नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले सामाजिक सञ्जाल प्लेटफर्म टिकटकसँग सहकार्य गरेको छ । यस अभियानअन्तर्गत सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता नेपाल आएका छन् ।
नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बंगलादेश र श्रीलंकाका सामग्री निर्माता नेपाल आएका हुन् । उनीहरूले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, हिमाली क्षेत्र, साहसिक पर्यटन तथा स्थानीय जनजीवन समेटिएका श्रव्यदृश्य सामग्री तयार गर्नेछन् ।
तयार गरिएका भिडियो तथा सामग्री टिकटकसहित विभिन्न सामाजिक सञ्जालमार्फत विश्वभरका दर्शकमाझ पुर्याइनेछ । यसबाट नेपालको पर्यटकीय गन्तव्यबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुका साथै विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने लक्ष्य राखिएको छ ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार विदेशी सामग्री निर्माताहरूले काठमाडौं, पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय स्थलको भ्रमण गरी भिडियो तथा अन्य सामग्री तयार गर्नेछन् ।
उनीहरूले काठमाडौंका ऐतिहासिक तथा सांस्कृतिक सम्पदा, पोखराको प्राकृतिक सुन्दरता, चितवनको वन्यजन्तु पर्यटन र बर्दियाको जैविक विविधतालगायत विषयलाई आफ्ना सामग्रीमा समेट्नेछन् । यसका साथै नेपालको मौलिक संस्कृति, परम्परा, खानपान र स्थानीय जीवनशैलीलाई पनि प्राथमिकता दिइनेछ ।
पछिल्लो समय सामाजिक सञ्जाल पर्यटन प्रवर्द्धनको प्रभावकारी माध्यम बन्दै गएको छ । विशेषगरी टिकटकमा छोटो भिडियोमार्फत कुनै स्थानको प्राकृतिक सुन्दरता, संस्कृति र पर्यटकीय गतिविधि विश्वभरका प्रयोगकर्तासम्म सहजै पुर्याउन सकिन्छ । यही सम्भावनालाई उपयोग गर्दै पर्यटन बोर्डले अन्तर्राष्ट्रिय सामग्री निर्मातासँग सहकार्य गरेको हो ।
यस अभियानले नेपालको पर्यटनलाई नयाँ पुस्ताका अन्तर्राष्ट्रिय दर्शकमाझ चिनाउन, पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न र डिजिटल माध्यमबाट पर्यटन बजार विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनका दृष्टिले सम्भावनायुक्त गन्तव्य रहेकाले यस्ता अन्तर्राष्ट्रिय प्रचार अभियानले विदेशी पर्यटकको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने पर्यटन बोर्डको विश्वास छ ।


