Banijya News

काठमाडौंमा ११औँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुँदै

1
1.0K Shares

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आयोजनामा आगामी मंसिर १७ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ११औँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२६ आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रवर्द्धन, अन्तर्राष्ट्रिय व्यापार विस्तार तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा मेला सञ्चालन हुनेछ । मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानलगायत विभिन्न देशका व्यवसायी तथा प्रदर्शकको सहभागिता रहनेछ ।

आयोजकका अनुसार मेलामा २०० भन्दा बढी स्टलमार्फत स्वदेशी तथा विदेशी वस्तु र सेवाको प्रदर्शनी गरिनेछ । पाँच दिनसम्म सञ्चालन हुने मेलामा करिब एक लाख स्वदेशी तथा विदेशी अवलोकनकर्ताले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।

मेलाबारे जानकारी दिँदै महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन, निजी क्षेत्रको मनोबल बढाउन र व्यापारिक गतिविधि विस्तार गर्न अन्तर्राष्ट्रिय व्यापार मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताए । बजारमा माग कमजोर रहेको, निजी लगानी अपेक्षित रूपमा विस्तार हुन नसकेको र उद्योग व्यवसायीको मनोबल घटेको अवस्थामा उपलब्ध वित्तीय स्रोत, ऊर्जा र उद्यमशीलतालाई उत्पादन, लगानी तथा रोजगारीमा रूपान्तरण गर्नुपर्ने उनको भनाइ थियो ।

श्रेष्ठले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलालाई नेपाली उत्पादन तथा सेवालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने महत्वपूर्ण व्यावसायिक प्लेटफर्मका रूपमा विकास गरिएको बताए । मेलाले उत्पादक, क्रेता, वितरक, आयातकर्ता तथा निर्यातकर्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी व्यापार विस्तार, लगानी आकर्षण र व्यावसायिक साझेदारी विकासमा सहयोग पुर्‍याउने उनले विश्वास व्यक्त गरे ।

मेलामा नेपाली उत्पादनको अन्तर्राष्ट्रिय पहिचान र बजार विस्तारलाई विशेष प्राथमिकता दिइनेछ । यसका लागि मेड इन नेपाल पेभेलियन तथा विभिन्न वस्तुगत संघका पेभेलियनमार्फत स्वदेशी उत्पादन प्रदर्शन गरिनेछ । हस्तकला, कृषि उत्पादन, जडीबुटी, गलैँचा, पश्मिना, चिया, कफी, अलैँची, अदुवा, नेपाली कागज तथा तयारी पोसाकलगायत निर्यात सम्भावना भएका वस्तुलाई विशेष स्थान दिइने आयोजकले जनाएको छ ।

अध्यक्ष श्रेष्ठले नेपाली उत्पादनको गुणस्तर, प्याकेजिङ, ब्रान्डिङ र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नुपर्नेमा जोड दिए । स्थानीय तथा साना उद्यमीका उत्पादनलाई बजारसम्म पुर्‍याउने, महिला तथा युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने र स्वदेशी उत्पादनको व्यावसायीकरणमार्फत रोजगारी सिर्जना गर्ने अवसरका रूपमा मेलालाई उपयोग गर्नुपर्ने उनको भनाइ थियो । उनले मेला स्थललाई व्यवस्थित र स्तरीय बनाउन सरकारसँग आग्रहसमेत गरे ।

महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले मेलाको नियमित आयोजनाले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन, विदेशी लगानी तथा प्रविधि आकर्षण र व्यावसायिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताए । यसले स्थानीयस्तरमा उत्पादित वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

मेला समिति सभापति सविन श्रेष्ठले यस वर्षको मेलालाई विगतका वर्षभन्दा थप व्यवस्थित, प्रभावकारी र व्यावसायिक बनाउने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय खरिदकर्तालाई आमन्त्रण गरी नेपाली उत्पादक तथा निर्यातकर्तासँग प्रत्यक्ष अन्तरक्रिया र व्यावसायिक भेटघाट गराउने कार्यक्रम तय गरिएको छ । विशेषगरी नेपाली र चिनियाँ व्यवसायीबीच प्रत्यक्ष अन्तरक्रिया गराइनेछ ।

मेलामा हस्तकला, पर्यटन, सूचना तथा प्रविधि, कृषि, ऊर्जा, भवन तथा निर्माण सामग्री, शिक्षा र व्यावसायिक सेवासम्बन्धी छुट्टाछुट्टै स्टल रहनेछन् । विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिसँग द्विपक्षीय व्यापार, लगानी तथा व्यावसायिक साझेदारीका सम्भावनाबारे छलफलसमेत गरिनेछ ।

स्थानीय उत्पादन तथा साना उद्यमीलाई प्रोत्साहन गर्न महासंघको नेतृत्वमा विभिन्न प्रदेश, जिल्ला तथा वस्तुगत संघमार्फत आयोजना भएका मेलामा उत्कृष्ट ठहरिएका स्टल तथा उत्पादनलाई यस मेलामा निःशुल्क स्टल उपलब्ध गराउने व्यवस्था गरिएको सभापति श्रेष्ठले बताए ।

मेलामार्फत जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधि तथा उत्पादनमूलक उद्योगमा विदेशी लगानी र प्रविधि आकर्षित गर्ने लक्ष्यसमेत राखिएको छ । महासंघले सरकार र निजी क्षेत्रबीचको सहकार्य, नीतिगत स्थिरता, लगानीको सुरक्षा तथा व्यवसायमैत्री वातावरण निर्माणबाट व्यापार र लगानी विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

आयोजकले मेलालाई केवल वस्तु तथा सेवाको प्रदर्शनीमा सीमित नराखी व्यापारिक कारोबार, लगानी र दीर्घकालीन व्यावसायिक साझेदारी निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्न स्वदेशी तथा विदेशी व्यवसायी, उद्योगी, उद्यमी र सर्वसाधारणलाई आग्रह गरेको छ ।

1

Scroll to Top