Banijya News

प्रचण्ड रुस प्रस्थान : किन जुट्दैछन् ६० भन्दा बढी देशका प्रतिनिधि रुसमा ?

1
1.0K Shares

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने अन्तर्राष्ट्रिय राजनीतिक सम्मेलनमा सहभागी हुन शुक्रबार बिहान रुस प्रस्थान गरेका छन्। रुसमा नोभेम्बर १४ देखि १७ सम्म आयोजना हुने ‘फर द फ्रिडम अफ नेसन्स’ (राष्ट्रहरूको स्वतन्त्रताका लागि) विषयक विश्व सम्मेलनमा भाग लिन प्रचण्ड त्यसतर्फ गएका हुन्। अखिल रुसी राजनीतिक दलको आयोजनामा हुने सम्मेलनमा विश्वका ६० भन्दा बढी देशका राजनीतिक नेता तथा प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ। सम्मेलनमा अन्तर्राष्ट्रिय राजनीतिक अवस्था, राष्ट्रिय स्वाधीनता र विश्व राजनीतिका समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

प्रचण्डसँगै उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्य पनि रुस गएका छन्। प्रचण्डको सचिवालयका अनुसार उनी सम्मेलनमा नेपालको राजनीतिक प्रतिनिधित्व गर्दै सहभागी हुनेछन्।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सहभागिता
रुसको राजधानी मस्कोमा हुने यस सम्मेलनलाई विभिन्न मुलुकका राजनीतिक दल तथा नेताहरूबीच विचार आदानप्रदान गर्ने अन्तर्राष्ट्रिय मञ्चका रूपमा हेरिएको छ। ‘फर द फ्रिडम अफ नेसन्स’ नामको अन्तर्राष्ट्रिय राजनीतिक अभियानले राष्ट्रिय स्वाधीनता र नवऔपनिवेशिक अभ्यासविरुद्धको बहसलाई आफ्नो प्रमुख विषय बनाउँदै आएको छ। यसको सुरुवात सन् २०२४ मा भएको थियो।

प्रचण्डको यस भ्रमणलाई नेपालको राजनीतिक नेतृत्व र अन्तर्राष्ट्रिय राजनीतिक शक्तिबीच सम्बन्ध विस्तार तथा विचार आदानप्रदान गर्ने अवसरका रूपमा समेत हेरिएको छ। यद्यपि, सम्मेलनका क्रममा प्रचण्डले गर्ने सम्भावित द्विपक्षीय भेटघाट, अन्य राजनीतिक नेतासँगको छलफल तथा भ्रमणको विस्तृत कार्यतालिकाबारे उनको सचिवालयले थप जानकारी सार्वजनिक गरेको छैन। चार दिनसम्म चल्ने सम्मेलनमा सहभागी भएर प्रचण्ड कहिले स्वदेश फर्कनेछन् भन्नेबारे पनि विस्तृत विवरण सार्वजनिक गरेको छैन।

1

Scroll to Top