Banijya News

एक महिनाभित्र सबै स्थानीय तहबाटै जग्गासम्बन्धी सेवा पाइने

1
1.1K Shares

नागरिकले जग्गासम्बन्धी प्रशासनिक कामका लागि जिल्ला सदरमुकाम तथा विभिन्न सरकारी कार्यालय धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यले सरकारले भूमि प्रशासनका सेवा स्थानीय तहबाटै उपलब्ध गराउने प्रक्रिया तीव्र बनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहमा यस्तो सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको योजनाबारे सार्वजनिक गर्दै हालसम्म ३३ वटा स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन भइरहेको बताएका छन्। बाँकी स्थानीय तहमा पनि निर्धारित समयभित्र सेवा विस्तार गर्न आवश्यक तयारी अघि बढाइएको उनको भनाइ छ।

संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य उद्देश्य राज्यका सेवा र सुविधा नागरिकको घरदैलोसम्म पुर्‍याउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले जग्गासम्बन्धी प्रशासनिक सेवा पनि नागरिककै नजिकबाट उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमा भूमि प्रशासनका सेवा स्थानीय तहबाट सञ्चालन गर्ने विषयलाई महत्वपूर्ण योजनाका रूपमा समेटेको छ। यसलाई प्रभावकारी बनाउन संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार अधिकार हस्तान्तरणको प्रक्रिया अगाडि बढाइएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ मा भएका व्यवस्थालाई आधार बनाएर स्थानीय तहमा भूमि प्रशासनसम्बन्धी जिम्मेवारी विस्तार गर्न लागिएको हो।

प्रधानमन्त्री शाहका अनुसार सेवा सञ्चालनका क्रममा स्थानीय तहलाई आवश्यक प्राविधिक, प्रशासनिक तथा अन्य सहयोग उपलब्ध गराइनेछ। बाँकी स्थानीय तहले पनि एक महिनाभित्र सेवा सुरु गर्न सक्ने गरी सरकारले सहजीकरण गर्ने योजना बनाएको छ।

1

Scroll to Top