Banijya News

लुम्बिनी-गोवा सीधा उडानको प्रस्ताव, होला एउटै पर्यटन सर्किटमा जोड्ने काम ?

1
1.0K Shares

नेपालको प्रमुख धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्य लुम्बिनी र भारतको प्रसिद्ध समुद्री पर्यटकीय क्षेत्र गोवालाई एउटै पर्यटन सर्किटमा जोड्ने पहल अघि बढाइएको छ। दुवै देशका पर्यटकीय गन्तव्यबीच सहकार्य विस्तार गर्दै पर्यटकको आवागमन बढाउने उद्देश्यले भैरहवा-गोवा सीधा हवाई उडान सञ्चालन गर्नेसहितका प्रस्ताव अघि सारिएका हुन्।

भारतको गोवामा आयोजित ‘भाइब्रेन्ट गोवा ग्लोबल बिजनेस समिट-२०२६’ मा सहभागी नेपाली प्रतिनिधिमण्डलले गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्तसँग भेट गरी पर्यटन तथा व्यावसायिक साझेदारीका विषयमा छलफल गरेको हो। नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले लुम्बिनी र गोवाबीच पर्यटन प्रवर्द्धनका लागि संयुक्त कार्यक्रम सञ्चालन गर्न प्रस्ताव गरेको थियो। भेटका क्रममा भैरहवा-गोवा सीधा हवाई उडान, संयुक्त पर्यटन प्याकेज निर्माण तथा पर्यटन र सेवामूलक क्षेत्रमा लगानी साझेदारीका विषयलाई प्राथमिकताका साथ उठाइएको अध्यक्ष पोखरेलले जानकारी दिएका छन्।

प्रतिनिधिमण्डलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा उपयोग गर्दै नेपाल र भारतबीच पर्यटकीय आवागमन विस्तार गर्न सकिने धारणा राखेको थियो। विशेषगरी लुम्बिनी आउने भारतीय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई गोवासम्म पुर्‍याउने र गोवा भ्रमणमा आउने पर्यटकलाई लुम्बिनीसम्म आकर्षित गर्ने गरी संयुक्त पर्यटन प्याकेज तयार गर्न सकिने प्रस्ताव गरिएको थियो।

यसका लागि भैरहवाबाट गोवासम्म सीधा हवाई सम्पर्क स्थापना गर्न सके दुवै क्षेत्रको पर्यटन व्यवसायले लाभ लिन सक्ने प्रतिनिधिमण्डलको भनाइ थियो। सीधा उडान सञ्चालन भएमा पर्यटकको यात्रा सहज हुनुका साथै समय र खर्चसमेत घट्ने अपेक्षा गरिएको छ। नेपाली प्रतिनिधिमण्डलको प्रस्तावप्रति गोवाका मुख्यमन्त्री सावन्तले सकारात्मक धारणा व्यक्त गरेका थिए। उनले नेपाल र गोवाबीच पर्यटन तथा व्यावसायिक सम्बन्ध विस्तारका लागि सहकार्य गर्न सकिने बताएका थिए। पर्यटन प्रवर्द्धनसँगै लगानीका सम्भावित क्षेत्र पहिचान गरी दुवै पक्षबीच साझेदारी अघि बढाउन सकिने विषयमा पनि छलफल भएको जनाइएको छ।

लुम्बिनी र गोवाको पर्यटकीय विशेषता फरक भए पनि एकअर्काका परिपूरक मानिन्छन्। गौतम बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्बीका लागि महत्वपूर्ण तीर्थस्थल हो। यहाँ विश्वका विभिन्न देशबाट धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक पर्यटनका लागि पर्यटक आउने गरेका छन्। अर्कोतर्फ गोवा समुद्री तट, प्राकृतिक सौन्दर्य, मनोरञ्जन, होटल तथा आतिथ्य सेवाका कारण भारतकै लोकप्रिय पर्यटकीय गन्तव्यका रूपमा परिचित छ।

1

Scroll to Top