फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा टीएम १ विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ । नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार गर्ने उद्देश्यसहित कम्पनीले उक्त सवारीसाधन हस्तान्तरण गरेको हो ।
एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स् प्रालिअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले ‘टुगेदर टुवार्ड्स ग्रिनर फ्युचर’ नारासहित हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमले दुवै संस्थाको वातावरणमैत्री यातायात प्रणाली विकास र दिगो व्यावसायिक अभ्यासप्रतिको साझा प्रतिबद्धता झल्काएको कम्पनीले जनाएको छ ।
भाटभटेनी सुपरमार्केटले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा विद्युतीय सवारीसाधन समावेश गर्नुले व्यावसायिक सञ्चालनसँगै वातावरण संरक्षणलाई पनि प्राथमिकता दिएको कम्पनीको भनाइ छ ।
फोटोन टीएम१ विद्युतीय सवारीसाधन वातावरणमैत्री प्रविधि, सञ्चालन खर्चमा बचत र भरपर्दो कार्यक्षमताका कारण व्यावसायिक ढुवानीका लागि उपयोगी विकल्प बन्न सक्ने कम्पनीले जनाएको छ । यसले व्यावसायिक ढुवानीमा इन्धन खर्च घटाउन तथा प्रदूषण न्यूनीकरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स्का प्रमुख कार्यकारी अधिकृत अनिलकुमार बरालले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यले नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने बताए ।
भाटभटेनीजस्तो लाखौँ नेपालीको विश्वास जित्न सफल संस्थासँग सहकार्य गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले १४ वटा फोटोन टीएम१ विद्युतीय सवारीसाधन हस्तान्तरण व्यावसायिक उपलब्धि मात्र नभई दिगो यातायातप्रतिको बढ्दो विश्वासको उदाहरण भएको बताए ।
नेपाली व्यवसायको आवश्यकता र बजारको मागअनुसार विश्वसनीय तथा आधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराउनु कम्पनीको प्राथमिकता रहेको पनि उनले स्पष्ट पारे ।
त्यसैगरी, कार्यक्रममा बोल्दै भाटभटेनी सुपरमार्केटका निर्देशक पहलमान गुरुङले वातावरणमैत्री व्यवसाय सञ्चालनलाई संस्थाले प्राथमिकतामा राख्दै आएको बताए । ढुवानी तथा वितरण प्रणालीमा विद्युतीय सवारीसाधनको प्रयोगले वातावरण संरक्षण र दिगो व्यावसायिक अभ्यासलाई थप प्रोत्साहन गर्ने उनको भनाइ थियो ।


