नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठानले टुरिस्ट गाइड र बरिस्टासम्बन्धी व्यावसायिक तालिम सञ्चालन गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको प्रतिष्ठानले तालिममा सहभागी हुन इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको छ।
प्रतिष्ठानले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार टुरिस्ट गाइड तालिमका लागि २८० जना छनोट गरिनेछ। १० हप्तासम्म सञ्चालन हुने उक्त तालिममा सहभागी हुन मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। तालिमका लागि ३० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। फिल्ड भिजिटका क्रममा लाग्ने खाना, बसोबास र यातायात खर्च भने सहभागी आफैँले व्यहोर्नुपर्नेछ।
त्यस्तै, प्रतिष्ठानले २० जनालाई बरिस्टा तालिम पनि दिने भएको छ। एक महिनासम्म सञ्चालन हुने यस तालिममा सहभागी हुन एसईई वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। यसको शुल्क २४ हजार रुपैयाँ तोकिएको छ। कम्तीमा १० जना आवेदक भएमा मात्रै तालिम सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ।
दुवै तालिममा सहभागी हुन इच्छुकले आगामी मंसिर १५ गतेभित्र आवेदन दिनुपर्नेछ। आवेदन दिएका उम्मेदवारले मंसिर १७ गते दिउँसो २ बजेपछि प्रतिष्ठानमा सम्पर्क गर्नुपर्नेछ। तालिमका लागि उम्मेदवार छनोट गर्न मंसिर २८ गते अन्तर्वार्ता सञ्चालन गरिने सूचनामा उल्लेख छ।


