नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकको कमजोर आर्थिक अवस्था सुधार गर्न सरकारलाई आग्रह गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले अर्थतन्त्र सुधारका लागि अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गर्दै उनले आर्थिक अवस्था सुधारलाई प्राथमिकतामा राख्न सुझाव दिएका हुन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सभापति थापाले सरकारका काम-कारबाहीप्रति पाँचवटा असन्तुष्टि सार्वजनिक गरेका थिए । उनले सञ्चारगृहमा प्रहरी प्रवेश, पत्रकार पक्राउ, कर्मचारीमाथि धरपकड, छानबिन समितिका प्रतिवेदन सार्वजनिक नगरिएको तथा मुलुकको कमजोर आर्थिक अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराए ।
थापाले मुलुकको अर्थतन्त्र लथालिंग अवस्थामा पुगेको भन्दै यस्तो अवस्थामा सरकारले आर्थिक सुधारका लागि विशेष ध्यान दिनुपर्ने बताए । अर्थतन्त्र सुधारका लागि सरकारले आवश्यक कदम चालेमा नेपाली कांग्रेसले सहयोग गर्ने उनको प्रतिबद्धता थियो ।
“अर्थतन्त्र लथालिंग भएको छ । यस्तो बेलामा सरकारको ध्यान यो विषयमा जाओस् । यसमा कांग्रेसले साथ दिन्छ,” उनले भने ।
सभापति थापाले जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पाँच वर्ष सरकार सञ्चालन गर्ने जिम्मेवारी दिएको उल्लेख गर्दै नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहने स्पष्ट पारे । सरकारले प्रतिपक्षी दलको भूमिका र जिम्मेवारीलाई सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।
“कांग्रेस पाँच वर्ष प्रतिपक्षमा छ । सरकारले यो कुरा बुझोस् र सम्मान गरोस्,” उनले भने ।
लोकतन्त्रमा प्रतिपक्षी दलको मुख्य जिम्मेवारी सरकारका गतिविधिमाथि निगरानी गर्ने, गलत कामको खबरदारी गर्ने र सरकारलाई जवाफदेही बनाउने रहेको थापाले बताए । सरकारका निर्णय तथा काम–कारबाहीमाथि प्रश्न उठाउनु प्रतिपक्षीको लोकतान्त्रिक अधिकार भएको उनको भनाइ थियो ।
उनले सरकार स्वेच्छाचारी बन्ने र आफ्ना निर्णयप्रति जवाफदेही नहुने प्रवृत्ति स्वीकार्य नहुने चेतावनीसमेत दिए । नागरिकलाई डर र त्रासमा राखेर शासन गर्ने शैली लोकतान्त्रिक व्यवस्थामा मान्य नहुने उनले स्पष्ट पारे ।
“लोकतन्त्रको सवालमा खबरदारी गर्ने काम हाम्रो हो । निगरानी गर्ने काम हाम्रो हो । सरकार स्वेच्छाचारी हुने र जवाफदेही नहुने कुरा हामीलाई स्वीकार्य छैन । डरबाट शासन गर्ने शैली स्वीकार्य छैन,” थापाले भने ।
कांग्रेसले सरकारलाई आर्थिक सुधारसँगै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक मूल्य मान्यताको सम्मान गर्न पनि आग्रह गरेको छ । प्रतिपक्षी दलको भूमिकालाई कमजोर बनाउने नभई रचनात्मक सुझाव र आलोचनालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने कांग्रेसको धारणा छ ।


