नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न (फुली) प्रदान गरिएको छ।
गृह मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा गृहमन्त्री सुदन गुरुङले आईजीपी केसीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। यससँगै केसीले औपचारिक रूपमा प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि बढाएका छन्।
आईजीपीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने क्रममा यसपटक नयाँ अभ्याससमेत सुरु भएको छ। यसअघि प्रहरी महानिरीक्षकलाई गृह मन्त्रालयका सचिवले दर्ज्यानी चिह्न लगाइदिने परम्परा रहँदै आएको थियो। तर, पहिलोपटक गृहमन्त्री स्वयंले आईजीपीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
यसलाई प्रहरी संगठनको नेतृत्व परिवर्तनसँग जोडिएको महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। कार्यक्रममा गृह मन्त्रालयका अधिकारी तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यसैबीच, नवनियुक्त आईजीपी केसीको स्वागतका लागि नेपाल प्रहरी प्रधान कार्यालयमा आवश्यक तयारी सुरु गरिएको छ। प्रहरी मुख्यालयमा उनको स्वागत तथा पदभार ग्रहणका लागि आवश्यक व्यवस्थापन मिलाउने काम भइरहेको छ।
केसीको नियुक्तिसँगै नेपाल प्रहरीको संगठनात्मक नेतृत्वमा नयाँ अध्याय सुरु भएको छ। अब उनको नेतृत्वमा प्रहरी संगठनको कार्यसम्पादन, सुरक्षा व्यवस्थापन र संस्थागत सुधारका विषयमा चासो बढेको छ।


