सरकारी सेवामा रहँदा स्रोत नखुलेको ९ करोड ७२ लाख रुपैयाँभन्दा बढी सम्पत्ति आर्जन गरेको आरोपमा मालपोत कार्यालयका तत्कालीन सुब्बा यदुनाथ आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यसहित उनकी पत्नी, दुई छोरी र अन्य दुई जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगले सोमबार कात्तिक १६ गते दायर गरेको अभियोगपत्रमा आचार्यले सरकारी सेवामा प्रवेश गरेदेखि नै गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको दाबी गरेको छ। अख्तियारले उनको सम्पत्ति छानबिनका लागि २०५४ माघ २ गतेदेखि २०८० मंसिर २१ गतेसम्मको अवधिलाई अनुसन्धानको दायरामा राखेको थियो। आचार्यले २०५४ सालमा खोटाङमा गाविस सचिवका रूपमा सरकारी सेवा सुरु गरेका थिए।
अख्तियारको अनुसन्धानअनुसार उक्त अवधिमा आचार्य र उनकी पत्नी ललिता राजभण्डारीको कुल वैधानिक आम्दानी ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ ४८ पैसा देखिएको छ। उनीहरूको आम्दानीको स्रोतमा सरकारी पारिश्रमिक, बचत, घरजग्गा बिक्री, बैंक तथा वित्तीय संस्थाबाट प्राप्त ऋण, बैना रकम फिर्ता, कृषि व्यवसाय र ब्याजबाट प्राप्त रकम समावेश छन्।
तर, सोही अवधिमा आचार्यले गरेको खर्च र लगानी भने वैधानिक आम्दानीको तुलनामा धेरै रहेको अख्तियारको ठहर छ। आयोगका अनुसार उनले विभिन्न शीर्षकमा १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ ३१ पैसा खर्च तथा लगानी गरेका छन्।
अनुसन्धानमा जग्गा तथा घरजग्गा खरिद, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर, सवारीसाधन खरिद, सेयरमा लगानी, अध्ययन खर्च र बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण भुक्तानीमा ठूलो रकम खर्च भएको पाइएको छ। यसबाहेक विभिन्न व्यक्तिलाई ऋण तथा सापटी दिएको, जग्गा खरिदका लागि बैना रकम बुझाएको र हलेसी डिपार्टमेन्ट स्टोर प्रालिमा समेत लगानी गरेको विवरण अभियोगपत्रमा समेटिएको छ। बैंकमा रहेको मौज्दात तथा फ्रिज दराज खरिदमा भएको खर्चलाई समेत आयोगले हिसाबमा समावेश गरेको छ।
कुल वैधानिक आम्दानी र खर्च तथा लगानीको हिसाब गर्दा ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ ८३ पैसा बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको अख्तियारले जनाएको छ। यही रकमलाई बिगो कायम गरी आचार्यविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवानाको सजाय माग गरिएको छ। साथै, गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न पनि आयोगले माग गरेको छ।
यस प्रकरणमा आचार्यकी पत्नी ललिता राजभण्डारीलाई पनि बिगो बराबरको दायित्व कायम गरी प्रतिवादी बनाइएको छ। उनकी छोरी निलु र सरूलाई भने गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको आयोगले स्पष्ट पारेको छ।
त्यस्तै, गैरकानुनी सम्पत्तिबाट लाभ लिएको तथा कसुरजन्य कार्यमा मतियारको भूमिका निर्वाह गरेको आरोपमा भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ की प्रभा बस्नेत र काठमाडौं महानगरपालिका–३२, पेप्सीकोलाकी कुमारी कटुवालविरुद्ध पनि मुद्दा दायर गरिएको छ। उनीहरूबाट ३८ लाख ८६ हजार १८२ रुपैयाँ बिगो असुल गरी कानुनअनुसार सजाय गर्न माग गरिएको छ।
यसका अतिरिक्त सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आचार्य र उनकी पत्नीबाट ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ १९ पैसा तथा प्रभा बस्नेत र कुमारी कटुवालबाट ३८ लाख ८६ हजार १८२ रुपैयाँ ८ पैसा असुल गर्न अख्तियारले माग गरेको छ। गैरकानुनी सम्पत्ति जफत गरी दोषीलाई कानुनअनुसार सजाय गर्नुपर्ने आयोगको माग छ।


