छठ पर्वको उल्लास बोकेर घर फर्किंदै गरेका यात्रुको यात्रा मकवानपुरको भीमफेदीमा कहिल्यै नफर्किने गरी टुंगिएको छ। बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीमा भएको विद्युतीय हाइस दुर्घटनाले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर गाउँलाई गहिरो शोकमा डुबाएको छ। दुर्घटनामा १४ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्।
छठ पर्व परिवारसँग मनाउने उत्साहसहित काठमाडौं छाडेका यात्रु चढेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय हाइस दुर्घटनामा परेको थियो। दुर्घटनामा मृत्यु हुनेमध्ये १३ जना सर्लाहीको सुन्दरपुर गाउँका बासिन्दा हुन्। चालकको पनि घटनास्थलमै मृत्यु भएको विवरण सार्वजनिक भएको छ।
मृत्यु हुनेमा गुडु यादव, गायत्री देवी यादव, विकेश यादव, सुधेश यादव, पुनम यादव, अनु यादव, शिक्षा यादव, दिपिका यादव, राकेश राय, रोहन राय, सुबोध राय, राम दुलार राय र राम प्रवेश राय रहेका छन्। त्यस्तै, हाइस चालक सर्लाहीकै ३० वर्षीय रविशंकर मण्डलले पनि ज्यान गुमाएका छन्।
दुर्घटनामा घाइते भएका मुकेश राय, देवेन्द्र राय, बेचु भनिने देवेन्द्र राय, सक्षम राय, सुजन राय र सुदिप यादवको उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ। दुर्घटनाको खबर गाउँमा फैलिएपछि सुन्दरपुरटोलमा रुवाबासी र सन्नाटा छाएको छ। छठको तयारीमा जुटेका परिवारहरू एकाएक आफन्तको शव पर्खिने अवस्थामा पुगेका छन्। गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवका अनुसार अधिकांश घरमा चुल्होसमेत बलेको छैन। पर्व मनाउन घर फर्किने प्रतीक्षामा रहेका परिवारका सदस्यले आफ्ना प्रियजन गुमाउनुपरेपछि गाउँ नै शोकमा डुबेको छ।
सडकबाट सयौँ मिटर तल खसेको थियो हाइस
प्राप्त विवरणअनुसार बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको हाइस भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डको चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो।
यस दुर्घटनामा एउटै परिवारका सात जनाले ज्यान गुमाएको विवरणले घटनालाई थप हृदयविदारक बनाएको छ। मृतकमध्ये बालबालिका र किशोरकिशोरीसमेत छन्। छठ मनाउन घर फर्किरहेका परिवारका सदस्य एकै दुर्घटनामा गुमाउँदा सुन्दरपुरका धेरै परिवारको खुसी एकैपटक उजाडिएको छ।
घाइतेमध्ये तीन जना डिस्चार्ज
दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। बाँकी तीन जनालाई थप उपचारका लागि काठमाडौं र भरतपुरका अस्पतालमा पठाइएको छ। गम्भीर घाइतेमध्ये तीन वर्षीय सुजन यादव र १४ महिनाका सुदीप यादवलाई काठमाडौंस्थित मेडिसिटी अस्पताल तथा अर्का घाइते देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पतालमा रिफर गरिएको छ।


