खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्षका लागि किसानबाट धान खरिद गर्ने प्रक्रिया यसै सातादेखि सुरु गर्ने तयारी गरेको छ। खरिद व्यवस्थापनका लागि देशभरका सम्बन्धित जिल्लामा पत्राचार गरिसकिएको कम्पनीले जनाएको छ। प्राथमिक समितिको निर्णयपछि यही साताको बिहीबार वा शुक्रबारदेखि धान खरिद थाल्ने लक्ष्य राखिएको छ।
कम्पनीका खरिद व्यवस्थापन शाखा प्रमुख अनन्तराज पौडेलका अनुसार धान खरिद सुरु गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने प्राथमिक समितिको बैठक आवश्यक पर्छ। त्यसका लागि बैठकको तयारी भइरहेको छ। केही स्थानमा प्रारम्भिक बैठक सम्पन्न भइसकेको र बाँकी स्थानमा बैठक बसेपछि खरिद प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।
धान काट्ने समय पश्चिम क्षेत्रमा पहिले सुरु हुने भएकाले प्रारम्भिक चरणमा सुदूरपश्चिमका धनगढी, महेन्द्रनगर र राजापुरबाट खरिद थालिनेछ। तिहार नजिकिँदै गरेकाले पर्वअघि नै किसानबाट धान संकलन सुरु गर्ने कम्पनीको योजना छ।
यस वर्ष कम्पनीले एक लाख ५० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ। त्यसका लागि ६६ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ। सरकारले मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ र मध्यम धानको तीन हजार ८६० रुपैयाँ तोकेको छ। कम्पनीले यही सरकारी मूल्यलाई आधार मानेर खरिद गर्ने जनाएको छ।
कम्पनीका अनुसार यस वर्ष पनि धान उत्पादन हुने मुख्य क्षेत्रलाई प्राथमिकता दिँदै १३ देखि १४ जिल्लाका विभिन्न स्थानमा खरिद केन्द्र सञ्चालन गरिनेछ। महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगञ्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, वीरगञ्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोडमा केन्द्र रहनेछन्। स्थानीय तहसँग समन्वय गरेर आवश्यकताअनुसार थप तीनदेखि छ वटासम्म डिपो सञ्चालन गर्न सकिने पौडेलले बताए।
गत वर्ष कम्पनीले ७० करोड रुपैयाँ बजेटमार्फत एक लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको थियो। तर, वास्तविक खरिद एक लाख ४८ हजार क्विन्टलमा सीमित भएको थियो। यस वर्ष खरिद लक्ष्य पनि गत वर्षको तुलनामा घटाइएको छ।
किसानलाई खरिद रकम सिधै बैंक खातामा पठाउने व्यवस्था गरिएको छ। यस वर्षदेखि शतप्रतिशत अनलाइन बिलिङ प्रणाली लागू गरिने भएकाले कारोबार र भुक्तानी प्रक्रियालाई व्यवस्थित तथा छरितो बनाउने अपेक्षा कम्पनीको छ। समर्थन मूल्य कार्यान्वयन र ढुवानी सहज बनाउन सरकारले एक करोड रुपैयाँ अनुदानसमेत उपलब्ध गराएको छ।
कम्पनीसँग देशभर पहाड र तराईमा गरी एक लाख ६९ हजार टन खाद्यान्न भण्डारण क्षमता छ। तराई क्षेत्रमा धान राख्न सकिने ६ देखि सात लाख क्विन्टल क्षमताका गोदाम सञ्चालनमा छन्। आवश्यक मर्मत गरेमा भण्डारण क्षमता १० लाख क्विन्टलसम्म पुर्याउन सकिने कम्पनीले जनाएको छ।



