नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको आर्थिक रूपान्तरणका लागि युवा तथा महिला उद्यमशीलताको विकास र उद्योग तथा शैक्षिक क्षेत्रबीचको सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, सुदूरपश्चिम विश्वविद्यालय र कैलाली बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा धनगढीमा आयोजित ‘सुदूरपश्चिम प्रदेश नवप्रवर्तन (स्टार्टअप एन्ड इनोभेसन) समिट २०८३’ को उद्घाटन सत्रमा बोल्दै उहाँले स्वदेशमै उत्पादन, रोजगारी र उद्यमशीलताको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले उपभोग्य वस्तुदेखि रोजगारीका अवसरसम्म विदेशमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न युवालाई उद्यमशीलतामा जोड्नुपर्ने बताउनुभयो । मुलुकलाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउन सबै क्षेत्रले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने उहाँको भनाइ थियो ।
अध्यक्ष श्रेष्ठले स्टार्टअप र नवप्रवर्तनलाई प्रोत्साहन गर्न महासंघले नीतिगत तहमा पहल गर्दै आएको जानकारी दिनुभयो । महासंघको सहयोगमा स्टार्टअपसम्बन्धी नीतिगत मस्यौदा तयार गर्न सरकारलाई सहयोग गरिएको उल्लेख गर्दै उहाँले हाल सञ्चालनमा रहेको २० लाख रुपैयाँसम्मको स्टार्टअप कर्जा कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
स्टार्टअप कर्जाको अवधि पाँच वर्षबाट बढाएर १० वर्ष पुर्याउनुपर्ने र सामूहिक रूपमा सञ्चालन गरिने ठूला तथा नवप्रवर्तनकारी परियोजनाका लागि दुई करोडदेखि पाँच करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गर्न उहाँले राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमक्ष माग गर्नुभयो ।
महासंघको स्टार्टअप एन्ड इनोभेसन कमिटी तथा युवा उद्यमी मञ्चमार्फत हरेक वर्ष १०० भन्दा बढी नयाँ उद्यमीलाई ‘स्टार्टअप च्यालेन्ज’ मार्फत पुरस्कृत तथा प्रोत्साहित गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
उद्योगको आवश्यकता र विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिको सीपबीच तालमेल हुन नसकेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले पाठ्यक्रमलाई बजारको मागअनुसार परिमार्जन गर्नुपर्ने बताउनुभयो । विद्यार्थीलाई अध्ययनसँगै उद्योगको वास्तविक कार्यवातावरणमा अनुभव प्राप्त गर्ने अवसर दिनुपर्ने उहाँको सुझाव थियो । यसका लागि महासंघले काठमाडौं, त्रिभुवन र गण्डकी विश्वविद्यालयसँग सहकार्य गरिरहेको उहाँले बताउनुभयो ।
महिलाको आर्थिक सशक्तीकरणलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उहाँले महिलालाई उत्पादन, उद्यम र रोजगारीमा सहभागी नगराई समृद्धिको लक्ष्य हासिल गर्न नसकिने उल्लेख गर्नुभयो ।
राष्ट्र बैंकको अध्ययनअनुसार आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन चार खर्ब ६३ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । प्रदेशको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.२८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । त्यस्तै, प्रदेशका उद्योगको औसत क्षमता उपयोग ५१.२९ प्रतिशत रहेको छ ।
अध्यक्ष श्रेष्ठले स्थानीय उत्पादनको बजारीकरण, सीप विकास र रोजगारी सिर्जनाका लागि प्रदेश सरकार तथा स्थानीय तहसँग सहकार्य विस्तार गर्ने बताउनुभयो । श्रम मन्त्रालयसँगको सहकार्यमा सातै प्रदेशमा सीप विकास तथा रोजगार मेला सञ्चालन गर्ने महासंघको योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।
नवप्रवर्तन, उद्यमशीलता, प्रविधि र निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिएर अघि बढ्न सके सुदूरपश्चिमसहित समग्र मुलुकको आर्थिक विकासमा योगदान पुग्ने उहाँको विश्वास थियो । नेपालको विकासका लागि आफ्नै उत्पादन, सीप र उद्यमशीलताको क्षमता अभिवृद्धि गर्नुपर्ने उहाँले बताउनुभयो ।


