सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद मुनाफा उल्लेख्य रूपमा बढाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार साउनदेखि असोज मसान्तसम्म १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.३५ प्रतिशतले बढी हो।
गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो। यस वर्ष समीक्षा अवधिमा कम्पनीको नाफा ४९ करोड ४९ लाख रुपैयाँले बढेको देखिन्छ। आम्दानीमा खासै वृद्धि नभए पनि सञ्चालन खर्चमा आएको कमीले नाफा बढाउन महत्वपूर्ण भूमिका खेलेको देखिएको छ।
तर कम्पनीको सञ्चालन आम्दानीमा भने अपेक्षित सुधार हुन सकेको छैन। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल टेलिकमले ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ सञ्चालन आय गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आय ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ थियो। यसले कम्पनीको मुख्य व्यावसायिक आम्दानी लगभग स्थिर रहेको देखाउँछ।
त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल आय ९ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा कुल आय ९ अर्ब ४७ करोड १० लाख रुपैयाँ थियो। यसअनुसार कुल आयमा ६६ लाख ४६ हजार रुपैयाँ अर्थात् ०.०७ प्रतिशतको मात्रै वृद्धि भएको छ।
कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा परिशोधनअघिको सञ्चालन मुनाफा (EBITDA) भने ६.१३ प्रतिशतले घटेर ४ अर्ब ४५ करोड ९० लाख रुपैयाँमा झरेको छ। गत वर्षको सोही अवधिमा यस्तो मुनाफा ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँ थियो। अर्कोतर्फ, करअघिको मुनाफा ३.६५ प्रतिशतले बढेर २ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (EPS) ४० रुपैयाँ ४५ पैसा रहेको छ।
विकासन्युजका अनुसार कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८४ अर्ब १७ करोड ६८ लाख रुपैयाँभन्दा बढी रकम सञ्चित छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ५६७ रुपैयाँ ६५ पैसा रहेको छ। यसले कम्पनीको सञ्चित वित्तीय आधार बलियो रहेको देखाउँछ।
बाढीपहिरो र डेटा प्याकेजले आम्दानीमा असर
नेपाल टेलिकमका अनुसार प्राकृतिक विपद्, सेवा बिक्रीमा आएको परिवर्तन तथा सञ्चालन लागतले चालु आर्थिक वर्षको वित्तीय नतिजालाई प्रभावित पारेका छन्। गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोका कारण प्रभावित सेवाग्राहीलाई कम्पनीले १७ दिनसम्म निःशुल्क डेटा तथा भ्वाइस सेवा उपलब्ध गराएको थियो। विपद्का कारण दूरसञ्चार सेवा अवरुद्ध हुनुका साथै प्रभावित क्षेत्रमा व्यावसायिक गतिविधिसमेत प्रभावित भएको थियो। असोज २५ गते बूढीगण्डकी क्षेत्रमा आएको बाढीले पनि सेवा सञ्चालनमा असर पारेको कम्पनीले जनाएको छ।
त्यस्तै, कम मूल्यका ठूला मोबाइल डेटा प्याकेजको प्रयोग बढ्दा जीएसएम सेवाबाट प्राप्त हुने आम्दानीमा दबाब परेको छ। यद्यपि, जीएसएम सेवाको सञ्चालन राजस्व १० लाख १६ हजार रुपैयाँ र एफटीटीएच सेवाको राजस्व ४ करोड ४० लाख रुपैयाँले बढेको छ।
यस आर्थिक वर्षमा कर्मचारीको तलब वृद्धि हुँदा खर्च बढे पनि ह्रासकट्टी खर्चमा आएको कमी र मूल्यह्रास क्षति फिर्ता समायोजनका कारण कम्पनीको खुद खर्च ४८ करोड १२ लाख रुपैयाँ अर्थात् ५.९० प्रतिशतले घटेको छ।
कम्पनीले दुर्गम तथा विकट क्षेत्रमा समेत दूरसञ्चार सेवा विस्तार, नेटवर्कको गुणस्तर सुधार र सेवाको पहुँच बढाउने कामलाई प्राथमिकता दिँदै आएको जनाएको छ। समग्रमा नाफामा उत्साहजनक वृद्धि देखिए पनि सञ्चालन आम्दानी र EBITDA मा सुधार गर्नुपर्ने चुनौती नेपाल टेलिकमसामु कायमै रहेको वित्तीय विवरणले देखाएको छ।


