सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमालाई एकद्वार बनाउन भन्दै म्यादी जीवन बिमा गर्नुपर्ने प्रावधानलाई हटाउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन–२०६४ लाई संशोधन गर्न बनाएको विधेयकमा जीवन बिमालाई हटाउने प्रस्ताव गरेको छ ।
श्रम मन्त्रालयले यो विधेयकलाई अन्तरिम रूप दिई कानुन मन्त्रालयमा पठाउने तयारी गरेको हो । मन्त्रालयले राखेको यो संशोधन पारित भएमा श्रमिकले प्रत्येक दुई–दुई वर्षमा जीवन बिमा गर्नुपर्ने बाध्यकारी व्यवस्था हट्नेछ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमिकले पाउने कल्याणकारी सेवा र राहत रकम नघट्ने गरी बिमाको व्यवस्थालाई एकद्वार प्रणालीमा लैजान लागेको बताए । ‘वैदेशिक रोजगारमा जाने श्रमिकले कल्याणकारी सेवाका लागि अलग अलग रूपमा रकम तिर्नुपरेको छ । यसलाई व्यवस्थित बनाई बिमाबाट पाउने सुविधालाई कल्याणकारी कोषबाटै थप गर्न लागिएको हो,’ उनले भने, ‘एकद्वार प्रणालीमा लैजाँदा श्रमिकको रकम पूर्ण उपयोग गर्न सकिनेछ । यो रकम श्रमिकको हितमा उपयोग गर्न सकिनेछ ।’
अहिले श्रमिकले श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिन म्यादी जीवन बिमा उमेरका आधारमा तीन हजार पाँच सयदेखि ५ हजार ५ सय रुपैयाँ बुझाउनुपर्छ । श्रमिकको कल्याणकारी कोषका लागि एक हजार पाँच सयदेखि दुई हजार पाँच सय रुपैयाँ र सामाजिक सुरक्षा कोषका लागि मासिक दुई हजार रुपैयाँ जम्मा गर्नुपर्छ ।


