्रभाव देखिएको छ। क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी क्वाइनबेसको सेयर विस्तारित कारोबारमा ४.८ प्रतिशतले घट्दा बिटक्वाइनमा ठूलो लगानी रहेको कम्पनी स्ट्राटेजीको सेयर करिब ६ प्रतिशतले ओरालो लागेको छ।
ब्लकचेन अनुसन्धान संस्था चेनएनालाइसिस तथा अन्य क्रिप्टो विज्ञहरूले घटनालाई अत्यन्त ठूलो सुरक्षा उल्लंघनका रूपमा विश्लेषण गरेका छन्। क्रिप्टो अनुसन्धान संस्था टीआरएम ल्याब्स र चेनएनालाइसिसले उत्तर कोरियासँग सम्बन्धित ‘ट्रेडरट्रेटर’ नामक ह्याकर समूहको सम्भावित संलग्नताबारे आकलन गरेका छन्। यद्यपि, यसबारे आधिकारिक पुष्टि भएको छैन। हङकङस्थित ह्यासकी ग्रुपका वरिष्ठ अनुसन्धानकर्ता टिम सनका अनुसार यस्तो घटनाले लगानीकर्ताको जोखिम लिने मनोवृत्तिमा असर पार्नुका साथै केन्द्रीयकृत एक्सचेन्जमा राखिएको डिजिटल सम्पत्तिको सुरक्षाबारे पुनर्विचार गर्न बाध्य बनाउन सक्छ।
३३ करोडभन्दा बढी प्रयोगकर्ता रहेको प्लेटफर्ममा सुरक्षा चुनौती
बाइनान्सको सन् २०२५ को वार्षिक प्रतिवेदनअनुसार कम्पनीका विश्वभर ३३ करोड ५० लाख दर्ता भएका प्रयोगकर्ता छन्। कम्पनीले ग्राहकका तर्फबाट करिब १६२ अर्ब ८० करोड अमेरिकी डलर बराबरको सम्पत्ति अभिरक्षामा राखेको थियो। यसअघि सन् २०२५ मा अर्को क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइबिटमा भएको साइबर आक्रमणबाट करिब १ अर्ब ५० करोड डलर बराबरको डिजिटल सम्पत्ति चोरी भएको थियो। बाइनान्ससँग जोडिएको पछिल्लो घटनाको अनुमानित आकार त्यसको तुलनामा निकै ठूलो देखिएको छ।


