जलवायु परिवर्तनको असर न्यूनीकरण, अनुकूलन तथा जलवायुजन्य विपद्बाट हुने हानि तथा नोक्सानीको सम्बोधनका लागि टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा विभिन्न देशले आर्थिक सहयोग घोषणा गरेका छन् । सम्मेलनका क्रममा ११ वटा देश तथा सम्बद्ध पक्षले करिब २७ करोड ३० लाख अमेरिकी डलर बराबरको जलवायु वित्त उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । प्राकृतिक स्रोत संरक्षण परिषद् (एनआरडिसी) ले संकलन गरेको विवरणअनुसार विभिन्न देशले जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकलाई सहयोग पुर्याउने उद्देश्यले विभिन्न अन्तर्राष्ट्रिय कोषमा रकम उपलब्ध गराउने घोषणा गरेका हुन् । यस्तो सहयोग मुख्यतः अनुकूलन क्षमता अभिवृद्धि, वातावरण संरक्षण, जलवायुजन्य विपद् व्यवस्थापन तथा हानि र नोक्सानी सम्बोधनमा केन्द्रित छ ।
जलवायु वित्तसम्बन्धी घोषणामध्ये डेनमार्कको योगदान उल्लेखनीय रहेको छ । डेनमार्कले ग्लोबल इन्भायरोमेन्ट फेसिलिटी (जीईएफ) को नवौँ पुनःपूर्ति प्रक्रियाका लागि ८० करोड डेनिस क्रोनर अर्थात् करिब १० करोड ७० लाख युरो सहयोग गर्ने घोषणा गरेको छ । यसले विकासशील देशमा जलवायु तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसैगरी, दक्षिण कोरियाले जीईएफमा १० अर्ब कोरियन वन योगदान गर्ने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय वातावरणीय कोषमार्फत प्राप्त हुने यस्तो रकम जलवायु परिवर्तनसँगै जैविक विविधता संरक्षण, प्रदूषण नियन्त्रण तथा प्राकृतिक स्रोत व्यवस्थापनमा परिचालन गरिनेछ ।
सिंगापुरले प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूको जलवायु उत्थानशीलता अभिवृद्धिका लागि स्थापना गरिएको प्यासिफिक रेजिलियन्स फ्यासिलिटीलाई पाँच लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । समुद्री सतह वृद्धि, समुद्री आँधी, बाढी तथा खडेरीको उच्च जोखिममा रहेका टापु राष्ट्रका लागि यस्तो सहयोग महत्त्वपूर्ण मानिएको छ ।
त्यस्तै, बेल्जियमले अति कम विकसित देश कोष (एलडीसी फन्ड) मा पाँच करोड युरो र जर्मनीले अति कम विकसित देश कोष तथा विशेष जलवायु परिवर्तन कोषमा गरी एक करोड ८० लाख युरो सहयोग घोषणा गरेका छन् । यी कोषमार्फत जलवायु परिवर्तनको जोखिममा रहेका कमजोर अर्थतन्त्र भएका मुलुकलाई अनुकूलनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न अनुदान उपलब्ध गराइन्छ ।
स्पेनले हानि तथा नोक्सानी र जलवायु अनुकूलनका लागि चार करोड ५० लाख युरो सहयोग गर्ने घोषणा गरेको छ । आयरल्यान्डले अनुकूलनका लागि ६७ लाख अमेरिकी डलर, बेल्जियमको ब्रसेल्स क्षेत्रले ३२ लाख अमेरिकी डलर र पोर्चुगलले ११ लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । इस्टोनियाले अनुकूलन कार्यक्रमका लागि तीन लाख ३४ हजार अमेरिकी डलर तथा सोलोमन आइल्यान्डले हरित जलवायु कोषमा चार लाख अमेरिकी डलर योगदान गर्ने घोषणा गरेको छ ।
कोप–३१ मा थप २० करोड डलरको वित्तीय प्रतिबद्धता
सम्मेलनका क्रममा नोभेम्बर १७ मा ग्लोबल इन्भायरोमेन्ट फेसिलिटीले थप चार सरकारबाट करिब २० करोड अमेरिकी डलर बराबरको सहयोग प्रतिबद्धता प्राप्त भएको जनाएको छ । डेनमार्क, दक्षिण कोरिया, बेल्जियम र जर्मनीले गरेको घोषणामध्ये डेनमार्क र दक्षिण कोरियाको रकम जीईएफको नवौँ पुनःपूर्ति कोषमा जानेछ भने बेल्जियम र जर्मनीको रकम अति कम विकसित देश कोष तथा विशेष जलवायु परिवर्तन कोषमा परिचालन हुनेछ ।
जीईएफका अनुसार नवौँ पुनःपूर्ति अवधिमा सन् २०२६ देखि २०३० सम्मका लागि कुल प्रतिबद्धता ४ अर्ब ५० करोड डलरभन्दा बढी पुगेको छ । यसका साथै जापान, नेदरल्यान्ड्स, नाइजेरिया, नर्वे र स्पेनले पनि अनुकूलन वित्तमा आफ्नो समर्थन दोहोर्याएका छन् । जीईएफले सन् २००१ यता अति कम विकसित देश कोष र विशेष जलवायु परिवर्तन कोषमार्फत करिब तीन अर्ब डलर परिचालन गरिसकेको जनाएको छ । यसबाट ५८० भन्दा बढी अनुकूलन परियोजना सञ्चालन भएका छन् ।
अनुकूलन वित्त तीन गुणा बढाउने प्रस्ताव
कोप–३१ को अर्को महत्त्वपूर्ण विषय जलवायु अनुकूलनका लागि उपलब्ध गराइने वित्तीय सहयोग हो । सम्मेलनको अध्यक्षताले नोभेम्बर १६ मा सार्वजनिक गरेको प्रारम्भिक मस्यौदामा सन् २०३५ सम्म विकासशील देशका लागि वार्षिक अनुकूलन वित्त कम्तीमा १२० अर्ब अमेरिकी डलर पुर्याउने प्रस्ताव गरिएको छ । यो प्रस्तावले विकसित देशलाई अनुकूलन वित्त बढाउन र त्यसका लागि समयसीमासहितको कार्ययोजना प्रस्तुत गर्न आग्रह गरेको छ । यद्यपि यो प्रारम्भिक मस्यौदा हो र सम्मेलनमा सहभागी राष्ट्रहरूबीचको छलफल तथा सहमतिपछि मात्रै अन्तिम निर्णय हुनेछ ।
मस्यौदामा जीवाश्म इन्धनबाट न्यायोचित, व्यवस्थित र समतामूलक रूपमा बाहिरिने प्रक्रिया तीव्र बनाउनुपर्ने विषयसमेत समावेश छ । सन् २०३५ सम्म कुल अन्तिम ऊर्जा खपतमा विद्युत्को हिस्सा ३५ प्रतिशत पुर्याउने प्रस्ताव पनि गरिएको छ । साथै, सन् २०३० सम्म नवीकरणीय ऊर्जाको विश्वव्यापी क्षमता तीन गुणा बनाउने र ऊर्जा दक्षता सुधारको वार्षिक गति दोब्बर बनाउने विषय उठाइएको छ ।
१.३ ट्रिलियन डलरको जलवायु वित्त लक्ष्य
जलवायु वित्तसम्बन्धी अर्को महत्त्वपूर्ण विषय बाकु–बेलेम मार्गचित्र हो । कोप–२९ मा विकसित देशको नेतृत्वमा सन् २०३५ सम्म विकासशील मुलुकलाई वार्षिक कम्तीमा ३०० अर्ब अमेरिकी डलर उपलब्ध गराउने नयाँ सामूहिक परिमाणात्मक लक्ष्य तय गरिएको थियो । यसका अतिरिक्त सार्वजनिक तथा निजी क्षेत्रका सबै स्रोत परिचालन गरी वार्षिक जलवायु वित्त १.३ ट्रिलियन अमेरिकी डलर पुर्याउने व्यापक लक्ष्यसमेत अघि सारिएको छ ।
कोप–३० को अध्यक्षता गरेको ब्राजिलले कोप–३१ का क्रममा सार्वजनिक गरेको कार्यान्वयनसम्बन्धी प्रतिवेदनले आवश्यक नीतिगत सुधार, वित्तीय संरचनाको विकास र लगानी परिचालन गर्न सके सन् २०३५ सम्म वार्षिक १.२७ देखि १.४१ ट्रिलियन डलरसम्म जलवायु वित्त परिचालन गर्न सकिने देखाएको छ । तर वर्तमान प्रवृत्ति कायम रहेमा यस्तो रकम वार्षिक ४५८ देखि ४६१ अर्ब डलरमा सीमित हुन सक्ने प्रतिवेदनको अनुमान छ ।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी निकायका कार्यकारी सचिव साइमन स्टिलले पनि जलवायु वित्तको रकम घोषणा गर्नु मात्र पर्याप्त नहुने बताएका छन् । उनका अनुसार विकासशील देशले ऋणको भार, उच्च ब्याजदर र जटिल वित्तीय प्रक्रियाका कारण जलवायु कोषबाट अपेक्षित लाभ लिन कठिनाइ भोगिरहेका छन् । त्यसैले अनुदान तथा सहुलियतपूर्ण वित्तको हिस्सा बढाउनुका साथै कोष प्राप्त गर्ने प्रक्रिया सरल बनाउन आवश्यक छ ।
नेपालका लागि हिमाली जलवायु वित्त महत्त्वपूर्ण
जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालले पनि कोप–३१ मा हिमाली क्षेत्रको मुद्दालाई प्राथमिकताका साथ उठाएको छ । नेपाल र भुटानको अनुरोधमा सम्मेलनको कार्यसूचीमा १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिले हिमाली पारिस्थितिक प्रणालीमा पार्ने प्रभावसम्बन्धी विषय समावेश गरिएको छ । हिमाली क्षेत्रमा तापक्रम वृद्धि हुँदा हिमनदी पग्लिने, हिमताल विस्तार हुने, हिमताल विस्फोटजन्य बाढीको जोखिम बढ्ने र पानीको उपलब्धतामा परिवर्तन आउने समस्या देखिएका छन् । यसले नेपालका जलविद्युत् आयोजना, कृषि, पर्यटन, जैविक विविधता र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई प्रत्यक्ष असर पार्न सक्छ ।
त्यसैले नेपालका लागि जलवायु वित्त केवल वातावरण संरक्षणको विषय नभई आर्थिक विकास, पूर्वाधार सुरक्षा र जनजीविकासँग जोडिएको विषय हो । सम्मेलनमा प्रस्ताव गरिएको हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी विशेष कार्य कार्यक्रमले हिमाली मुलुकका समस्या अन्तर्राष्ट्रिय बहसमा स्थापित गर्न सहयोग पुर्याउन सक्छ ।
घोषणा होइन, वास्तविक वित्त प्रवाह आवश्यक
जलवायु वित्तको विषयमा विकासशील देशले उठाउँदै आएको मुख्य प्रश्न घोषणा गरिएको रकम वास्तवमै कति प्राप्त हुन्छ भन्ने हो । विभिन्न कोषमा रकम दिने प्रतिबद्धता आए पनि त्यसको भुक्तानी, वितरण र कार्यान्वयनमा ढिलाइ हुने समस्या कायमै छ । हानि तथा नोक्सानी कोषमा समेत घोषणा गरिएको रकम र वास्तविक रूपमा उपलब्ध स्रोतबीच अन्तर रहेको छ । जलवायुजन्य विपद्का कारण ठूलो क्षति व्यहोर्ने मुलुकलाई पुनर्निर्माण तथा पुनःस्थापनाका लागि पर्याप्त सहयोग उपलब्ध गराउनुपर्ने माग बलियो बन्दै गएको छ ।
नेपालजस्ता अतिकम विकसित तथा जलवायु जोखिममा रहेका मुलुकका लागि ऋणभन्दा अनुदानमा आधारित वित्त, सरल आवेदन प्रक्रिया र दीर्घकालीन आर्थिक सहयोग बढी महत्त्वपूर्ण हुन्छ । जलवायु परिवर्तनमा न्यून योगदान भए पनि यसको असर बढी व्यहोर्नुपर्ने देशलाई न्यायोचित वित्त उपलब्ध गराउनु अन्तर्राष्ट्रिय जलवायु सहकार्यको प्रमुख चुनौती बनेको छ ।
कोप–३१ मा घोषणा भएका नयाँ सहयोग र वित्तीय लक्ष्यले जलवायु संकटसँग जुध्न अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता पुनः उजागर गरेका छन् । तर सम्मेलनको वास्तविक उपलब्धि रकम घोषणामा मात्र सीमित नभई ती प्रतिबद्धतालाई समयमै कार्यान्वयन गरी जोखिममा रहेका देश र समुदायसम्म पुर्याउन सकिन्छ कि सकिँदैन भन्नेमा निर्भर रहनेछ ।


