Banijya News

काठमाडौं उपत्यकामा मासु जाँच ऐन लागू, छाप लागेको मासु मात्रै बिक्री गर्न पाइने

1
1.0K Shares

उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले सरकारले आज मंसिर १ गतेदेखि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा ल्याएको छ। ऐन लागू भएसँगै काठमाडौं, ललितपुर र भक्तपुरका सबै स्थानीय तहमा पशुपन्छीको स्वास्थ्य परीक्षण र मासुको गुणस्तर जाँच अनिवार्य भएको छ।

सरकारले गत भदौ १ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ऐन कार्यान्वयनको औपचारिक घोषणा गरेको थियो। राजपत्रमा उल्लेखित कार्यतालिकाअनुसार देशभर तीन चरणमा ऐन लागू गरिनेछ। पहिलो चरणमा आजदेखि काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा ऐन कार्यान्वयन सुरु भएको हो।

दोस्रो चरणमा आगामी माघ १ गतेदेखि उपत्यकाबाहिरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा ऐन लागू हुनेछ। त्यसैगरी तेस्रो चरणमा २०८४ साल साउन १ गतेदेखि देशभरका बाँकी गाउँपालिकामा समेत यो व्यवस्था कार्यान्वयनमा ल्याइनेछ।

तीन वधशालाबाट सुरु भयो मासु परीक्षण

ऐन कार्यान्वयनको सुरुवात उपत्यकाका तीनवटा स्थापित वधशालाबाट गरिएको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार काठमाडौंको भ्याली कोल्ड स्टोर, भक्तपुरको मध्यपुर थिमिस्थित न्यु पञ्चकन्या वधशाला र ललितपुरको एभरेस्ट बंगुर वधशालाबाट मासु परीक्षण तथा आधिकारिक छाप लगाउने काम सुरु भएको हो।

उपत्यकाका २१ स्थानीय तहमा वधस्थलको व्यवस्थापन र अनुगमनका लागि बागमती प्रदेश सरकारले २३ जना सुपरिवेक्षक नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ। मन्त्रीस्तरीय निर्णय भइसके पनि प्रदेश मन्त्रिपरिषद्बाट अन्तिम स्वीकृति हुन बाँकी रहेकाले सबै पालिकामा एकैसाथ वधस्थल तोक्न नसकिएको विभागले जनाएको छ।

सुपरिवेक्षक नियुक्त भएपछि एक सातादेखि १० दिनभित्र सबै पालिकामा मासु परीक्षण प्रक्रिया सुरु गर्ने तयारी छ। आगामी पाँचदेखि छ महिनाभित्र उपत्यकाका सबै मासु पसलमा आधिकारिक छाप लागेको मासु उपलब्ध गराउने विभागको लक्ष्य छ।

२४० निरीक्षक परिचालन गरिने

ऐन कार्यान्वयनका लागि आवश्यक जनशक्ति पनि तयार पारिएको छ। विभागले २४० जना मासु निरीक्षकलाई तालिम दिएर परिचालनका लागि तयारी अवस्थामा राखेको छ। तीमध्ये काठमाडौंमा १४७, ललितपुरमा ५८ र भक्तपुरमा ३५ जना निरीक्षक खटाइनेछन्। त्यस्तै, समन्वयका लागि सहसचिवको नेतृत्वमा आठ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गरिएको छ। स्थानीय तहसँग सहकार्य गरी कार्यक्रम अघि बढाउन १२ वटा कार्यदलसमेत परिचालन गरिएको विभागले जनाएको छ।

जाँचपछि मात्रै मासु बिक्री गर्न पाइने

नयाँ व्यवस्थाअनुसार वधशालामा ल्याइएका पशुपन्छीको वध गर्नुअघि स्वास्थ्य परीक्षण गरिनेछ। परीक्षणमा स्वस्थ प्रमाणित भएका पशुपन्छीलाई मात्र वध गर्न अनुमति दिइनेछ। वधपछि पनि मासुको गुणस्तर र स्वच्छता परीक्षण हुनेछ। खान योग्य ठहरिएको मासुमा आधिकारिक छाप लगाएपछि मात्रै बजारमा बिक्री गर्न पाइनेछ।

यससँगै वधशाला स्थापना तथा मासु पसल सञ्चालन गर्न सरकारी निकायबाट अनिवार्य इजाजतपत्र लिनुपर्नेछ। एउटा जनावरको मासुमा अर्को जनावरको मासु मिसाउने, तौल बढाउन बाह्य पदार्थ प्रयोग गर्ने तथा गुणस्तर परिवर्तन हुने गरी मिसावट गर्न पनि प्रतिबन्ध लगाइएको छ। बिरामी वा मरेका पशुपन्छीको मासु बिक्री गर्न पूर्ण रूपमा निषेध गरिएको छ। अनुगमनका क्रममा अस्वस्थकर मासु भेटिए निरीक्षकले तत्काल जफत गरी बिक्रीमा रोक लगाउन सक्नेछन्। ऐन उल्लंघन गरी वधशाला सञ्चालन गर्ने वा दूषित मासु बिक्री गर्नेलाई पाँच हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना, एकदेखि तीन महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

1

Scroll to Top