गत असार २३ गते मध्यरातमा रसुवामा आएको भिषण बाढी र पहिरोले पुर्याएको क्षतिबाफत ८४ करोड रुपैयाँ भन्दा बढीको बिमा दाबी परेको छ ।बिमा प्राधिकरणका अनुसार साउन ८ गतेसम्म विभिन्न ११ निर्जीवन बिमा कम्पनीहरूमा कुल ८४ करोड ३८ लाख १० हजार रुपैयाँको रुपैयाँ बराबरको ६८ वटा दाबी परेको हो ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ । उक्त कम्पनीमा जम्मा २ वटा दाबी मार्फत ५५ करोड रुपैयाँ माग गरिएको छ । शिखर इन्स्योरेन्समा १२ वटा दाबी वाफत १६ करोड ८५ लाख १० हजार रुपैयाँ दाबी परेको छ ।
त्यस्तै, नेको इन्स्योरेन्समा ३ वटा दाबी वाफत ५ करोड १२ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २ वटा वापत २ करोड ६५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा १२ वटा वापत १ करोड २८ लाख ५० हजार रुपैयाँ र यूनाइटेड अजोड इन्स्योरेन्समा ९ वटा वापत ९१ लाख रुपैयाँ दाबी परेको छ ।
आइजिआई प्रुडेन्सियलमा ९ वटा वापत ७५ लाख ५० हजार रुपैयाँ, सानिमा जिआईसीमा ६ वटा वापत ७५ लाख रुपैयाँ, एनएलजीमा ६ वटा वापत ४७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियरमा ७ वटा वापत ३१ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्समा ६ वटा वापत २८ लाख रुपैयाँ दाबी परेको छ ।
प्राधिकरणको तथ्यांक अनुसार हालसम्म सम्पत्ति बिमामा ६ वटा दावी वापत ५८ करोड १ लाख रुपैयाँ, सामुद्रिक बिमामा ७ वटा वापत १६ करोड २३ लाख १० हजार रुपैयाँ, इन्जिनियरिङ तथा ठेकेदार जोखिममा ३ वटा वापत ५ करोड ४० लाख रुपैयाँ, मोटर बिमा (सार्वजनिक) मा ३८ वटा वापत २ करोड ५९ लाख ५० हजार रुपैयाँ र मोटर बिमा(निजी)मा १४ वटा वापत २ करोड १४ लाख ५० हजार रुपैयाँ दाबी परेको हो ।
बाढीपहिरोबाट प्रभावित भएका बीमितहरुले क्षतिपूर्तिका लागि सम्बन्धित बीमा कम्पनीहरुमा दाबी पेस गरेको हुन्।


