— लोकेन्द्र श्रेष्ठ ‘ईश्वर’
भक्तपुर क्यान्सर अस्पताल आज देशकै महत्वपूर्ण क्यान्सर उपचार केन्द्रमध्ये एकका रूपमा स्थापित छ । यहाँ देशका विभिन्न जिल्ला र दुर्गम क्षेत्रबाट आउने बिरामीले उपचार सेवा लिइरहेका छन् । तर यो अस्पतालको वर्तमान अवस्थालाई केवल सरकारी स्वामित्व र प्रशासनिक संरचनाको दृष्टिले मात्र हेर्नु पर्याप्त हुँदैन । यसको स्थापनादेखि विकाससम्म जोडिएका सामाजिक संस्था, अभियन्ता, चिकित्सक, स्थानीय समुदाय र स्वयंसेवकहरूको योगदान पनि उत्तिकै महत्वपूर्ण छ । अहिले अस्पतालको नेतृत्व र व्यवस्थापनमा देखिएको अन्योलले यही ऐतिहासिक योगदान, संस्थागत निरन्तरता र सरकारसँग भएका समझदारीको कार्यान्वयनबारे गम्भीर प्रश्न उठाएको छ ।
क्यान्सरजस्तो जटिल रोगको उपचार केवल अस्पताल भवन, उपकरण र जनशक्तिको व्यवस्थापनले मात्र प्रभावकारी हुँदैन । यसका लागि दीर्घकालीन दृष्टिकोण, अनुभवी नेतृत्व, संस्थागत विश्वास, सेवाभाव र बिरामीप्रतिको उत्तरदायित्व आवश्यक हुन्छ । अस्पतालको प्रशासनिक संरचना परिवर्तन हुन सक्छ, नेतृत्व फेरिन सक्छ र सरकारी नीति पनि समयअनुसार संशोधन हुन सक्छ । तर कुनै संस्थाको जग निर्माणमा योगदान पु¥याएका व्यक्ति र संस्थाको इतिहासलाई मेटेर त्यसको भविष्य बलियो बनाउन सकिँदैन । भक्तपुर क्यान्सर अस्पतालको वर्तमान बहसलाई यही सन्दर्भमा बुझ्न आवश्यक छ ।
नेपाल अर्बुद रोग निवारण संस्था, स्वास्थ्य मन्त्रालय, लायन्स, रोटरी क्लबहरू, विभिन्न सामाजिक संस्था, चिकित्सक तथा स्थानीय नागरीक समाजसेवीहरूको सहकार्यबाट सेवा सुरु हुनु आफैँमा उल्लेखनीय सामाजिक पहल थियो ।
भक्तपुर क्यान्सर अस्पतालको विकासक्रमलाई फर्केर हेर्दा नेपाल अर्बुद रोग निवारण संस्थाको भूमिका अग्रपंक्तिमा देखिन्छ । वि.सं. २०३९ भदौ ३१ गते स्थापना भएको यस संस्थाले नेपालमा क्यान्सरसम्बन्धी जनचेतना, रोकथाम, प्रारम्भिक पहिचान र उपचार सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित लामो समयदेखि काम गर्दै आएको छ । संस्थाको नेतृत्वमा विभिन्न समयमा काम गरेका पदाधिकारी, चिकित्सक, सामाजिक अभियन्ता र स्वयंसेवकहरूले क्यान्सरविरुद्धको अभियानलाई देशका विभिन्न क्षेत्रमा विस्तार गर्न योगदान दिएका छन् । अस्पताल स्थापनाको अवधारणा र त्यसलाई व्यवहारमा उतार्ने यात्रामा पनि यही संस्थाको अग्रसरता महत्वपूर्ण रह्यो ।
वि.सं. २०५१ मा भक्तपुरमा क्यान्सर उपचार सेवा सुरु हुनु त्यस समयको स्वास्थ्य सेवाका दृष्टिले महत्वपूर्ण उपलब्धि थियो । त्यसबेला नेपालमा क्यान्सर उपचारका लागि सीमित विकल्प थिए । राजधानीबाहिरका बिरामीले उपचारका लागि ठूलो आर्थिक भार र कठिन यात्रा बेहोर्नुपर्ने अवस्था थियो । यस्तो अवस्थामा नेपाल अर्बुद रोग निवारण संस्था, स्वास्थ्य मन्त्रालय, लायन्स, रोटरी क्लबहरू, विभिन्न सामाजिक संस्था, चिकित्सक तथा स्थानीय नागरीक समाजसेवीहरूको सहकार्यबाट सेवा सुरु हुनु आफैँमा उल्लेखनीय सामाजिक पहल थियो । यसलाई कुनै एक संस्था वा व्यक्तिको मात्र उपलब्धि मान्नु न्यायोचित हुँदैन; तर यस अभियानलाई अघि बढाउने मुख्य संस्थागत नेतृत्व र पहलको ऐतिहासिक भूमिका पनि ओझेलमा पारिनु हुँदैन ।
त्यसपछिका वर्षमा अस्पतालको भौतिक पूर्वाधार, उपचार सेवा र जनशक्ति विस्तार हुँदै गयो । तत्कालीन श्री ५ महाराजाधिराज वीरेन्द्रबाट वि.सं. २०५६ असोज २१ गते क्यान्सर केयर सेन्टरको उद्घाटन हुनु यस यात्राको अर्को महत्वपूर्ण चरण थियो । सीमित स्रोतसाधनबाट सुरु भएको सेवा क्रमशः आधुनिक उपचार उपकरण, विशेषज्ञ चिकित्सक, नर्सिङ सेवा र विभिन्न विभागसहित विकसित हुँदै आज देशभरिका बिरामीलाई सेवा दिने संस्थाका रूपमा अघि बढेको छ । यस विकासमा सरकारको सहयोगसँगै सामाजिक क्षेत्रको निरन्तरता, स्थानीय समुदायको विश्वास र संस्थागत प्रयासको योगदान रहेको तथ्य बिर्सन मिल्दैन ।
नेपाल अर्बुद रोग निवारण संस्थाको योगदान अस्पतालको स्थापना र सञ्चालनमा मात्र सीमित छैन । क्यान्सर रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्न नदिन जनचेतना फैलाउने काम अझ महत्वपूर्ण हुन्छ भन्ने मान्यताका साथ संस्थाले लामो समयदेखि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनविरुद्ध जनचेतनामूलक ¥याली, पदयात्रा, साइकल ¥याली, सांस्कृतिक कार्यक्रम, गीत–संगीत प्रतियोगिता, विद्यालय तथा समुदायस्तरका सचेतना कार्यक्रममार्फत यसले क्यान्सर रोकथामको सन्देश फैलाएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी नीतिगत बहस र जनस्वास्थ्य अभियानमा पनि संस्थाको सहभागिता रहँदै आएको छ ।
यसका साथै आर्थिक अवस्था कमजोर भएका क्यान्सर बिरामीलाई सहयोग, उपचारसम्बन्धी परामर्श, जनचेतना र स्वयंसेवक परिचालनमार्फत संस्थाले आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ । पूर्वको ताप्लेजुङदेखि पश्चिमको डडेल्धुरासम्म विभिन्न जिल्लामा शाखा तथा सामाजिक सञ्जाल निर्माण गर्दै आएको संस्थासँग देशका धेरै ठाउँमा स्थानीय स्तरमा काम गर्ने अनुभव र जनशक्ति छ । संस्थाका पदाधिकारीले सार्वजनिक रूपमा उल्लेख गरेअनुसार यसको स्वयंसेवक सञ्जालमा हजारौँ व्यक्ति आबद्ध छन् । यस्तो सञ्जाल केवल नामावली होइन; क्यान्सर रोकथाम, बिरामीको पहिचान, जनचेतना र उपचार सेवासँग समुदायलाई जोड्ने महत्वपूर्ण आधार हो । राज्यको स्वास्थ्य प्रणालीलाई बलियो बनाउन यस्ता संस्थागत सञ्जाल सहयोगी बन्न सक्छन् ।
सरकारले भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन आफ्नो मातहत ल्याउने निर्णय गर्नु आफैँमा गलत थिएन । अस्पतालको सेवा विस्तार, कर्मचारीको वृत्ति विकास, आर्थिक पारदर्शिता र प्रशासनिक स्थायित्वका लागि सरकारको प्रत्यक्ष जिम्मेवारी आवश्यक थियो । लामो समयदेखि अस्पतालका कर्मचारीको सेवा–सुविधा र वृत्ति विकाससम्बन्धी समस्या समाधान हुन नसकेको अवस्थालाई सम्बोधन गर्न विकास समिति गठन आदेश ल्याइएको थियो । वि.सं. २०७७ मा जारी भक्तपुर क्यान्सर अस्पताल विकास समिति (गठन) आदेशले अस्पतालको सञ्चालन र व्यवस्थापनका लागि औपचारिक संरचना निर्माण ग¥यो । यसले अस्पताललाई संस्थागत रूपमा अघि बढाउने र कर्मचारीका समस्या समाधान गर्ने बाटोसमेत खोल्यो ।
तर सरकारी स्वामित्वमा ल्याउनुको अर्थ अस्पतालको स्थापना र विकासमा योगदान पु¥याएका संस्थालाई व्यवस्थापन प्रक्रियाबाट अलग राख्नु होइन । सरकारको जिम्मेवारी अस्पताललाई अझ व्यवस्थित, सक्षम र जनउत्तरदायी बनाउनु हो । त्यसका लागि विगतको योगदानलाई सम्मान गर्दै संस्थागत सहकार्यलाई निरन्तरता दिनु आवश्यक हुन्छ । राज्यले सामाजिक क्षेत्रको योगदानलाई स्वीकार गर्नु कमजोरी होइन; बरु सार्वजनिक संस्थाको विकासमा साझेदारीको संस्कार स्थापित गर्नु हो ।
यही विषयमा २०७७ को गठन आदेश विशेष महत्वको छ । उक्त आदेशले विकास समितिको संरचनामा नेपाल अर्बुद रोग निवारण संस्थाबाट तीन जना प्रतिनिधि रहने व्यवस्था गरेको थियो । यो व्यवस्था कुनै व्यक्तिलाई पद वा अधिकार दिने उद्देश्यले मात्र गरिएको थिएन । अस्पतालको स्थापना, विकास र क्यान्सर नियन्त्रण अभियानमा संस्थाले निर्वाह गरेको भूमिकालाई संस्थागत रूपमा प्रतिनिधित्व गराउने यसको मूल भावना थियो । सामाजिक क्षेत्रको अनुभव, समुदायसँगको सम्बन्ध र क्यान्सर नियन्त्रण अभियानको ज्ञान अस्पतालको नीति तथा व्यवस्थापनमा उपयोगी हुन सक्छ भन्ने मान्यता यसमा प्रतिबिम्बित थियो ।
वि.सं. २०८१ पुस २१ गते भक्तपुर क्यान्सर अस्पताल नेपाल सरकारलाई हस्तान्तरण गर्ने क्रममा पनि विगतको संस्थागत सहकार्य र २०७७ को गठन आदेशअनुसार अस्पताल सञ्चालन गर्ने समझदारी सार्वजनिक भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको उपस्थितिमा भएको हस्तान्तरणलाई केवल स्वामित्व परिवर्तनका रूपमा मात्र होइन, सरकार र नेपाल अर्बुद रोग निवारण संस्थाबीचको सहकार्यलाई नयाँ संरचनामा निरन्तरता दिने प्रक्रियाका रूपमा बुझिएको थियो । त्यसैले हस्तान्तरणपछि संस्थाको प्रतिनिधित्व र भूमिकाबारे उठेका प्रश्नलाई सामान्य प्रशासनिक विषय भनेर पन्छाउन मिल्दैन ।
यसबीच २०८३ असोज १९ गते भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेशको दोस्रो संशोधन राजपत्रमा प्रकाशित भयो । संशोधित व्यवस्थाले समितिको संरचनामा परिवर्तन गरेको छ । उपलब्ध कानुनी विवरणअनुसार २०७७ को आदेशमा रहेको नेपाल अर्बुद रोग निवारण संस्थाका तीन प्रतिनिधिको व्यवस्थालाई संशोधन गरी संस्थाले तोकेको एक जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ । साथै २०८२ चैत १२ गतेअघि मनोनयन वा नियुक्त भएका केही सदस्यहरू संशोधन लागू भएपछि स्वतः पदमुक्त हुने प्रावधान राखिएको छ । यसबाट पुराना पदाधिकारीको नियुक्ति अन्त्य भएको भएपनि संस्थाको प्रतिनिधित्व पूर्ण रूपमा हटाइएको भन्न मिल्दैन; तर तीन जनाको प्रतिनिधित्व घटाएर एक जनामा सीमित गरिएको विषय भने गम्भीर छलफलको विषय हो ।
यहाँ मूल प्रश्न सरकारको अधिकार वा अस्पतालको स्वामित्वको होइन, संस्थागत प्रतिनिधित्व र सहकार्यको भावनाको हो । २०७७ को गठन आदेशमा तीन प्रतिनिधि राख्नुको पछाडि रहेको उद्देश्य के थियो र हस्तान्तरणका बेला भएको समझदारीले त्यसलाई कसरी निरन्तरता दिने अपेक्षा गरेको थियो भन्ने विषय सरकारले स्पष्ट पार्नुपर्छ । यदि नयाँ संरचनामा प्रतिनिधित्व घटाइएको हो भने त्यसको आधार, औचित्य र सरोकारवालासँग गरिएको छलफल सार्वजनिक हुनु उचित हुन्छ । अस्पतालको स्थापनामा अग्रणी भूमिका निर्वाह गरेको राष्ट्रिय संस्थाको प्रतिनिधित्व किन र कुन आधारमा घटाइयो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । यो कुनै व्यक्तिको पदको माग होइन; संस्थागत योगदानको सम्मान र साझेदारीको निरन्तरतासँग सम्बन्धित विषय हो ।
कार्यकारी निर्देशकको नियुक्ति केवल पदपूर्ति गर्ने विषय होइन । अस्पतालको प्रकृति, क्यान्सर उपचारको जटिलता, चिकित्सकीय सेवा, उपकरण व्यवस्थापन, जनशक्ति परिचालन र बिरामीको आवश्यकताबारे बुझाइ भएको नेतृत्व आवश्यक हुन्छ । प्रशासनिक अनुभवसँगै स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्ने क्षमता पनि उत्तिकै महत्वपूर्ण छ ।
अस्पतालको नेतृत्वसम्बन्धी पछिल्लो अवस्थाले पनि व्यवस्थापनको गम्भीरता देखाएको छ । दोस्रो संशोधनपछि तत्कालीन कार्यकारी निर्देशक पदमुक्त भएका र त्यसपछि अस्पताल झन्डै एक महिनासम्म कार्यकारी निर्देशकविहीन रहेको समाचार सार्वजनिक भएको थियो । संशोधित आदेशले कार्यकारी निर्देशकका लागि स्वास्थ्य सेवाको एघारौँ तहका कर्मचारीलाई जिम्मेवारी दिने र त्यस्तो कर्मचारी उपलब्ध नभए दशौँ तहका वरिष्ठ कर्मचारीलाई कामकाजको जिम्मेवारी दिन सकिने व्यवस्था गरेको छ । प्रशासनिक रिक्तता लामो समय रहनु अस्पतालजस्तो संवेदनशील संस्थाका लागि उपयुक्त अवस्था होइन ।
कार्यकारी निर्देशकको नियुक्ति केवल पदपूर्ति गर्ने विषय होइन । अस्पतालको प्रकृति, क्यान्सर उपचारको जटिलता, चिकित्सकीय सेवा, उपकरण व्यवस्थापन, जनशक्ति परिचालन र बिरामीको आवश्यकताबारे बुझाइ भएको नेतृत्व आवश्यक हुन्छ । प्रशासनिक अनुभवसँगै स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्ने क्षमता पनि उत्तिकै महत्वपूर्ण छ । नेतृत्व परिवर्तनका क्रममा चिकित्सक, नर्स, प्राविधिक तथा अन्य कर्मचारीमा अनिश्चितता पैदा भए त्यसको असर अन्ततः बिरामीको सेवामा पर्न सक्छ । त्यसैले नियुक्ति प्रक्रिया छिटो हुनु मात्र पर्याप्त हुँदैन; योग्य, जिम्मेवार र अस्पतालको आवश्यकता बुझ्ने नेतृत्व चयन हुनु आवश्यक छ ।
अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरू लामो समयदेखि विभिन्न चुनौतीका बीच सेवा दिँदै आएका छन् । उनीहरूको वृत्ति विकास, सेवा–सुविधा, जिम्मेवारी र कार्यसम्पादनसम्बन्धी स्पष्ट व्यवस्था नहुँदा संस्थाभित्र असन्तुष्टि र अन्योल उत्पन्न हुन सक्छ । अस्पतालको व्यवस्थापनमा देखिने अस्थिरताले उनीहरूको मनोबलमा असर पार्ने जोखिम रहन्छ । कर्मचारीको मनोबल कमजोर हुँदा उपचार सेवा प्रभावित हुन सक्छ । त्यसैले अस्पतालको प्रशासनिक संरचना, कर्मचारी व्यवस्थापन र सेवा प्रवाहबीच स्पष्ट सम्बन्ध स्थापित हुनुपर्छ । सरकारको प्राथमिकता पद र संरचनाको विवादभन्दा बिरामीले पाउने सेवाको गुणस्तर हुनुपर्छ ।
भक्तपुर क्यान्सर अस्पतालको महत्व भक्तपुर जिल्लामा सीमित छैन । देशका विभिन्न भूभागबाट आउने बिरामीका लागि यो उपचारको भरोसायोग्य केन्द्र बनेको छ । क्यान्सर उपचार महँगो र लामो प्रक्रिया भएकाले बिरामी तथा परिवारले आर्थिक, मानसिक र सामाजिक कठिनाइ सामना गर्नुपर्छ । यस्तो अवस्थामा अस्पतालको सेवा नियमित, सहज र गुणस्तरीय हुनु अत्यन्त महत्वपूर्ण हुन्छ । उपचारमा निरन्तरता, विशेषज्ञ जनशक्तिको उपलब्धता, औषधि तथा उपकरणको व्यवस्थापन र आर्थिक रूपमा कमजोर बिरामीलाई सहुलियत दिने नीति अस्पतालको मूल प्राथमिकतामा रहनुपर्छ । प्रशासनिक विवाद वा प्रतिनिधित्वको असमझदारीले यी विषय ओझेलमा पर्नु हुँदैन ।
सरकारले अस्पतालको दीर्घकालीन विकासका लागि स्पष्ट योजना अघि सार्न सक्छ । आधुनिक उपकरण थप्ने, विशेषज्ञ जनशक्ति बढाउने, अनुसन्धान र तालिमलाई प्रोत्साहन गर्ने, दुर्गम क्षेत्रका बिरामीलाई उपचारमा पहुँच सहज बनाउने र क्यान्सर रोकथामका कार्यक्रमलाई देशव्यापी बनाउने काममा सरकारको नेतृत्व महत्वपूर्ण हुन्छ । तर यी कामलाई प्रभावकारी बनाउन अस्पतालको इतिहास र समुदायसँगको सम्बन्ध बुझेका संस्थाहरूको अनुभव पनि उपयोग गर्न सकिन्छ । नेपाल अर्बुद रोग निवारण संस्थाको देशव्यापी शाखा तथा स्वयंसेवक सञ्जाललाई अस्पतालको जनचेतना र रोकथाम अभियानसँग जोड्न सके उपचार सेवासँगै क्यान्सर नियन्त्रणको राष्ट्रिय अभियान पनि बलियो हुन सक्छ ।
सार्वजनिक संस्थाको विकासमा सरकार र सामाजिक क्षेत्रबीच प्रतिस्पर्धा होइन, सहकार्य आवश्यक हुन्छ । अस्पताल सरकारको मातहत रहनु र सामाजिक संस्थाको प्रतिनिधित्व कायम रहनु परस्पर विरोधी कुरा होइनन् । सरकारी उत्तरदायित्व, प्रशासनिक पारदर्शिता र सामाजिक सहभागिता एकैसाथ अघि बढ्न सक्छन् । बरु यस्ता संस्थामा फरक अनुभव र दृष्टिकोणको सहभागिताले निर्णय प्रक्रियालाई थप सन्तुलित बनाउन सक्छ । प्रतिनिधित्वको व्यवस्था कुनै समूहलाई नियन्त्रण वा हस्तक्षेपको अधिकार दिनका लागि नभई संस्थागत स्मृति, अनुभव र सार्वजनिक सरोकारलाई व्यवस्थापनमा समेट्नका लागि हो ।
भक्तपुर क्यान्सर अस्पतालको इतिहासलाई हेर्दा यसको निर्माण केवल सरकारी बजेटबाट भएको परियोजना होइन; यो सामाजिक अभियान, जनसहभागिता, संस्थागत प्रतिबद्धता र सरकारी सहयोगको संयुक्त परिणाम हो । त्यसैले आज यसको व्यवस्थापनबारे निर्णय गर्दा विगतको योगदानलाई सम्मान गर्ने दृष्टिकोण आवश्यक छ । सरकारको स्वामित्व र नेतृत्वलाई बलियो बनाउने नाममा सामाजिक क्षेत्रको भूमिकालाई कमजोर बनाइयो भने अस्पतालले आफ्नो स्थापनाकालीन सामाजिक आधार गुमाउने जोखिम रहन्छ । अर्कोतर्फ सामाजिक संस्थाले पनि विगतको योगदानलाई वर्तमान व्यवस्थापनमा अनुचित हस्तक्षेपको आधार बनाउनु हुँदैन । दुवै पक्षले सार्वजनिक हित, पारदर्शिता र बिरामीको सेवाको मापदण्डलाई केन्द्रमा राख्नुपर्छ ।
भक्तपुर क्यान्सर अस्पताल कुनै एक व्यक्ति, संस्था वा सरकारको मात्र सम्पत्ति होइन; यो हजारौँ बिरामीको आशा, स्वास्थ्यकर्मीको समर्पण र समाजको लामो योगदानबाट बनेको सार्वजनिक स्वास्थ्य संस्था हो । यसको भविष्यलाई पद, अधिकार र प्रशासनिक नियन्त्रणको सीमित बहसमा खुम्च्याउनु हुँदैन ।
आज आवश्यक कुरा विगतको विवाद दोहो¥याउनु होइन, सहमतिका आधारमा संस्थागत समाधान खोज्नु हो । २०७७ को गठन आदेश, २०८१ पुस २१ को हस्तान्तरणसम्बन्धी समझदारी र २०८३ को दोस्रो संशोधनबीचको सम्बन्धबारे सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ । नेपाल अर्बुद रोग निवारण संस्थाको प्रतिनिधित्वसम्बन्धी व्यवस्था किन परिवर्तन गरियो, हस्तान्तरणका बेला गरिएको समझदारीको कार्यान्वयन कसरी हुन्छ र अस्पतालको भावी व्यवस्थापनमा सामाजिक क्षेत्रको अनुभवलाई कुन रूपमा समेटिन्छ भन्ने विषयमा सरोकारवालासँग खुला संवाद आवश्यक छ । यसले सरकारको अधिकारलाई कमजोर बनाउँदैन; बरु निर्णयप्रति विश्वास र संस्थागत उत्तरदायित्व बढाउँछ ।
भक्तपुर क्यान्सर अस्पताल कुनै एक व्यक्ति, संस्था वा सरकारको मात्र सम्पत्ति होइन; यो हजारौँ बिरामीको आशा, स्वास्थ्यकर्मीको समर्पण र समाजको लामो योगदानबाट बनेको सार्वजनिक स्वास्थ्य संस्था हो । यसको भविष्यलाई पद, अधिकार र प्रशासनिक नियन्त्रणको सीमित बहसमा खुम्च्याउनु हुँदैन । सरकारको जिम्मेवारी अस्पताललाई अझ सक्षम बनाउनु हो, सामाजिक संस्थाको दायित्व आफ्नो अनुभव र सञ्जाललाई सार्वजनिक हितमा उपयोग गर्नु हो । यी दुवै पक्षबीचको विश्वास र सहकार्य कायम रह्यो भने मात्र अस्पतालले आफ्नो राष्ट्रिय भूमिका अझ प्रभावकारी रूपमा निर्वाह गर्न सक्छ ।
अन्ततः भक्तपुर क्यान्सर अस्पतालको सफलता कसले नेतृत्व ग¥यो वा कसको प्रतिनिधि समितिमा रह्यो भन्ने आधारमा होइन, बिरामीले कस्तो उपचार पाए, सेवा कति सहज र गुणस्तरीय भयो र क्यान्सर नियन्त्रणको राष्ट्रिय अभियान कति प्रभावकारी बन्यो भन्ने आधारमा मापन हुनुपर्छ । विगतको योगदानको सम्मान, वर्तमानको पारदर्शी व्यवस्थापन र भविष्यप्रतिको साझा प्रतिबद्धता नै यसको दिगो विकासको आधार हो । सरकारी स्वामित्व आवश्यक हुन सक्छ, तर सामाजिक योगदानको अवमूल्यन गरेर सरकारी नियन्त्रण मात्र पर्याप्त हुँदैन ।


