Banijya News

शान्ति प्रक्रियाका बाँकी काम तत्काल टुंग्याउन प्रचण्डको आग्रह

1
1.0K Shares

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौताअनुसार संक्रमणकालीन न्यायका बाँकी काम तत्काल पूरा गर्न सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पुगेको अवसरमा शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले द्वन्द्वपीडितलाई न्याय दिने र शान्ति प्रक्रियालाई पूर्णता दिने जिम्मेवारीबाट राज्य पछि हट्न नहुने बताएका हुन्।

उनले सत्य निरूपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने र द्वन्द्वपीडितलाई न्याय प्रदान गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उल्लेख गरेका छन्।

प्रचण्डका अनुसार शान्ति सम्झौताको उद्देश्य सशस्त्र द्वन्द्व अन्त्य गर्नुमा मात्रै सीमित थिएन। समाजमा मेलमिलाप कायम गर्दै दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माण गर्नु पनि यसको मूल मर्म थियो।

२०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूले माओवादी अध्यक्षका रूपमा सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै उनले यसलाई नेपाली जनताको संघर्ष, त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि बताएका छन्।

शान्ति सम्झौतापछि संविधानसभा निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र नयाँ संविधान निर्माण सम्भव भएको उनको भनाइ छ।

उनले लेखेका छन्।

आज विस्तृत शान्ति सम्झौता भएको ऐतिहासिक दिन। २०६३ मंसिर ५ गते आजकै दिन तत्कालीन नेपाल सरकार र नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। यस ऐतिहासिक सम्झौताले मुलुकलाई शान्ति, लोकतन्त्र, गणतन्त्र र नयाँ राजनीतिक व्यवस्थाको दिशामा अघि बढाएको थियो। यस अवसरमा समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने महान् सहिद तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु।
ऐतिहासिक शान्ति सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी) का अध्यक्षका रूपमा मैले हस्ताक्षर गरेका थियौँ। यो केवल दुई पक्षबीचको सम्झौता थिएन, बरु नेपाली जनताको त्याग, बलिदान, संघर्ष र परिवर्तनको आकांक्षाबाट निर्मित राष्ट्रिय सहमतिको ऐतिहासिक दस्तावेज थियो।
विस्तृत शान्ति सम्झौताकै जगमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धि हासिल भए। नेपालको राजनीतिक इतिहासमा यो सम्झौता युगान्तकारी रूपान्तरण र राष्ट्रिय एकताको महत्वपूर्ण उदाहरणका रूपमा स्थापित भएको छ।
तर शान्ति सम्झौताका सबै प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेका छैनन्। विशेषगरी द्वन्द्वपीडितलाई न्याय, सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कार्य र संक्रमणकालीन न्यायका बाँकी कामहरू पूरा गर्नुपर्ने दायित्व हाम्रो काँधमा छ।
शान्ति सम्झौताको मर्म भनेको द्वन्द्वको अन्त्य मात्र होइन, पीडितलाई न्याय, समाजमा मेलमिलाप, दिगो शान्ति र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण पनि हो। त्यसैले संक्रमणकालीन न्यायको प्रक्रियालाई पीडितको भावना र शान्ति सम्झौताको मूल मर्मअनुसार निष्कर्षमा पुर्‍याउनु आजको राष्ट्रिय आवश्यकता हो।
म यस ऐतिहासिक अवसरमा शान्ति प्रक्रियामा योगदान पुर्‍याउने सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सुरक्षाकर्मी, द्वन्द्वपीडित तथा आम नेपाली जनताप्रति सम्मान व्यक्त गर्दछु। साथै, शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न सबै राजनीतिक दल, सरकार, सम्बन्धित निकाय र सरोकारवाला पक्षलाई गम्भीरतापूर्वक आग्रह गर्दछु।
शान्ति सम्झौता हाम्रो साझा राष्ट्रिय प्रतिबद्धता हो। यसको पूर्ण कार्यान्वयन र द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
मिति : २०८३ मंसिर ५ गते
पुस्पकमल दाहाल प्रचण्ड
संयोजक
नेपाली कम्युनिस्ट पार्टी

1

Scroll to Top