Banijya News

प्रधानमन्त्रीस्तरीय वार्ताको तयारीमा नेपाल–भारतका परराष्ट्रमन्त्रीबीच छलफल

1
1.0K Shares

नेपाल र भारतबीच हुन लागेको उच्चस्तरीय द्विपक्षीय वार्तालाई प्रभावकारी बनाउने उद्देश्यसहित दुवै देशका परराष्ट्रमन्त्रीबीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच नयाँदिल्लीमा सोमबार हुने औपचारिक वार्ताको तयारीका विषयमा छलफल भएको हो।

भारतको राजधानी नयाँदिल्लीस्थित होटल ताजमा भएको भेटवार्तामा दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा अघि बढाउन सकिने साझा योजनाका विषयमा कुराकानी भएको बताइएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा सहभागी परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भएको छलफललाई प्रधानमन्त्रीस्तरीय भेटवार्ताको पूर्वतयारीका रूपमा हेरिएको छ। दुवै देशका प्रधानमन्त्री तथा उच्च सरकारी अधिकारीहरूको उपस्थितिमा हुने औपचारिक वार्तामा कुन-कुन विषयलाई प्राथमिकता दिने भन्नेबारे उनीहरूबीच विचार आदानप्रदान भएको जनाइएको छ।

भेटका क्रममा नेपाल र भारतबीचको विद्यमान सम्बन्धलाई थप मजबुत बनाउने, द्विपक्षीय सहकार्य विस्तार गर्ने तथा आपसी हितका विषयलाई उच्चस्तरीय छलफलमा समेट्नेबारे कुराकानी भएको बताइएको छ। त्यस्तै, दुई देशबीच सञ्चालनमा रहेका तथा भविष्यमा अघि बढाउन सकिने विभिन्न विकास परियोजना, आर्थिक साझेदारी र अन्य साझा चासोका विषयमा पनि छलफल केन्द्रित रहेको जनाइएको छ।

यसअघि भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि शिष्टाचार भेट गरेका थिए। सोही होटलमा भएको उक्त भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विषयमा सामान्य कुराकानी भएको थियो। प्रधानमन्त्रीसँगको भेटलगत्तै दुवै देशका परराष्ट्रमन्त्रीबीच भएको छलफलले आगामी औपचारिक वार्ताका लागि आवश्यक आधार तयार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका हुन्। प्रधानमन्त्री बनेपछि उनको यो भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धको आगामी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीबीच हुने उच्चस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल हुने कार्यक्रम छ। विशेषगरी आपसी विश्वास अभिवृद्धि, आर्थिक तथा विकास साझेदारीलाई गति दिने र लामो समयदेखि सहकार्यमा रहेका विषयलाई नयाँ ढङ्गले अघि बढाउने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।

1

Scroll to Top