प्राकृतिक विपतको उच्च जोखिममा रहेको कर्णाली प्रदेशका सबै घरहरुको बीमा गरिने भएको छ । कर्णाली प्रदेशले प्रदेशका विपत जोखिम क्षेत्रका स्थानीय तहहरुमा घर बीमा कार्यक्रम लागू गरेको छ ।
कार्यक्रम अन्तर्गत पहिलो चरणमा कर्णालीका ७९ स्थानीय तह मध्ये १५ वटा पालिकामा यो कार्यक्रम सुरु गरिएको हो । आर्थिक बर्ष २०८१-०८२ को कार्यक्रम अन्तर्गत १५ वटा पालिकाका दुई सय १३ वडामा १६ हजार घरको बीमा गरिएको छ ।
प्राकृतिक विपद् र भवितव्यबाट हुने क्षति, नोक्सानीको आर्थिक सुरक्षाको प्रत्याभूत गर्न घर वीमा कार्यक्रम शुरु गरिएको हो । कर्णाली प्रदेश प्राकृति विपद्को उच्च जोखिमको रहेको र यहाँका नागरिकले विपद्का कारण वर्षेनी जनधनको क्षति व्यहोर्नु परेको अवस्थालाई मध्यनजर गर्दे कर्णाली प्रदेशभित्र स्थायी बसोबास भएका नागरिकहरुको निजी आवासीय घरको प्राकृतिक विपद् लगायतको भवितव्यको कारणबाट हुने क्षति र नोक्सानीको आर्थिक सुरक्षाको प्रत्याभूत गर्न घर बीमा कार्यक्रम शुरुवात गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार घर बीमा कार्यान्यवन गर्न घर बीमा कार्यक्रम सम्बन्धी कार्यविधि २०८१ गत फागुन १३ गते मन्त्रीपरिषदबाट स्वीकृत भएको थियो । कार्यविधि बमोजिम घर बीमा कार्यक्रममा आवद्ध हुन प्रदेशका स्थानीय तहलाइ सूचना गर्रिकोमा १० जिल्लाका २३ वटा स्थानीय तहले प्रतिबद्धतासहित प्रतिवद्धतासहितको पत्राचार गरेको मन्त्रालयका सचिव पुष्पराज शाहीले जानकारी दिए ।
उनका अनुसार कार्यविधिको दफा ३ (४) बमोजिम नेपाल बिमा प्राधिकरणले छनौट गरि पठाएका २३ वटा स्थानीय तहमा २३ बटा बीमक कम्पनी खटाई निजी आवासको मूल्यांकन शुरु गरिएकोमा समयभित्र सम्बन्धित स्थानीय तहको सिफारिससहित विवरण पठाएका १५ वटा स्थानीय तहका १६ हजार ७२ घरको घर बीमा गरि पोलिसी जारी गरिएको हो ।


