दीपावलीको उल्लास सेलाउन नपाउँदै मिथिलाञ्चलमा लोकआस्था, धार्मिक निष्ठा र सामाजिक एकताको प्रतीक मानिने छठ पर्वको रौनक छाएको छ। शुक्रबारदेखि चारदिने छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित मधेश प्रदेशका विभिन्न गाउँबस्ती, बजार र सहरमा उत्साह बढेको छ। पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधि सम्पन्न भएपछि श्रद्धालुहरू आगामी पूजाका तयारीमा जुटेका छन्।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्यदेव र षष्ठीदेवी अर्थात् छठीमाताको आराधना गरिन्छ। पारिवारिक सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायुको कामना गर्दै व्रतालुहरूले कठोर नियम र निष्ठाका साथ व्रत बस्ने परम्परा छ।
पर्व सुरु भएसँगै जनकपुरधामको पेठिया बजारलगायत मिथिलाञ्चलका प्रमुख बजारमा किनमेल गर्नेहरूको भीड बढेको छ। छठ पूजाका लागि आवश्यक केरा, उखु, नरिवल, अदुवा, बेसारको बोट, ज्यामिर, मुला तथा विभिन्न मौसमी फलफूलको माग उच्च देखिएको छ। त्यस्तै, पूजाका सामग्री राख्न प्रयोग हुने बाँसका ढकी, डलिया, सुप, नाङ्लो, कोनियाँ र माटाका भाँडाको बिक्रीसमेत बढेको छ।
स्थानीय व्यापारीहरूका अनुसार छठ नजिकिँदै जाँदा फलफूल तथा पूजासामग्रीको कारोबार थप बढ्ने अपेक्षा गरिएको छ। पर्वमा प्रयोग हुने सामग्रीको मागले स्थानीय किसान, फलफूल व्यवसायी, माटाका भाँडा बनाउने कुम्हाल र बाँसका सामग्री उत्पादन गर्ने कारीगरलाई समेत आर्थिक लाभ पुग्ने गरेको छ।
विशेषगरी पुस्तौँदेखि बाँसका सामग्री निर्माण गर्दै आएका डोम समुदायका कारीगरहरूलाई अहिले भ्याइनभ्याइ छ। उनीहरूले बाँसका चोया र कप्टेराबाट ढकी, डलिया, नाङ्लो, सुपलगायत सामग्री तयार पारिरहेका छन्। छठ पर्वले धार्मिक परम्पराको संरक्षणसँगै स्थानीय सीप, कला र परम्परागत पेसालाई पनि जीवन्त राख्न सहयोग पुर्याएको छ।
उता, घरघरमा छठको प्रसाद तयार गर्ने चटारो पनि बढेको छ। व्रतालु तथा परिवारका सदस्यहरू ठकुवा, भुसुवा र अन्य परम्परागत परिकार बनाउन व्यस्त छन्। ५८ वर्षीया संगीता देवी दासका अनुसार छठ पर्वमा शुद्धता, संयम र निष्ठालाई विशेष महत्त्व दिइन्छ। उनले भनिन्, “यो पर्व गर्न एकदमै शुद्धता चाहिन्छ। म आफैँ जलाशयमा उभिएर सूर्यदेवलाई अर्घ्य दिन्छु।”
छठको चारदिने विधिअनुसार पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई उषा अर्घ्य दिइन्छ। खरनाका दिन दिनभर उपवास बसेर साँझ दूध र सक्खरबाट तयार पारिएको खिरलगायत प्रसाद ग्रहण गर्ने चलन छ। अन्तिम दिन बिहान सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गरिन्छ।
पर्वलाई व्यवस्थित बनाउन जनकपुरधामका गङ्गासागर, धनुषसागर, रत्नसागर र दशरथ तलाउलगायतका जलाशय तथा पोखरीहरूको सरसफाइ र सजावटको काम भइरहेको छ। स्थानीयवासी, युवा क्लब तथा विभिन्न सामाजिक संस्थाहरू छठघाट निर्माण, बाटो व्यवस्थापन र बत्ती सजावटमा सक्रिय भएका छन्। जलाशयहरूलाई आकर्षक बनाउनेदेखि श्रद्धालुहरूको सुविधाका लागि आवश्यक व्यवस्थापन मिलाउने कामसमेत अघि बढाइएको छ।
छठ पर्व धार्मिक अनुष्ठानमा मात्र सीमित छैन। यसले परिवार, आफन्त र समाजलाई एकै ठाउँमा जोड्ने अवसरसमेत प्रदान गर्छ। अध्ययन, रोजगारी तथा व्यवसायका लागि घरबाहिर रहेका मानिसहरू पर्व मनाउन आफ्नो गाउँ फर्किने क्रम बढेको छ। काठमाडौंबाट जनकपुरधाम आएका दीपेन्द्र कर्णले छठलाई पारिवारिक भेटघाट र आत्मीयता साटासाट गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको बताए। उनका अनुसार छठका कारण लामो समयदेखि भेट नभएका साथीभाइ, छरछिमेक र इष्टमित्रसँग पुनर्मिलन हुने वातावरण बन्छ।
छठको अर्को विशेषता सामाजिक समानता र सामूहिक सहभागिता पनि हो। जातीय, वर्गीय तथा आर्थिक विभेदलाई बिर्सेर विभिन्न समुदायका मानिस एउटै घाटमा भेला हुन्छन्। धनी–गरिब सबैले आफ्नो क्षमताअनुसार पूजा गर्छन् र सामूहिक रूपमा सूर्यदेवको आराधना गर्छन्।
अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ्य दिने परम्पराले प्रकृतिप्रतिको सम्मान, कृषि उत्पादनप्रतिको कृतज्ञता र मानव जीवनमा सूर्यको महत्त्वलाई उजागर गर्छ। यसैले छठलाई आस्था र विश्वाससँगै प्रकृति संरक्षण तथा सामाजिक सद्भावको सन्देश दिने विशिष्ट सांस्कृतिक पर्वका रूपमा पनि लिइन्छ।


