खानेतेल प्रशोधन तथा उत्पादन क्षेत्रमा सक्रिय एबीसी आयल इन्डस्ट्रिज प्रालिको व्यावसायिक कारोबारमा उल्लेख्य वृद्धि देखिएको छ। कम्पनीले सन् २०२६ मा आफ्नो कारोबार अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले बढाउँदै ७ अर्ब १० करोड रुपैयाँभन्दा माथि पुर्याएको छ। उपलब्ध वित्तीय विवरणअनुसार कम्पनीले सन् २०२५ मा ४ अर्ब ४२ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो। एक वर्षको अवधिमा कारोबारमा उल्लेख्य विस्तार हुँदै सन् २०२६ मा ७ अर्ब १० करोड ३० लाख रुपैयाँ पुगेको हो। यसअघि सन् २०२४ मा कम्पनीको कारोबार १ अर्ब ४१ करोड ३० लाख रुपैयाँ मात्रै थियो। लगातारको कारोबार वृद्धिले कम्पनीले छोटो समयमै आफ्नो व्यावसायिक गतिविधि विस्तार गरेको देखाउँछ। विशेषगरी कच्चा तेल प्रशोधन गरी विभिन्न प्रकारका खानेतेल उत्पादन गर्ने व्यवसायमा कम्पनीको संलग्नता रहेको छ।
सञ्चालन आम्दानी र नगद प्रवाहमा सुधार
कारोबारसँगै कम्पनीको सञ्चालन क्षमतामा पनि सुधार देखिएको छ। गत आर्थिक वर्षमा कम्पनीले ७ देखि ८ प्रतिशतसम्म सञ्चालन मार्जिन कायम गरेको विवरणमा उल्लेख छ। त्यसैगरी, कम्पनीको ग्रस क्यास अक्रुअल पनि बढेको छ। सन् २०२५ मा २० करोड ५० लाख रुपैयाँ रहेको यस्तो रकम सन् २०२६ मा बढेर ३१ करोड ८० लाख रुपैयाँ पुगेको छ। यसले कम्पनीको सञ्चालनबाट सिर्जना हुने नगद प्रवाहमा सकारात्मक परिवर्तन आएको संकेत गर्छ। कम्पनीको वित्तीय अवस्थाको मूल्यांकन गर्दा कारोबार विस्तारसँगै ऋण व्यवस्थापन र ब्याज भुक्तानी क्षमतालाई पनि महत्वपूर्ण रूपमा हेरिएको छ।
७३ हजार मेट्रिक टन प्रशोधन क्षमता
सन् २०२१ मा स्थापना भएको एबीसी आयल इन्डस्ट्रिजले सन् २०२२ देखि व्यावसायिक कारोबार सुरु गरेको थियो। कम्पनीले कच्चा तेल प्रशोधन गरी बजारमा विभिन्न प्रकारका खानेतेल उपलब्ध गराउँदै आएको छ। सन् २०२५ मा कम्पनी पब्लिक कम्पनीका रूपमा परिणत भएको थियो। कम्पनीको वार्षिक प्रशोधन क्षमता ७३ हजार मेट्रिक टन रहेको छ। यसमध्ये ४९ हजार मेट्रिक टन भटमासको तेल प्रशोधन गर्न सक्ने क्षमता छ। त्यस्तै, पाम तेल र सन्फ्लावर तेल प्रशोधन क्षमता समान १२/१२ हजार मेट्रिक टन रहेको छ। विभिन्न प्रकारका कच्चा तेल प्रशोधन गर्न सक्ने संरचनाका कारण कम्पनीले उत्पादन विविधीकरणमा समेत ध्यान दिएको देखिन्छ। बढ्दो कारोबारले कम्पनीको उत्पादन तथा बजार विस्तारमा भएको प्रगतिलाई संकेत गरेको छ।
ऋणको आकारसँगै वित्तीय जोखिम पनि बढ्दो
कारोबार र नगद प्रवाहमा सुधार भए पनि कम्पनीको ऋणसँग सम्बन्धित केही वित्तीय सूचकमा दबाब देखिएको छ। कम्पनीको समग्र गियरिङ अनुपात सन् २०२५ को ३.५६ गुणाबाट बढेर सन् २०२६ मा ३.८७ गुणा पुगेको छ। यसैगरी, कुल ऋण र ग्रस क्यास अक्रुअलबीचको अनुपात पनि बढेको छ। सन् २०२५ मा ८.७२ गुणा रहेको यस्तो अनुपात सन् २०२६ मा ९.०६ गुणा पुगेको छ। यसले कम्पनीको ऋणको तुलनामा सञ्चालनबाट सिर्जना हुने नगद प्रवाहको अवस्था अझै ध्यान दिनुपर्ने रहेको देखाउँछ। कुल बाह्य दायित्व र ट्यान्जिबल नेटवर्थको अनुपात पनि ३.६० गुणाबाट बढेर ३.९० गुणा पुगेको छ। यी सूचकले कम्पनीको वित्तीय संरचनामा ऋणको हिस्सा बढ्दै गएको संकेत गर्छन्।
यद्यपि, ब्याज भुक्तानी क्षमतामा भने सुधार देखिएको छ। कम्पनीको ब्याज कभरेज अनुपात सन् २०२५ मा ३ गुणा रहेकोमा सन् २०२६ मा बढेर ३.८७ गुणा पुगेको छ। यसले ब्याज खर्च धान्ने क्षमतामा सुधार भएको देखाउँछ।
३ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको कर्जा रेटिङ
सञ्जय कोइराला अध्यक्ष रहेको एबीसी आयल इन्डस्ट्रिजले आफ्नो दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ३ अर्ब ३० करोड ८ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ। कम्पनीले दीर्घकालीन कर्जाका लागि ४० करोड ८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ९० करोड रुपैयाँ बराबरको रेटिङ गराएको हो।


