Banijya News

भारतीय पर्यटक नेपालको प्रमुख बजार

1
1.0K Shares

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२५ मा भारतबाट २ लाख ९३ हजार ३८४ पर्यटक नेपाल आएका थिए । उक्त वर्ष नेपालमा कुल ११ लाख ६२ हजार ३६५ विदेशी पर्यटक भित्रिएका थिए । यसले भारतीय बजार नेपालको पर्यटन क्षेत्रका लागि कति महत्त्वपूर्ण छ भन्ने देखाउँछ ।

त्यस्तै, सन् २०२६ को जनवरीमा भारतबाट आउने पर्यटकको संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा ३० प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जनाएको थियो । भारतीय पर्यटकको बढ्दो आकर्षणलाई ध्यानमा राखेर नेपालले दिल्ली, मुम्बईलगायत भारतका प्रमुख सहरमा पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको छ ।

भारतीय पर्यटकका लागि नेपालमा धार्मिक पर्यटनसँगै विवाह पर्यटन, साहसिक गतिविधि, हिमाली भ्रमण, वेलनेस पर्यटन र चलचित्र छायांकनका सम्भावना पनि प्रस्तुत गरिएको छ । पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी, जनकपुरधाम र मानसरोवर यात्रासँग जोडिने धार्मिक तथा आध्यात्मिक गन्तव्य भारतीय पर्यटकका लागि विशेष आकर्षण बन्न सक्छन् ।

हवाई तथा डिजिटल सम्पर्क विस्तारमा जोड

नेपाल र भारतबीच पर्यटन विस्तारका लागि हवाई तथा स्थलमार्गको सम्पर्क सुधारलाई महत्त्वपूर्ण मानिएको छ । विशेषगरी नयाँ हवाई प्रवेश मार्ग, थप उडान, सीमावर्ती सडक पूर्वाधार र पर्यटकमैत्री सेवा विस्तारले आवागमन सहज बनाउन सक्छ । भारतीय पर्यटकका लागि डिजिटल भुक्तानी सुविधा पनि विस्तार हुँदै गएको छ । नेपालमा फोनेपे नेटवर्कमार्फत भारतीय यूपीआई प्रयोगकर्ताले विभिन्न व्यापारिक प्रतिष्ठानमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने व्यवस्था छ । यसले भारतीय पर्यटकको कारोबारलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

1

Scroll to Top