आन्तरिक राजस्व विभागले कात्तिक महिनाको पहिलो पन्ध्र दिनका लागि सञ्चालन गरेको ‘पाक्षिक करदाता प्रोत्साहन पुरस्कार’ कार्यक्रमका विजेताहरूको नाम आज सार्वजनिक गर्ने भएको छ। कर प्रणालीमा नागरिकको सहभागिता बढाउने र नियमित रूपमा कर तिर्ने करदातालाई प्रोत्साहित गर्ने उद्देश्यले विभागले पुरस्कार कार्यक्रम सञ्चालन गरेको हो।
विभागका अनुसार यसपटक कुल १६ जना विजेता छनोट गरिनेछ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजना हुने कार्यक्रममा १५ जना नियमित पुरस्कार विजेता र एक जना बम्पर पुरस्कार प्राप्त गर्ने व्यक्तिको नाम घोषणा गरिनेछ।
कात्तिक १ गतेदेखि १५ गतेसम्मको कारोबार तथा करसम्बन्धी सहभागितालाई आधार बनाएर विजेता छनोट गर्न लागिएको विभागले जनाएको छ। यस कार्यक्रममार्फत करदातालाई औपचारिक अर्थतन्त्रमा आबद्ध हुन र करसम्बन्धी दायित्व नियमित रूपमा पूरा गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
यसपटकको पुरस्कार घोषणा कार्यक्रमलाई थप आकर्षक बनाउन नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी चर्चित क्रिकेट खेलाडीहरूलाई समेत सहभागी गराइने भएको छ।



