Banijya News

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटको ऐतिहासिक सफलता, प्रतिनिधिसभामा बहुमत सुनिश्चित

1
1.0K Shares

अमेरिकाको सन् २०२६ को मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले ऐतिहासिक सफलता हासिल गरेको छ । प्रतिनिधिसभामा बहुमत प्राप्त गर्ने निश्चित भएसँगै पार्टीले सिनेट र विभिन्न राज्यका महत्त्वपूर्ण पदमा समेत उल्लेखनीय उपलब्धि हासिल गरेको छ । निर्वाचन परिणामले अमेरिकी राजनीतिमा महिला, अश्वेत तथा हिस्पानिक समुदायको प्रतिनिधित्व विस्तार हुने संकेत गरेको छ ।

सीबीएस, सीएनएनलगायत अमेरिकी सञ्चारमाध्यमले डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभामा बहुमत हासिल गर्ने प्रक्षेपण गरेका छन् । सीबीएसका अनुसार डेमोक्रेटहरूले कम्तीमा २१८ सिट जित्ने अनुमान गरिएको छ भने रिपब्लिकनहरूले कम्तीमा १६० सिटमा जित हासिल गर्ने प्रक्षेपण छ । प्रतिनिधिसभाको कुल ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ ।

यसअघि सार्वजनिक मतगणनाको विवरणअनुसार डेमोक्रेटिक उम्मेदवारहरूले ८५ सिट जितेका थिए भने १११ सिटमा अग्रता लिएका थिए । रिपब्लिकनले ४७ सिट जित्दै ७४ सिटमा अग्रता बनाएका थिए । पछिल्लो प्रक्षेपणले प्रतिनिधिसभाको नेतृत्व डेमोक्रेटिक पार्टीको हातमा जाने देखाएको छ ।

सिनेटमा पनि डेमोक्रेटहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् । उत्तरी क्यारोलिनामा डेमोक्रेटिक उम्मेदवार रोय कूपरले रिपब्लिकन माइकल व्हाटलीलाई पराजित गरेका छन् । जर्जियामा जोन ओसफ पुनः निर्वाचित भएका छन् भने न्यु ह्याम्पसायरमा क्रिस पप्पास विजयी भएका छन् । दक्षिण क्यारोलिनामा पनि डेमोक्रेटिक उम्मेदवार एनी एन्ड्र्युजले रिपब्लिकनको नियन्त्रणमा रहेको सिनेट सिट जितेकी छन् ।

सिनेटका १०० मध्ये यसपटक ३५ सिटका लागि निर्वाचन भएको हो । बहुमतका लागि ५१ सिट आवश्यक पर्ने सिनेटमा चुनावअघि रिपब्लिकनसँग ५३ र डेमोक्रेटसँग ४५ सिट थिए । निर्वाचन परिणामले सिनेटको शक्ति सन्तुलनमा समेत परिवर्तन ल्याउने देखिएको छ ।

अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेटको बहुमत आउने सीबीएस र सीएनएनको प्रक्षेपण

यसपटकको निर्वाचनमा महिला उम्मेदवारहरूको सफलता विशेष चर्चामा रहेको छ । जर्जियामा किएशा लान्स बटम्स गभर्नरमा निर्वाचित हुँदै अमेरिकाको पहिलो अश्वेत महिला गभर्नर बनेकी छन् ।

त्यस्तै, टेक्ससमा जिना हिनोजोसा राज्यको पहिलो हिस्पानिक गभर्नर बन्ने प्रक्षेपण गरिएको छ । उनले लामो समयदेखि पदमा रहेका रिपब्लिकन गभर्नर ग्रेग एबटलाई पराजित गर्ने अनुमान छ । चुनावी अभियानमा गर्भपतनलगायत सामाजिक तथा सांस्कृतिक विषय प्रमुख विवादका रूपमा देखिएका थिए ।

ओहायोमा एमी एक्टन राज्यको इतिहासमा निर्वाचित हुने पहिलो महिला गभर्नर बन्ने भएकी छन् । कोभिड–१९ महामारीका बेला राज्यको स्वास्थ्य विभागको नेतृत्व गरेकी एक्टनले मध्यमार्गी राजनीतिक धारसहित चुनावी अभियान सञ्चालन गरेकी थिइन् । विगत दुई दशकदेखि डेमोक्रेटिक पार्टीले गभर्नर पद जित्न नसकेको ओहायोमा उनको सफलतालाई महत्त्वपूर्ण राजनीतिक परिवर्तनका रूपमा हेरिएको छ ।

दक्षिण क्यारोलिनामा एनी एन्ड्र्युज सिनेटमा निर्वाचित हुने राज्यकै पहिलो महिला बनेकी छन् । बालरोग विशेषज्ञसमेत रहेकी ४५ वर्षीया एन्ड्र्युजले रिपब्लिकन सिनेटर डार्लिन ग्राहमलाई पराजित गरेकी हुन् । उनले यसअघि साउथ क्यारोलाइना मेडिकल विश्वविद्यालयमा १५ वर्षसम्म काम गरेकी थिइन् ।

क्यालिफोर्नियामा जेभियर बेसेरा राज्यको पहिलो निर्वाचित ल्याटिनो गभर्नर बन्ने प्रक्षेपण गरिएको छ । यसअघि सन् १८७५ मा रोमुआल्डो पाचेको गभर्नर बनेका थिए । तर, उनले निर्वाचित भएर नभई तत्कालीन गभर्नरले राजीनामा दिएपछि पद सम्हालेका थिए ।

प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीको बहुमत सुनिश्चित भएसँगै हाकिम जेफ्रिज पहिलो अश्वेत सभामुख बन्ने सम्भावना पनि बढेको छ । यद्यपि, सभामुख चयनका लागि नयाँ कंग्रेसको अधिवेशन सुरु भएपछि प्रतिनिधिसभामा मतदान हुनुपर्नेछ ।

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट महिलाहरूको ऐतिहासिक छलाङ

1

Scroll to Top