भोटेकोशी करिडोरमा आएको बाढीपहिरोका कारण प्रभावित आयोजनाको सुरुङभित्र खोज तथा उद्धार गर्ने क्रममा ३७ वटा शव फेला परेका छन्। नेपाली सेनाका अनुसार सुरुङभित्रको अवस्था अत्यन्तै जोखिमपूर्ण र जटिल रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। घटनाको ११औँ दिन एक चिनियाँ नागरिकलाई भने जीवितै उद्धार गरिएको छ।
नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले शुक्रबार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उद्धार कार्यको विवरण प्रस्तुत गर्दै सुरुङभित्रको कठिन अवस्थाबारे जानकारी दिएका हुन्।
उनका अनुसार प्रभावित आयोजनामा कोरियन कम्पनीको स्वामित्व तथा कोरियन सब–कन्ट्र्याक्टरमार्फत निर्माण कार्य भइरहेको थियो। आयोजनामा नेपाली, भारतीय, चिनियाँ र कोरियन कामदार कार्यरत थिए। दुई ठूला कामदार क्याम्पसहित ड्याम साइट, पावरहाउस र अन्य क्षेत्रमा काम भइरहेको थियो।
९.७ किलोमिटर लामो सुरुङको नक्सा प्राप्त भएपछि दुई जना इन्जिनियरसँग समन्वय गरेर खोज तथा उद्धारको योजना बनाइएको सहायक रथी थापाले बताए। प्रारम्भिक रेकीका क्रममा सुरुङभित्र प्रवेश गर्न सकिने दुईवटा सम्भावित स्थान मात्रै फेला परेका थिए। अन्य प्रवेश मार्ग बाढीपहिरोका कारण पूर्ण रूपमा अवरुद्ध थिए।
नेपाली सेना, चिनियाँ र कोरियन टोलीले संयुक्त रूपमा उद्धार अभियान सञ्चालन गरेका थिए। पावरहाउस क्षेत्रमा कार्यरत १२० देखि १३० जनामध्ये ११० जनालाई ४८ घण्टाभित्र हेलिकप्टरबाट उद्धार गरिएको थियो। तर, डिसेन्डर बेसिन क्षेत्रमा हेलिकप्टर अवतरण गर्न नसकिने भएकाले उद्धार टोलीले जोखिम मोलेर सुरुङभित्रै प्रवेश गर्नुपरेको थियो।
सुरुङभित्र अत्यधिक हिलो, साँघुरो बाटो र अक्सिजनको कमीका कारण उद्धार कार्य थप कठिन बनेको थियो। कतिपय स्थानमा कम्प्रेसर मेसिन प्रयोग गरेर अवरोध हटाउँदै टोली अघि बढेको थियो। अडिट–३ बाट अस्ट्रेलियन उद्धार टोलीको ड्रोन प्रयोग गरी सुरुङभित्र करिब एक हजार ७०० मिटर अगाडिसम्मको अवस्था अध्ययन गरिएको थियो।
खोजीका क्रममा हेडवर्क क्षेत्रमा ठूला मेसिन, मिक्सर, एक्स्काभेटर र ट्रकहरू थुप्रिएको अवस्थामा भेटिएका थिए। सोही क्षेत्रमा ३७ वटा शव फेला परेको सहायक रथी थापाले जानकारी दिए। सुरुङको अवस्थाले बाढीको प्रारम्भिक झड्कामै ठूलो क्षति पुगेको संकेत गर्ने उनको भनाइ छ।
उनका अनुसार सुरुङको माथिल्लो भागमा ढलानको काम भइरहेको स्थानबाट ११औँ दिन एक चिनियाँ नागरिकलाई सकुशल उद्धार गरिएको थियो। ती नागरिकले हेलमेटमा पानी जम्मा गरेर पिउँदै र सुरुङभित्र हिँडेर समय बिताएको प्रारम्भिक जानकारी दिएका थिए। उद्धारका बेला उनी स्वस्थ अवस्थामा रहेको थापाले बताए।
हाल हेडवर्कबाट अडिट–३ हुँदै करिब १.७ किलोमिटरसम्म मात्रै पुग्न सकिएको छ। त्यसपछिको भागमा प्रवेश गर्न सम्भव भएको छैन। सुरुङको करिब चार किलोमिटर क्षेत्रमा २१ फिट अग्लो सुरुङमा १७ फिटसम्म पानी र लेदो जमेको छ। अडिट–१ बाट पानी निकाल्ने विकल्पबारे आयोजना तथा इन्जिनियरिङ टोलीसँग छलफल भइरहेको छ।
नेपाली सेनाका ४२ जना जनशक्ति हाल पनि घटनास्थलमा परिचालन छन्। सुरुङभित्र बाँकी खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।


